कोहलपुर ।
नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत निःशुल्क वितरण गरिने औषधिहरूको सूचिमा सिकलसेल एनिमियाका बिरामीले नियमित खानुपर्ने हाइड्रोक्सियुरिया नामक औषधि पनि समावेश गरेको छ । लामो समयपछि सरकारले हाइड्रोक्सियुरिया नामक औषधि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरेपछि अब सिकलसेलका बिरामीहरूलाई सहज हुनेछ ।
जीवनभर खानुपर्ने महँगो औषधि किनेर खानुपर्दा सिकलसेल एनिमियाका बिरामीहरू ठूलो आर्थिक मारमा पर्ने गरेका थिए । तर राष्ट्रिय बिमा बोर्डले सो औषधिलाई ‘सुविधा थैली’मा समावेश गरेपछि यस्ता बिरामीहरूले राहतको महसुस गर्न पाउने भएका हुन् ।
आउँदो भदौ १ गतेदेखि लागू हुने गरी राष्ट्रिय बिमा बोर्डले सो औषधिलाई ‘सुविधा थैली’मा समावेश गरेको हो । लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कृृष्णा केसी नमुनाको निरन्तर पहलमा सरकारले सो औषधिलाई ‘सुविधा थैली’मा समावेश गरेको थियो । ‘म यसका लागि दशौँपटक विभिन्न ठाउँमा धाएँ हुँला,’ मन्त्री केसीले मिसन टुडेसँग भनिन्, ‘तर यसपटक बल्ल सो औषधि सूचिमा समावेश हुन सक्यो । म यसबाट निकै खुसी छु ।’
यसबाट नियमित औधषि खानुपर्ने सिकलसेलका बिरामीहरूलाई ठूलो राहत मिलेको उनले बताइन् । मन्त्री नमुनाले सिकलसेल र थालेसेमियाको औषधि बिरामीले निःशुल्क प्राप्त गर्न सक्ने गरी ‘सुविधा थैली’मा समावेश गर्न राष्ट्रिय बिमा बोर्डलाई पत्राचार गरेकी थिइन् ।
प्रायः विपन्न समुदायका यस्ता बिरामीहरू आर्थिक रूपमा निकै मर्कामा भएकाले आफूले उनीहरूले सेवन गर्ने औषधि सुविधा थैलीमा समावेश गर्न अनुरोध गर्दै गत फागुन २ गते स्वास्थ्य बिमा बोर्ड काठमाडौं पुगेर बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलामार्फत् लिखित अनुरोधपत्र पेस गरेको जानकारी दिइन् ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया रोगका बिरामीले जीवनभर खानुपर्ने हाइड्रोक्सियुरिया औषधि स्वास्थ्य बिमामा समेटिएपछि हजारौँ रोगी बिरामीलाई राहत मिल्ने बताए ।
यो एउटा ऐतिहासिक निर्णय भएको डा. पाण्डेको भनाइ छ । ‘यसको एउटा मात्र नभएर तीन/चारवटा फाइदा छन्’ डा. पाण्डेले भने, ‘पहिलो त जीवनभरि बिरामीले यो औषधि निःशुल्क प्राप्त गर्न सक्ने भए, दोस्रो औषधि लिन अब बिरामी टाढा जानु नपर्ने भयो, बिमा कार्यक्रमसँग जोडिएका स्वास्थ्य केन्द्रहरूमै यो औषधि पाइने भयो । यातायात खर्च बच्यो ।’
विपन्न नागरिक उपचार कोषमार्फत सरकारले यसअघि सिकलसेल र थालेसेमियाका बिरामीका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएको थियो । लुम्बिनी प्रदेश सरकारले गत आवमा यस्ता बिरामीका लागि निःशुल्क बिमा गरिदिने निर्णयसमेत गरेको थियो ।
तर पनि महँगो औषधि किनेर खानुपर्दा यस्ता बिरामीका लागि त्यसले खासै अर्थ राख्दैनथ्यो । सरकारको यस निर्णयबाट सिकलसेलका बिरामीले ठूलो राहत पाएको डा. पाण्डेले बताए ।
डा. पाण्डेका अनुसार प्रतिट्याब्लेट २० रुपैयाँ पर्ने सो औषधि बिरामीले दिनको दुईवटा सम्म खानुपर्छ । जीवनभर खानुपर्ने सो औषधिले बिरामीलाई निकै आर्थिक भार थपेको थियो । मन्त्री नमुनाले सिकलसेल र थालेसेमिया रोगका बिरामीले सेवन गर्ने औषधि निःशुल्क गर्न अनुरोध गरेको भए पनि बोर्डले थालेसेमियाको औषधि आइरन सियटरलाई भने सो निःशुल्क सूचिमा समावेश गरेको छैन ।
‘थालेसेमियाको औषधि अझ महँगो छ, एक ट्याब्लेटकै १ सय ५० रुपैयाँ पर्छ,’ डा. पाण्डेले भने, ‘यद्यपि थालेसेमियाको औषधि खाने मान्छे धेरै छैनन् ।’ उनले देशभरि एक हजार जना थालेसेमियाका बिरामी भएको र भेरी अस्पतालमा नियमित फ्लोअपमा आउने ३ सय जना बिरामी भएको उनले जानकारी दिए ।
जबकि देशभरि सिकलसेलका ५ हजार बिरामी रहेकोमा ११ सय बिरामी भेरी अस्पतालमा फ्लोअपमा आउने र नियमित औषधि खाने छन् । ‘सिकलसेलका बिरामीले अब स्वास्थ्य बिमा सेवामार्फत् निःशुल्क औषधि पाउने भएका छन्, यो कार्यले बिरामीलाई अत्यन्तै राहत मिलेको छ,’ डा. पाण्डेले भने ।
प्रतिक्रिया दिनुहोस्