बाँके ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू–१९ टोली आइसिसी यू–१९ विश्वकपमा छनोट भएको छ । आइसिसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा बुधबार युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
नेपाली महिला यू–१९ टोली आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट भएको हो । सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करण छनोट नभएको नेपाली महिला युवा टोलीको लागि यो पहिलो विश्वकप हुनेछ । चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५–५ जित निकाल्दा १०–१० अंक जोडेका थिए । नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो ।
दुवै टोलीले एक–एक खेलमा हार ब्यहोरे । युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो । बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो । निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा ग¥यो । चाँडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो । नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडिन् ।
अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन् । एलबीडब्लूको धरापमा पर्नुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरिन् । त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो ।
खेलमा युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन् । उनले ४८ बलमा १ चौका प्रहार गरिन् । बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन् । उनले १८औँ ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो । कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन् । यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई-दुई विकेट लिए ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुने प्रावधानमा नेपाल सफल भएको हो । कात्तिक २१ गतेदेखि भएको एसिया छनोटमा नेपालले यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय छ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी थिए । अब नेपालले आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले सन् २०२५ को विश्वकप खेल्दा सन् २०२७ को विश्वकप खेलाउने जिम्मेवारी यसअघि नै पाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्