नेपालगन्ज भन्सारद्वारा दुई महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन



बाँके ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा करिब तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको साउन र भदौ महिनामा नेपालगन्ज भन्सारले दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

सोही अवधिमा अघिल्लो आव २०८०/०८१ मा दुई अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आवभन्दा अहिले १४ करोडभन्दा बढी राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौ महिनामा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

नेपालगन्ज भन्सारलाई हरेक महिनामा दुई अर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको संकलन हेर्दा हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व संकलन हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार