बाँके ।
दसैँ मनाउन हुम्लाबाट नेपालगन्ज फर्किरहेका दुई जनाको जिप दुर्घटनामा मृत्यु भएको छ । शनिबार हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुइमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट आउँदैतर्फ जाँदै गरेको लु१ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझा बस्ने ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैँैँ मान्न आउँदै थिए ।
गियर बक्स बिग्रेर रोकेको अवस्थामा रहेको जिप सडकबाट ब्याक भई ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिपमा चालकसहित सात जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए । तर, दुई जना गाडीमै थिए । अचानक गाडी ब्याक भएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्