कैलाली ।
कैलालीमा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन् ।
जोशीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् । गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको जोशीले बताइन् ।
चिकित्सकका अनुसार पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस रोग सर्ने गर्दछ ।गौरीगंगामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरूष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने बालकमा संक्रमण पुष्टि भएको हो । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।
अन्य संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्