थुनिएको कुवाडी नदी पुरानै अवस्थामा फर्कियो



बाँके ।

पहिरोका कारण शुक्रबार थुनिएको बाजुराको कुवाडी नदी पुरानै अवस्थामा फर्किएको छ । बाजुराको हिमाली गाउँपालिका–२, रुम्दी र हुम्लाको ताजकोट गाउँपालिका–१, को सिमानामा कुवाडी नदीमा पहिरो खस्दा थुनिएको थियो ।

शुक्रबार बिहान साढे १० बजेको समयमा पहिरो खसेर थुनिएको नदी करिब दुई घन्टापछि सामान्य अवस्थामा बग्न थालेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।

पहिरोले नदी थुनिएपछि हिमाली गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सबैलाई सचेत रहन अपिल गरेको थियो । गाउँपालिकाले कुवाडी नदी र कर्णाली नदीको आसपासको क्षेत्रमा कुनै पनि समयमा पहिरोसहितको पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका बस्तीमा रहेका सबैलाई सचेत रहन आग्रह गरेको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी पोखरेलले थुनिएको नदी सामान्य अवस्थामै बग्न थालेपछि अब तटीय क्षेत्रमा जोखिम नरहेको जानकारी दिए ।
पहिरोले नदी थुनिएको ठाउँबाट पानी बग्न थालिसकेकोले अवस्था सामान्य बन्दै गएको हुम्लाको मैला प्रहरी चौकीले जनाएको छ ।

अवस्था सामान्य बन्दै गएकोले नदी तटीय क्षेत्रका नागरिकहरूलाई सोहीअनुसार सूचना प्रवाह गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार