सडकको बीच भागका रूखमा गाई बाँध्न नदिएको भन्दै कोहलपुर– १० रामनगरका स्थानीयले लक्ष्मीप्रसाद भुसालले १०/१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवाहरू काटिदिएका हुन् । समीका बिरुवाहरू काटेपछि फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गणेश रावत । कोहलपुर ।
सोमबार राति १२ बजेकोे समयमा कोहलपुर बजार मस्त निद्रामा थियो । बजार सुनसानप्रायः थियो । नेपालगन्ज–कोहलपुर सडकखण्डमा सवारी साधनको आवत–जावत निकै पातलिएको थियो । तर, यही समयमा कोहलपुर नगरपालिका–१० रामनगरका स्थानीय लक्ष्मीप्रसाद भुसालले आफ्नो घरअघि रोपिएका बिरुवा धमाधम काट्न थालेपछि शान्त कोहलपुर–नेपालगन्ज सडकखण्ड एकाएक तनावग्रस्त बन्न पुग्यो ।
सधैंजसो भुसालले सडकको बीच भागका रूखमा गाई बाँध्ने गर्दथे ।
कोहलपुर नगर प्रहरीले पटकपटक उनलाई त्यहाँ गाई नबाँध्न आग्रह गर्दै आएको थियो । तर, अटेर गरेपछि सोमबार दिउँसो नगर प्रहरीले बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो काटेर गाई छाडिदिएको थियो । त्यसैको झोँकमा राति भुसालले बीच सडकमा रोपिएका बिरुवा आराले धमाधम काटिदिएका थिए ।
उनको यो क्रियाकलाप नजिकै जडान गरिएको सिसी क्यामेरामा कैद भएको थियो । दिउँसोको घटनाबाट क्रूद्ध भएका भुसाल हाफ प्यान्ट र चप्पल मात्र लगाई हातमा आरा समातेर सडकमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ ।
सडकमा सवारी साधन आवत–जावत भइरहँदा पनि कसैको डर नमानी फिल्मी स्टाइलमा उनले नगरपालिकाले रोपेका समीका बिरुवा आराले आधा काट्दै भाँच्दै गरेका थिए । ६ वटा बिरुवा काटिसकेको अवस्थामा नेपालगन्जबाट घरतिर फर्किंदै गरेका कोहलपुरका कपिल शाहले देखेपछि रोकेर मान्छे चिन्न खोज्दा आधा काटिरहेको आरा छोडेर भुसाल भागेका थिए ।
त्यसलगत्तै उनले आफ्नो फेसबुक पेजमा बिरुवा काटेको भिडियो हालेपछि सबैले जानकारी पाएका थिए । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार बिरुवा काटेको थाहा पाउनासाथ नगर प्रहरी घटनास्थल पुगेको र घटनास्थलबाट बिरुवा काट्न प्रयोग गरेको आरा र चप्पल बरामद गरेको थियो । बिरुवा काटेर भागेका भुसालको खोजी भइरहेको उनले बताए ।
थापाका अनुसार भुसाल रातिदेखि नै फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने वाचा गरेका छन् । ‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएका थिए । ६ वटा बिरुवा काटेर भाँचिएका छन्,’ उनले भने ।
५ वटा बिरुवा पूर्ण रूपमा काटिएको र एउटा आरीले काट्दाकाट्दै छोडेको थापाले मिसन टुडेलाई जानकारी दिए । मंगलबार बिहान नगरपालिकाका प्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरूले बिरुवा काटिएको स्थानको अवलोकन गरेका थिए ।
‘सिसिटिभी फुटेजमा लक्ष्मीले नै बिरुवा काटेको स्पष्ट देखिएको छ,’ थापाले भने । भुसालका विरुद्ध इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए । अहिले बिरुवा काट्ने भुसाल फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र पारेको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्