कांग्रेसका अधिकांश सांसदहरू कर्णाली छोडेर यतीबेला काठमाडौंँ नेताहरूको घरदैलोमा पुगेका छन् । सत्ता यात्रासँगै मन्त्रीको सूची समेत काठमाडौँबाटै बन्ने भएकोले सांसदहरू काठमाडौँ गएसँगै कांग्रेसको सत्ता यात्रामा ढिलाई मात्र होइन, प्रदेश सभा बैठक समेत अवरुद्ध भएको छ ।
सुर्खेत ।
नेपाली कांग्रेसलाई कर्णालीको सत्तामा जान अझै केही दिन लाग्ने भएको छ । संघमा सत्ता समीकरण फेरिएसँगै छ दिनअघि कर्णाली सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले राजीनामा दिएका थिए । माओवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै कांग्रेसलाई सरकारमा जान बाटो खुलेपनि विवादका कारण कहिले सरकारमा सहभागी हुने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।
फेरिएको सत्ता समीकरणमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीच कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पहिलो चरणमा एमालेले पाउने सहमती भइसकेको छ । माओवादीको सहयोगमा मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल अहिले कर्णालीका मुख्यमन्त्री रहेका छन् ।
मुख्यमन्त्री कँडेल सरकारलाई पूर्णता दिने विषयमा अझ केही समय लाग्ने बताउँछन् । नयाँ गठबन्धन दल कांग्रेस आन्तरिक छलफलमा रहेकाले सरकार गठनमा केही समय लाग्ने भएको उनले बताए ।
शुक्रबार मुख्यमन्त्री कँडेलले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले अब सरकारले कहिले पूर्णता पाउँछ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले पछिल्लो समय फेरिएको राजनीतिक घटनाक्रमले आफूहरूले कांग्रेससँग छलफल गर्नुपर्ने भएपनि कांग्रेसका सांसदहरू काठमाडौँमा भएका कारण असहज भएको बताए ।
‘पछिल्लो समय आएको राजनीतिक फेरबदलको विषयमा यहाँहरू जानकार नै हुनुहुन्छ । अहिले कांग्रेससँग हाम्रो छलफल हुनुपर्ने हो । तर, उहाँहरू आन्तरिक छलफलका लागि काठमाडौंँमै व्यस्त हुनुहुन्छ,’ मुख्यमन्त्री कँडेलले पत्रकारको प्रश्नको जवाफ दिदैं भने, ‘अब म आफैं खोज्न काठमाडौँ जानुपर्ने हो कि !’
कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिएको बताउँदै केही दिनअघि प्रदेश सभा बैठकमा समेत कांग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नु परेको भन्दै गूनासो गरे ।
आफू काठमाडौँ जाँदा सामान्य छलफल भएको बताउँदै कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने जानकारी
दिए । उनले नयाँ सत्ता समीकरण बनेसँगै नयाँ किसिमले भागबन्डा गर्ने संकेत गरेका हुन् । ‘यसअघि माओवादीकै साथीहरू भएको खाली ठाउँ भर्ने हो कि भन्ने हल्ला पनि चलेको छ । तर, त्यसो हुँदैन पुरै नयाँ तरिकाले कुरा अगाडि बढ्छ,’ मुख्यमन्त्री कँडेलले भने ।
कँडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कँडेलले एकसय दिन बिताउँदा–नबिताउँदै सत्ता गठबन्धन फेरिएको छ । अहिले एमाले र नेपाली कांग्रेससहितको गठबन्धन बनेको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले मुख्यमन्त्रीले कांग्रेस खोज्न काठमाडौँ आउन नपर्ने जवाफ दिए । ‘हामीलाई खोज्न मुख्यमन्त्रीज्यू काठमाडौँ आइरहन पर्दैन । जहाँ–जहाँ कांग्रेस गयो त्यहाँ मुख्यमन्त्रीले जानुपर्छ भनेर कसले भनेको छ र ?,’ प्रमुख सचेतक विष्टले भने, ‘दुई दलका शीर्ष नेताहरूबीच छलफल भएपछि केही बुँदामा सहमति होला त्यसपछि पो सरकारमा जाने होला त ।’
सचेतक विष्टले सरकारमा सहभागिता जनाउने र भागबण्डाको विषयमा माथिल्लो स्तरबाट निर्देशन हुने भन्दै केही दिनमा नै सरकारमा आफुहरू जाने छलफल चलिरहेको जानकारी दिए ।
अहिले सरकारमा एमालेका मात्र मन्त्री छन् । मुख्यमन्त्री कँडेलसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक मात्र रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै कँडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका छन् ।
४० सदस्यीय प्रदेशसभामा ३९ जना सांसद छन् । नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले बिषेश अदालतमा मुद्दा दायर भएका कारणले अहिले निलम्बनमा छन् ।
प्रतिक्रिया दिनुहोस्