20 June 2024  |   बिहिबार, असार ७, २०८१

‘प्रज्ञा प्रतिष्ठान कथा खोज्दै गाउँगाउँमा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०८०  

कोहलपुर ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठान कथा खोज्दै गाउँगाउँ पसेको बताएका छन् । उनले गाउँका अनेकौँ कथा अझै लेखिन बाँकी भएकाले प्रतिष्ठान कथा खोज्दै गाउँ पसेको बताए । प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार कोहलपुरमा पहिलोपटक आयोजित लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सवलाई सम्बोधन गर्दै कुलपति राईले नेपालमा अनेकौँ भाषाभाषी र जातजातिका मानिसको बसोबास रहे पनि उनीहरुका कथा अझै लेख्न नसकिएको बताए ।

प्रतिष्ठानबारे पनि कतिपय व्यक्तिलाई जानकारी नभएको उनको भनाइ थियो । ‘प्रतिष्ठानका काम कर्तव्यबारे गाउँगाउँमा अझै पनि धेरै मानिसलाई जानकारी नै रहेनछ,’ उनले भने, ‘त्यसैले पनि गाउँमा कथा खोज्दै र प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै हामी गाउँ पसेका हौँ।’विगतमा प्रतिष्ठानलाई बौद्धिक विलासको थलो मात्र बनाउने गरेको समेत उनको गुनासो थियो ।

अबका दिनमा भने प्रतिष्ठानले भाषा साहित्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उनले दाबी गरे । त्यसैको सुरुवातस्वरुप गाउँगाउँमा रहेका लोपोन्मुख भाषा संस्कृति र समुदायका कथा खोज्नैका लागि प्रतिष्ठानले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको उनको भनाइ छ । कोहलपुरपछि प्रतिष्ठान सदूरपश्चिम प्रदेश पुग्ने पनि उनले जानकारी दिए ।

प्रज्ञा प्रतिष्ठान नै मुख्य आयोजक रहेको कार्यक्रमको सहआयोजक कोहलपुर नगरपालिका र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर रहेका थिए । यस क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा स्रष्टा सम्मान तथा आख्यानका विविध विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले साहित्य सिर्जना गरेर मात्र नहुने र आफूले कस्तो लेखिरहेको छु भन्नेबारे स्वयम् स्रष्टाले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका थिए । उनले स्रष्टाहरूलाई शक्तिशाली सिर्जना गर्न आग्रह गरे । कार्यक्रममा चर्चित आख्यानकार तथा प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग प्रमुख अमर न्यौपानेले कोहलपुरलाई ‘सहरले खाएको गाउँ’को संज्ञा दिँदै यहाँ थुप्रै कथा अझै लेखिन बाँकी रहेको बताए ।

१५ वर्षअघि आफूले एउटा प्राजेक्टअन्तर्गत यही भूमिमा आएर यहाँका चिडिमार र पत्थरकट्टा समुदायका कथा लेखेको उनले स्मरण गरे ।
सांस्कृतिक सिद्धान्त निर्माण गर्ने हेतुले प्रत्येक प्रदेशबाट कम्तिमा तीनवटा सांस्कृतिक कथा लेखाउने निर्णय प्रज्ञा परिषदबाट हालै भएको जानकारीसमेत उनले दिए । विभिन्न सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी दोस्रो सत्रमा लुम्बिनी प्रदेशको साहित्यको अवस्था बारे डा. टीकाराम उदासीले प्रकाश पारेका थिए ।

तेस्रो सत्रमा ‘बसाइँसराइ र समाज परिवर्तनका कथा’बारे प्यानल डिस्कसन गरिएको थियो । जसमा वक्ताका रूपमा पूर्वमन्त्रीसमेत रहेका थारू भाषाका अध्येता डा. गोपाल दहित र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य रहेका थिए । जसको सहजीकरण गरेका थिए अर्का स्रष्टा एवम् पत्रकार डा. कृष्णराज सर्वहारीले । सो सत्रमा विशेषगरी थारू भाषा र समुदायका विविध विषयमाथि चर्चा गरिएको थियो ।

त्यसैगरी, अर्को सत्रमा ‘आख्यान कति यथार्थ कति कल्पना’ विषयक प्यानल डिस्कसनमा प्राज्ञ अमर न्यौपाने र डा. अशोक थापाले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । कथाकार सुमित्रा न्यौपानेले सहजीकरण गरेको यो सत्रमा डा. थापाले १२–१५ वटा विश्वविद्यालय सञ्चालनमा आइसक्दा पनि अहिलेसम्म नेपालमा सिर्जनात्मक लेखनबारे अध्ययन अध्यापन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी अमर न्यौपानेले साहित्य लेखनमा कल्पना र यथार्थ दुवैको समान भूमिका रहेको बताएका थिए ।

त्यसैगरी रैथाने कथाका बारेमा सामाजिक अभियन्ता राजाराम गुप्ता र राजनीतिकर्मी एकमाया विकले आ–आफ्ना विचार राखेका थिए । सो डिस्कसनको सहजीकरण पुष्कर रिजालले गरेका थिए । कार्यक्रममा कथा वाचनसमेत गरिएको थियो । यसैबीच, हाम्रो कोहलपुर साहित्य प्रतिष्ठान कोहलपुरले दुई जना स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०७९’ प्रा.डा. रामप्रसाद ज्ञवाली र ‘तुल्सीराम स्मृति पुरस्कार–२०७९’ बाँकेकी स्रष्टा ऋचा लुइँटेललाई प्रदान गरेको हो । कार्यक्रममा यस क्षेत्रका लेखक साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०८०     9:55:18 AM  |