कोहलपुर ।
कोहलपुर नगरपालिका–२ प्रेमनगरमा रहेको सामुदायिक आयुर्वेद तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीले योग एवम् आयुर्वेद तथा प्राकृतिक उपचार अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद चौधरीले कोहलपुरको अर्को परिचय सामुदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल रहेको बताए ।
अहिलेको व्यस्त जीवनशैली र समाज परजीवी हुनाले त्यसको फाइदा सीमित व्यक्तिले उठाइरहेको बताए । मुखको स्वादका लागि अर्गानिक शुद्ध खानपान नगर्दा जीवनमा धेरै क्षति हुने गरेको उनको भनाइ छ ।
योग एवम् प्राकृतिक उपचार गरे बिनाऔषधी रोग हट्ने र स्वस्थ भइने उनले बताए । स्वस्थ रहन आयुर्वेद अस्पतालमा एकपटक सबैलाई सेवा लिन पनि आग्रह गरे । यस विषयमा समुदायस्तरमा पनि जनचेतना फैलाउनु आवश्यक रहेको उनको भनाइ छ ।
मानिसको आहार–विहार नै औषधी रहेको डाक्टर मनीष पाठकले बताए । प्राकृतिक र योगबाटै धेरैले नयाँ जीवन पाएको बताउँदै उनले खानपानमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरे । प्रत्येक व्यक्तिले अबका दिनमा किचनलाई आयुर्वेद औषधालय बनाउनु आवश्यक रहेको प्रष्ट पारे ।
संस्थाका अध्यक्ष नमप्रसाद शर्माले सबैको साथ, सहयोग र पहलले अस्पताल सञ्चालन गर्न सफल भएको बताए । विभिन्न आरोह–अवरोह पार गर्दै सञ्चालन गर्न सफल भए पनि आर्थिक रूपमा कर्मचारी पाल्न अझै चुनौती रहेको उनको भनाइ छ ।
अहिले ९ जना कर्मचारीबाट सो अस्पतालको सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा योग एवम् प्राकृतिक रूपमा उपलब्ध पानी, माटो र वाफबाट उपचार गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्