स्मृति आलेख: अर्को जुनी पनि हजुरकै सन्तान हुन पाऊँ



गोविन्द पौडेल ।

साउनको महिना थियो । म पोखराको अफिस बन्द गरेर भर्खर कोठामा गएको थिएँ । घरबाट फोन आयो । आमाले फोन गर्नुभएको थियो । ‘बाबु सञ्चौ छौ ?’ आमाले फोनमा सोध्नुभएको थियो । ‘सञ्चै छु आमा ।’

फेरि सोध्नुभयो– ‘खाना खायौ ?’ मैले भने– खाएँ आमा ।’

आमासँग प्रायः दिनहुँ फोनमा कुरा हुन्थ्यो । त्यस्तै, एक दिन आमाले फोनमा अलिअलि ज्वरो आएको कुरा गर्नुभयो । ‘कतिबेलाबाट…?’ मैले सोधेँ ।

‘हिजोबाट अलि अप्ठेरो भएको थियो । बिहानबाट ज्वरो आयो’– उहाँले भन्नुभयो ।

भर्खर मात्र कोभिडबाट हाम्रो परिवार सताइएको थियो । हस्पिटल जान पनि त्यति सहज थिएन । ‘अनि औषधी खानुभएको छैन त ?’ मैले सोधेँ ।
‘खाएकी छु । बिसेक होला नि !’ आमाले भन्नुभयो ।

आमाछोराको यति गन्थन भएपछि मैले ‘आराम गर्नु, नआत्तिनु’ भन्दै फोन राखेँ । म सुतँे । बिहान उठ्दा सिमसिम पानी परेको रहेछ । उठेँ, नुहाएँ अनि यसो सोचेँ आमाले ज्वरो आएको छ भन्नुभएको थियो । आज शनिबार पनि छ ।

जान्छु आमालाई भेटेर भोलि बिहान फर्किन्छु भनी यसो जहाजको टिकट हेरेको रहेछ । तुरुन्त बुक गरेँ । १०ः४५ को टिकट लिएँ । त्यसपछि भोलि फर्किनु छ भनेर एक जोडा कपडा झोलामा हालेर तयार भएँ । भाइलाई फोन गरेर आमालाई कस्तो छ भने र सोधेँ । ‘ज्वरो घटेकै छैन’ भन्यो । औषधी खाएको छ तर ज्वरो घटेन भनेपछि म झन् हतारिएँ र समय हेरेको ९ः३० भएछ । म हतारहतार एयरपोर्टतिर लागेँ ।

जहाज आउन अलि ढिला ग¥यो । करिब आधा घण्टा ढिला आयो । जहाजमा चढेँ । पोखराबाट भरतपुरको समय २५ मिनेटको थियो । तर समय ढिला भए जस्तो लागेको थियो । यताबाट जाँदा मौलाकालिका मन्दिरको नजिकबाट लग्थ्यो मैले मन्दिरको माथि पुगेपछि मौलाकाली मातालाई आमालाई छिटो निको होस् भनी प्रार्थना गरेँ । जहाज भरतपुर विमानस्थलमा अवतरण ग¥यो । त्यसपछि हतारहतार म घर पुगेँ । अरू दिन छोरीहरूलाई घरमा फलपूmल मिठाई केही न केही लगेर जान्थे तर त्यो दिन नलगी घर पुगेँ ।

घर पुगेपछि आमाको कोठामा पुगेँ । आमा सुत्नुभएको रहेछ । ‘आमा !’ मैले बोलाएँ ।

‘हजुर,’ भन्दै आमाले आँखा खोल्नुभयो । आमा वा घरमा कसैलाई पनि मैले म घर आउँदै छु भनेको थिइनँ । ‘कति छिटो आयौ त थाहै नभई,’ आमाले भन्नुभयो ।

‘अँ हजुरलाई ज्वरो आयो भनेपछि आज शनिबार अफिस पनि बन्द त्यसैले आएँ,’ मैले भनेँ, ‘तपाईंलाई अहिले कस्तो छ ?’

‘ठिकै छ, तर ज्वरो औषधी खाँदा पनि घटेन,’ आमाले भन्नुभयो । ‘नआत्तिनु ठीक हुन्छ,’ मैले आमालाई आश्वासन दिँदै भनेँ । र सरकारी अस्पतालमा डाक्टरलाई फोन गरेँ । कोभिडपछि अस्पताल जान पनि त्यति सहज थिएन । त्यसैले मैले डाक्टरलाई फोन गरेको थिएँ । डाक्टरले लिएर आउनु भन्नुभयो । मैले आमालाई यसो जाउलो खुवायर अस्पताल जाम भनेर बाहिर निकालेँ । आमा आपैmँ हिँडेर गाडीमा मेरो आडमा बस्नुभयो ।

गाडीमा चढ्दा आमाको आँखामा मैले आँसु देखे । आमा किन हो, नआत्तिनु, कस्तो–कस्तो रोग त ठिक हुन्छ, ज्वरो ठिक भैहाल्छ नि !’ भन्दै सान्त्वना दिएँ । त्यसपछि आमाले सलले आँखाको आँसु पुछ्नुभयो ।

हामी अस्पताल पुग्यौँ । डाक्टरले हेर्नुभयो । ‘रगत चेक गरौँ’ भन्नुभयो । मैले हुन्छ भनेँ । आमालाई त्यसभन्दा पहिले कोभिड भएर ठिक भएको थियो । डाक्टरले पनि फेरि चेक गर्नुभयो । रिपोर्ट सबै नर्मल आयो । डाक्टरले पनि आमालाई नआत्तिन भन्नुभयो ।

डाक्टरले चिनेको हिसाबले भर्ना गरौँ नर्मल हुन्छ सिरिन्जबाट औषधि चढाऊँ भन्नुभयो । त्यही अनुसार भयो । तर आमाको ज्वरो २० को १९ भएन । घाम डुबिसके तर आमालाई खासै सुधार देखिएन । बिस्तारै आमाको देब्रे हात अलि कम चल्न थाल्यो । राति त्यही अस्पताल बसियो । राति २ः३० बजेतिर आमाले अलि गाह्रो महसुस भएजस्तो गर्नुभयो । नर्सलाई बोलाएँ ।

नर्स आएपछि अक्सिजन अलि कम भएछ भनेर अक्सिजन लगाइन् । बिहान डाक्टर आउनुभयो । मैले सबै कुरा भनेँ । उहाँले आईसीयूमा राख्न सुझाव दिनुभयो । त्यो अस्पतालमा आईसीयू प्याक रहेछ । सबैतिर फोन गरेँ ।

१२ बजेपछि चितवन मेडिकल कलेज (सीएमसी)मा खाली हुन्छ भन्यो । त्यसपछि एम्बुलेन्सबाट आमालाई सीएमसीमा लगियो । त्यहाँ आईसीयूमा राखियो । आमालाई भित्र राखेर बाहिर ढोकाको छेउमा कुरेर बस्यौँ । सबै चेकजाँच भयो । डाक्टर सँग कुरा भयो । नआत्तिनु त्यस्तो केही देखिँदैन डाक्टरले भने । तर आमाको सक्रियता कम हुँदै गइरहेको थियो । आमा शिथिल हुँदै जानुभएको थियो । कता कता डर लागिरहेको थियो ।

आमालाई आईसीयूमा भेट्न पनि जान कम दिने हुनाले भेट्दा छोड्न मन नलाग्ने । नर्सले ‘धेरै समय भयो बाहिर जानु’ भनेपछि फेरि आमालाई हेर्दै बाहिर निस्कनै प¥यो । यो रीत छैटौँ दिनसम्म चलिरहयो । छैटौँ दिनदेखि आमाले बोल्न पनि कम गर्नुभयो । चिन्न पनि बिस्तारै कम भएपछि मनमा चिसो पस्यो । डाक्टरलाई भेटियो । यत्तिका दिन भयो खै सुधार छैन त डाक्टरसाब भन्दा डाक्टरले चित्त बुझ्दो उत्तर दिन सक्नुभएन । त्यसपछि मैले डाक्टरलाई के छ अप्सन भनेर सोधेँ । उहाँ बोल्न सक्नुभएन ।

त्यसपछि मैले त्यहाँबाट काठमाडौँको ग्रान्डी अस्पताल लैजाने निधो गरेँ । तर लैजानलाई सहज थिएन । भेन्टिलेटरमा राखेको बिरामीलाई कसरी लाने ? एक जना साथीसँग हेलीको नं. लिएँ । फोन गरेँ र तुरुन्त हेलिकोप्टर मगाएँ । हेलीमा आमालाई लियर ग्रान्डीमा लगेँ । फेरि त्यहाँ पनि सबै चेकजाँच भयो ।

आमालाई ग्रान्डीमा लगेपछि त झन् नजिकै पनि हुन दिएन । आमालाई सिसा बाहिरबाट हे¥यो । अनि बाहिर आएर बस्यो । दिनको एकपटक मात्र भेट्न पाइने । डाक्टरसँग भेट ग¥यो, कुरा बुझ्यो । एवम्रीत चलिरह्यो । आमालाई भेट्न गयो केही सुधार छैन । ६ दिन ग्रान्डीमा राखिसकेपछि आज डाक्टरसँग छलफल गर्नु प¥यो भन्ने लाग्यो ।

डाक्टरले भोलि सहज हुन्छ भन्ने जबाफ दिए । तर आमालाई सहज भएन । आमाको अवस्था जस्ताको तस्तै छ । त्यसपछि दिमाखले काम गर्न छोड्यो । खान मन पनि लाग्न छाड्यो । रातभरि आमाको याद मात्र आउँछ ।

घरबाट इष्टमित्रले फोन गर्दा ‘ठिकै छ’ भनेको छ । तर हेर्दा आमालाई के हुने हो कसो हुने हो दोधार छ । यसरी नै छट्पटिइरहेँ । नजिकै अंकलको घर थियो । त्यहाँ पुग्यो खाना खायो अनि उतै गयो । बाहिर बस्यो । त्यतिबेलासम्म आमालाई काठमाडौँ ल्याएको थाहा पाएर भेट्ने आउनेको पनि कमी थिएन । तर सबै जना बाहिर मसँगै बसेर फर्कर्ने गर्नुभयो ।

डाक्टरले भनेको समयमा उहाँको काउन्सिलिङ रुममा छिरियो । डाक्टरले भने, ‘सरी ! कुनै प्रक्रियाबाट पनि आमालाई बचाउन सकिएन ।’ आमाको त ब्रेन डेथ भइसकेको रहेछ । म थचक्क भुइँमा बसेँ । मेरा ओठमुख सुके । म केही गर्न सक्ने अवस्थामा थिइनँ । केही सोच्न पनि सकिनँ । डाक्टरले सहज रूपमा व्यवस्था मिलाएर घरमा लैजान आदेश दिए ।

डाक्टरलाई त केही थिएन । उनले त्यस्ता केश धेरै देखे–भागेका थिए । तर मलाई त सहन गाह्रो भइरहेको थियो । मेरो आँखामा आमाले गरेका एक एक क्रियाकलापहरूको सम्झना हुन थाल्यो । आमाले बोेलेका एक एक शब्द मेरो मानसपटलमा घुमिरहे ।

आमाबुबालाई दुःख भयो भनेर पर्वतबाट गैँडाकोट ल्याएको थिएँ । ‘आजसम्म हजुरहरूले दुःख गर्नुभयो, अब हजुरहरू आराम गर्नुस्’ भनेर मैले उहाँहरूलाई तराईको सुगम ठाउँमा झारेको थिएँ । तर कम समयमा नै सेवा गर्नै नपाई आमाले हामीलाई छोड्र जानुभयो ।

आमाको निधनको खबरले मलाई सम्हालिन गाह्रोे भयो । यस्तो दुःखद् घटनाको कल्पना पनि गरेको थिइनँ । आफन्तले मलाई समाएर नआत्तिन आग्रह गर्नुभयो । पीडा मलाई थियो । उहाँहरूले भनेको पनि झर्को लाग्थ्यो । आमा त मेरी हुन् नि ! यिनीहरूलाई के छ र ! भन्ने लाग्थ्यो ।

आमालाई हामीसँग कति कुरा गर्न मन थियो होला । तर पाउनुभएन । आमा, बुबा कैयौँ गन्थन मन्थन गर्नुहुन्थ्यो । अहिले बुबालाई पनि त्यस्तो लागेको होला । त्यसैले अहिले बुबालाई पूर्णरूपमा हामी बुझ्ने प्रयास गरिरहेका छौँ । आमाको बिछोडले हामीलाई यतिबेला अनुभूति गर्ने क्षमता दिएको छ ।

आमाको तेस्रो पुण्यतिथिका अवसरमा आमाप्रति यी शब्दश्रद्धा चढाउन चाहेको छु । हामीले दिनमा तीन पहर खाँदा पुण्यतिथिमा वर्षको एक दिन हजुरलाई चढाएको एक डल्लो खिरले हजुर कसरी अघाउनुभएको होला जस्तो लाग्छ ।

हुन त आमा भन्ने शब्द नै यस्तो छ । सन्तानलाई अघाएपछि आफू त्यसै अघाउने जात हो आमा । जीवनकालमै आमाको सेवा गर्ने ठूलो धोको अधूरै रह्यो । जीवनमा सोचेजस्तो हुँदो रहेनछ ।

यो जुनीमा धेरै सेवा गर्न पाइनँ । भगवान्लाई पनि कसैको कुभलो नचिताउने असल मान्छेको खोजी हुने रहेछ कि ! त्यसैले होला असमयमै हामीबाट टाढा जानुभयो । हजुर जहाँ भए पनि खुशी साथ रहनुहोला । केही अप्ठेरो भएमा सपनामा आएर भए पनि भन्नुहोला आमा । हिजो हजुरले हाम्रा लागि गरेको त्याग र समर्पण आज अनुभूत भइरहेको छ ।

हिजोका तपाईका एक एक दुःख र संघर्ष झल्झली याद आइरहेको छ । घाँस–दाउरा, मेला–पात, चुलो–चौकोसँगै हाम्रो स्याहार कसरी धान्नुभएको थियो । मैले जति नै शब्दमा तपाईंका बारेमा लेखे पनि त्यो कम हुन्छ ।

संसारमा निस्वार्थ माया दिने कुनै नाता छ भने त्यो आमा नै हो । त्यो तपाईं नै हो । तपाईं भौतिक हामीमाझ नरहे पनि सम्झना र श्रद्धामा सधैँ रहिरहनुहुनेछ । हार्दिक श्रद्धासुमन आमा !

प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार