लुम्बिनीमा बढ्दो सडक दुर्घटना: ६ वर्षमा ३१ सय बढीको मृत्यु



बाँके ।

लुम्बिनी प्रदेशमा पछिल्लो ६ वर्षमा सवारी दुर्घटनामा परेर ३ हजार १ सय १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलकाअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म सवारी दुर्घटनाबाट ३ हजार १ सय १० जनाको ज्यान गएको हो ।

यो अवधिमा प्रदेशभर ५ हजार ४ सय १९ वटा विभिन्न सवारी दुर्घटना भएका थिए । ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा सवारी साधनको दुर्घटना र मानिसको मृत्यु संख्या दुबै बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा ८ सय ९२ वटा सवारी दुर्घटनामा परी ४ सय ६२ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा बढेर दुर्घटना संख्या १ हजार १ सय २० र मृतक संख्या ४ सय ९५ पुगेको छ । कार्यालयकाअनुसार ६ वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट ५ सय ९२ जनाको मृत्यु भएको थियो । उक्त वर्ष १ हजार २९ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी १ हजार २ सय १२ वटा सवारी साधन दुर्घटनामा परेका थिए । त्यस वर्ष दुर्घटनामा परी ५ सय २७ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनाबाटै पछिल्लो ६ वर्षमा ६ हजार ९ जना गम्भीर र ३ हजार ८ सय जना मानिस सामान्य घाइते भएका छन् । गत आर्थिक वर्षमा मात्रै १ हजार १७ जना गम्भीर घाइते भएका थिए ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै सवारी दुर्घटना र मानिसको मृत्यु हुने गरेको छ । रूपन्देहीमा ६ वर्षमा भएका १ हजार ४ सय ५७ सवारी दुर्घटनामा परेर ७ सय १२ जनाको मृत्यु भएको थियो ।

रूपन्देहीमा गत आर्थिक वर्षमा भएका २ सय ५० वटा सवारी दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएको छ । रूपन्देहीपछि दाङमा २ सय ३ वटा सवारी दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कपिलवस्तुमा ७५, बाँकेमा ६६, पाल्पामा ३६, पश्चिम नवलपरासीमा ३०, बर्दियामा २६, रोल्पामा २०, प्यूठान र अर्घाखाँचीमा समान १३, गुल्मीमा ९ र सबैभन्दा कम पूर्वी रूकुममा १ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेशमा सवारी साधनको दुर्घटनामा परेर ज्यान गुमाउने मानिसहरूको संख्या हरेक वर्ष थपिँदै गएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएको भएपनि दुर्घटनाको संख्यामा भने कमी आउन नसकेको उनले बताए ।

ट्राफिक प्रहरीले दैनिकजसो लापरबाही गरी सवारी चालकलाई कारबाही गरे पनि सवारी साधनहरूको संख्या थपिँदै जाँदा दुर्घटनाको संख्या पनि थपिँदै गएको बताउँछन् । ‘हरेक वर्ष सवारी साधनको संख्या थपिँदै गएको छ । गाउँ-गाउँमा सडक सञ्जाल थपिएको छ । सवारी चालक अनुमति पत्र लिनेहरूको संख्या पनि हरेक वर्ष बढिरहेको छ । सडक, सवारी र चालक सबै थपिँदै गएपछि दुर्घटनाको संख्या पनि थपिएको छ,’ एसपी खत्री भन्छन् ।

फराकिला र स्तरीय सडक निर्माणसँगै दुर्घटनाको जोखिम पनि थपिएको उनले बताए । कच्ची सडकमा कम गतिमा सवारी हाँक्ने चालकले पक्की सडकमा तीव्र गतिमा हाँक्दा धेरै दुर्घटना हुने गरेको उनले बताए ।

सवारी चलाउँदा प्रविधिको प्रयोग गर्दा पनि दुर्घटना हुने गरेको उनले बताए । ‘साना होस् वा ठूला जुनसुकै सवारी साधन चलाउँदा पनि मोबाइलको प्रयोग गर्नुहुँदैन तर, कतिपय स्कुटर र मोटरसाइकलको दुर्घटनापछि घाइतेको उद्धार गर्दा हेलमेटभित्र मोबाइल भेटिएको हुन्छ, मोबाइलमा कुरा गर्दै जाँदा दुर्घटनामा परेका हुन्छन्,’ उनले भने ।

सडकमा पैदल हिँड्ने यात्रीदेखि सवारी साधनका यात्रु, चालक र व्यवसायी समेत सडक र सवारीप्रति इमानदार नबन्दासम्म ट्राफिक प्रहरी लागेर मात्र दुर्घटनाको संख्या कम गर्न नसकिने एसपी खत्री बताउँछन् ।

सवारी कारबाहीबाट साढे १७ करोड राजस्व 

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै लापरबाही गरी चलाउने २ लाख ३३ हजार २ सय ९४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा तीन सवारी साधनहरूलाई कारबाही गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

सवारी कारबाहीबाट १७ करोड ४२ लाख २८ हजार ५ सय ३ राजस्व संकलन भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम खत्रीले बताए । ट्राफिक प्रहरीसँगै यातायात व्यवसायीले समेत सुरक्षित रूपमा सवारी कसरी सञ्चालन गर्ने भन्ने विषयमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् ।

ट्राफिक प्रहरीले लापरबाही गरी सवारी चलाउने चालकहरूलाई दैनिकजसो कारबाही गर्दै आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले दुर्घटना न्यूनीकरणका लागि प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार प्रालिले पछिल्लो दुई वर्षमा तीन हजारभन्दा बढी चालक र सहचालकलाई प्रशिक्षण दिइसकेको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार