सडक आन्दोलनमा जाने प्रचण्डको चेतावनी



नेपालगन्ज ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई खबरदारी गर्न सडकमा समेत जाने तयारी रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारले गलत कदमहरू जारी राखे शान्तिपूर्ण सडक आन्दोलनमा समेत जाने बताएका हुन् ।

प्रचण्डले वर्तमान सरकार असंवैधानिक रूपले गठन भएको र उद्देश्य पनि जनताको पक्षमा नरहेको ठोकुवा गरे । उनले वर्तमान सरकारले एकपछि अर्को जनताविरोधी काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार माफियाहरुको भएको आरोप लगाउँदै जनताका पक्षमा काम गर्न नसक्ने समेत बताए ।

आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टाचारलाई नियन्त्रण गरेको दाबी प्रचण्डको छ । अहिलेको सरकारले आफूले गरेका प्रयासविपरीत काम गरिरहेको बताउँदै बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न सरकारलाई चेतावनीसमेत दिए ।

एक अर्काे प्रसंगमा प्रचण्डले पद्धति बसालेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने सोचमा आफू रहेको बताएका छन् ।

‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्यांकनबाट तय हुने कुरा हो,’ साढे तीन दशकदेखि पार्टीको अध्यक्ष पदमा रहेका प्रचण्डले भने, ‘सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन । पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’

उनले अहिले पार्टीको नेतृत्वमा आफूलाई कार्यकर्ता र नेतापंक्तिले रुचाएको पनि जिकिर गरे । माओवादी केन्द्र नै अहिलेको अवस्थामा नयाँ शक्ति भएको दाबी पनि प्रचण्डको छ । उनले भने, ‘आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेन्डा माओवादीसँग मात्रै छ ।’

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार