ढकेरी नजिकैबाट बुद्धमूर्तिसहित तीन जना पक्राउ



बाँके ।

इलाका प्रहरी कार्यालय कोहलपुरले गौतम बुद्धको मूर्तिसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार पूर्वपश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिका– ८ नयाँगाउ नजिकैबाट मूर्तीसहित तीन जनालाई पक्राउ गरेको हो ।

शंकास्पद रूपमा हिडिरहेका उनीहरूलाई रोकेर चेकजाँच गर्दा झोलामा बुद्धको मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका– ११ का ५० वर्षीय खिमबहादुर कँुवर, सोही ठाउँका ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निमबहादुर कुँवर रहेका छन् ।

‘शंका लागेर उनीहरूलाई रोकेर सोधपुछ गरेर खानतलासी गर्दा खिमबहादुरले बोकेको खैरो रङको झोलामा ओम नमः शिवायः लेखेको भगवान गौतम बुद्धको मूर्ति फेला परेको हो,’ डिएसपी डाँगीले भने, ‘मूर्ति रितपूर्वक बरामद गरी निजहरूलाई नियन्त्रणमा लिएर कोहलपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

भगवान गौतम बुद्धको मूर्ति कोही कसैको भए आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न इलाका प्रहरी कार्यालय कोहलपुरले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार