बाँसगढी प्रिमियर लिग–२०८१ः समूह चरणका पहिलो राउन्डका खेल सम्पन्न



मधुर पौडेल । बाँसगढी ।

बाँसगढी प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करण अन्तर्गत समूह चरणका पहिलो राउन्डको खेलहरू सकिएका छन् । शुक्रबारका खेलसँगै समूह चरणका पहिलो राउन्डको खेलहरू सकिएका हुन् । शुक्रबार भएको पहिलो खेलमा बाँसगढी रोयल टाइगर्स र दोस्रो खेलमा एचबीए विजयी भएका थिए ।

बाँसगढी रोयल र ककौरा सुपर किड्सबीच भएको पहिलो खेलमा बाँसगढीले टस जितेर ब्याटिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको बाँसगढीले १८.५ ओभरमा १० बिकेट गुमाउँदै १११ रन जोडेको थियो । पहिलो इनिङमा बाँसगढीका ट्रेभिस जोशीले २५ र विनायक गिरीले २३ रन जोडेका थिए भने ककौराको बलिङतर्फ सौगात खत्रीले ४ विकेट लिए ।

११२ रनको लक्ष्य पछ्याएको ककौराले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै जोड्न सफल भयो । फलतः बाँसगढी रोयलले ६६ रनले ककौरा सुपर किङ्सलाई पराजित गरेको थियो । पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका सबिन शाक्यले २.५ ओभरमा १० रन खर्चिएर ४ विकेट लिदैँ माधव एण्ड मनीष म्यान अफ दी म्याच घोषित भएका थिए ।

शुक्रबारै नै भएको बाँसगढी राइनोज र एचबीएबीचको दोस्रो खेलमा बाँसगढी राइनोजले टस जितेर ब्याटिङ रोजेको थियो । बाँसगढी राइनोजले १९.३ ओभरमा १० विकेट गुमाउँदै १२९ रन जोड्न सफल भएको थियो । जसमा बाँसगढी राइनोजका सिद्धान्तराज शाहीले ७२ रनको योगदान दिएका थिए । बलिङतर्फ एचबीएका आकास खत्रीले ४ र सोलुप चौधरीले ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको एचबीएले १९.१ ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य भेट्टाउदँै ३ विकेटले जित हात पार्न सफल भएको थियो । जितका लागि एचबीएका अनुप सिंहले ३१ र सोलुप चौधरीले ३६ रन जोडेका थिए भने बलिङ्गतर्फ बाँसगढी राइनोजका गौतम कनोजिया ३, सिद्धान्तराज शाही र निशान्त आचार्यले समान २–२ विकेट लिए । दोस्रो म्याचमा अलराउन्ड खेल प्रदर्शन गरेका सोलुप चौधरीलेले माधव एण्ड मनीष म्यान अफ दि म्याच अवार्ड पाएका थिए ।

शुक्रबारका खेलसँगै प्रतियोगिताको समूह चरणका पहिलो राउन्डको खेलहरू सकिएका छन् । अब दोस्रो राउण्डको खेलमा आइतबार पहिलो खेल बाँसगढी राइनोज र बाँसगढी रोयल टाइगर्स र दोस्रो खेल ककौरा सुपर किङ्स र एचबीएबिच हुनेछ ।

बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताका विजेताले १ लाख ५० रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँसगढी प्रिमियर लिग–२०८१ को पहिलो संस्करणको खेलमा पशुपति वारियर्स विजेता बनेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार