बाँके ।
सत्तारूढ नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी संगठन सुदृढीकरण अभियान’ थालेको छ । ‘ज्येष्ठ नागरिक, महिला र युवाको योगदान ः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ नाम दिएर अभियान थालिएको हो । चार महिने अभियानको मंगलबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको थियो । पुस मसान्तसम्म चल्ने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएको छ ।
अभियानको वडाको सांगठनिक अवस्थाको बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका अगुवा, ज्येष्ठ नागरिक, महिला र युवाहरूको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरूलाई पार्टी संगठन सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने उद्देश्य रहेको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रूपमा पहलकदमी लिने, भ्रातृ, शुभेच्छुक संगठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्नेलगायतका उद्देश्य रहेको छ ।
अभियान शुुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मीकिले पार्टीको संगठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गरेका थिए ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भए मात्र प्रतिष्पर्धी दलहरूसँग प्रतिष्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाव, बैमनश्य र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे ।
वडामा खटिएका प्रतिनिधिहरूले बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, संगठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्षलगायतका विषयमा जानकारी लिनेछन् ।
अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्