18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सीमित स्रोत साधनका बाबजुद केही काम भएका थिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २०, २०८०  

पश्चिम तराईको उदाउँदो सहर कोहलपुर नगरपालिकाका पूर्वमेयर हुन्, लुटबहादुर रावत । नगरमा रावतको परिचय सरल, सादगी र इमान्दार जनप्रतिनिधिको रूपमा छ । त्यसैले उनी लगातार ३ पटक –दुई पटक गाविस अध्यक्ष र एक पटक मेयर) नगरपालिकामा निर्वाचित भए । उनीमाथि नगरबासीले २०४९ सालदेखि नै निरन्तर भरोसा गर्दै आएका थिए । उनले गएको निर्वाचनपछि मात्र सक्रिय राजनीतिबाट विश्रम लिएका हुन् । क्षमताले भ्याएसम्म नगरबासीको सेवा गरेको उनी बताउँछन् । ‘पूर्ण इमान्दारिताका साथ काम गरेँ । पार्टी र जनताको विश्वास टुट्ने कुनै काम गरिनँ,’ उनी भन्छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको स्थानीय तहको नेतृत्व गर्नु सीमित अधिकार र साधन स्रोतको गाउँ विकास समिति हाँकेजस्तो सजिलो नभएको उनले बताए । उनका अनुसार गाविसमा थोरै बजेट भए पुग्थ्यो । ‘नचाहेर पनि पूर्वाधार विकासमा माथिको मुख ताक्नुपथ्र्यो,’ रावत सुनाउँछन्, ‘अहिले बजेटको खास समस्या छैन । राजनीतिक खिचातानी ज्यादा छ ।’
तैपनि, बाँकेको पहिलो साक्षर पालिका, हरेक वडामा आफ्नै भवनमा स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालयको स्तरोन्नति तथा दरबन्दी मिलान, कबर्डहल, क्रिकेट मैदान, लामो दूरीको बसपार्क निर्माण, भ्यूटावर र उज्यालो कोहलपुर बनाउन सकेकोमा उनी सन्तुष्ट छन् । ‘अझै धेरै काम हुन सक्थे । संघीयताको पहिलो कार्यकाल भएकाले हामी अल्मलिएकै हो । अब कानुन बनिसके, आउने स्थानीय सरकारलाई सहज हुनेछ,’ उनले भने । उनै पूर्वमेयर रावतसँग मिसनकर्मी गणेश रावतले गरेको कुराकानीको सम्पादित अंशः

० मेयरको कार्यकाल सकिसकेपछि अहिले केमा व्यस्त हुनुहुन्छ ?

मेयरको कार्यकाल सकिएपछि स्वास्थ्यले साथ नदिँदा म कुनै पनि काममा सक्रिय छैन । राजनितिबाट पनि विश्राम लिएर बसेको छु । उमेरले पनि साथ दिएको छैन । त्यसैले हाडजोर्नी दुख्ने र पेट दुख्ने समस्याले घरमै बसेर आराम गरिरहेको छु । मैले राजनीतिक जीवनमा लामो समय बिताएँ । यसबीचमा विभिन्न कार्य र गतिविध भए । कोहलपुर नगरपालिकाबाट बिदा भएपछि स्वास्थ्यलाई ध्यान दिएर आराम गरिरहेको छु ।

० घरमै बसेर आफ्नो ५ वर्षे कार्यकाल कसरी निहाल्नुभएको छ ?

नगरपालिका बनेपछिको पहिलो मेयरको रूपमा कोहलपुर नगरपालिका चलाउँदा ऐन, नियम, कानुन थिएनन् । जिरो अवस्थाबाट सुरु गर्दा निकै समस्याहरू पनि झेल्नुप¥यो । योजनाहरू अलपत्र पर्ने, राम्रोसँग सञ्चालनमा आन नसक्ने र ऐन, नियम, कानुन निर्माण भइनसकेको अवस्था थियो । एकातिर नियम कानुन र ऐन बनाउँदै अर्कातिर कार्यान्वयन गर्दै जानुपर्ने अवस्था थियो । काम गर्ने कर्मचारी नहँुदा न्यून जनशक्तिमा काम गर्नुप¥यो । यस्तो अवस्थाका बीचमा पनि पहिलो मेयरका रूपमा कोहलपुर नगरपालिकामा केही गर्न सकेछु भन्ने मलाई महसुस भएको छ ।

० निर्वाचनको बेला स्थानीयलाई दिएका आश्वासन र उनीहरूका आशा र अपेक्षा पूरा गर्न सकेजस्तो लाग्छ ?

जनताका सबै आशा र अपेक्षा पूरा त कहिल्य हुँदैनन् । एउटालाई पूरा गरे अर्काे आवश्यकता जन्मिन्छन् । जनताका आवश्यकता र अपेक्षा थुप्रै छन् । तर, मलाई लाग्छ, धेरै हदसम्म मैले जनताका अपेक्षा पूरा गरेको छु । नगरको विकास र जनताको सुविधाका लागि स्रोत र साधनले भ्याएसम्म मैले राम्रै गर्ने प्रयास गरेको छु । म नगरपालिकामा आइपुग्दा नगरपालिका भवन थिएन । भाडामा सञ्चालन भएको थियो । म आएपछि नगरपालिकाको आफ्नै भवन बनाएँ । त्यसैबाट कार्यालय सञ्चालन गरेँ । पहिलो वर्ष नगरसभा गर्दा होटलमा गरेका थियौँ । पछि आफ्नै हल निर्माण गरी सञ्चालन गर्न सफल भयौँ । १५ वटै वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गरेर सञ्चालनमा ल्यायौँ । अहिले सबै वडा र स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालित छन् । मैले जनताका इच्छा आवश्यकता सबै पूरा नगरे पनि जनताका आधरभूत आवश्यकता पूरा सफल भए जस्तो लाग्छ ।

० बुँदागत रूपमा भन्दिनुस् त तपाईंले पछिल्लो ५ वर्षमा के–के काम गर्नुभयो ?

१५ वटा वडामै कार्यालय स्थापना गरी सञ्चालन गरेँ । १५ वटै स्वाथ्य कार्यालय सञ्चालन गरेँ । भ्युटावर निर्माण, अत्याधुनिक बसपार्क निर्माण, बाल अस्पतालको सुरुवात, कबर्डहलको सुरुवातलगायतका काम भए । नगरपालिका प्रशासनिक भवन सुरुवात गरेर बिदा लिएको हुँ । शिक्षाका क्षेत्रमा थुप्रै सुधार गरेर निक्लेको छु । विद्यालय सुचारु गर्न दरबन्दी मिलान गरियो । जिरो अवस्थाबाट ऐन, कानुन, नियम र जनशक्ति अभावमा सबै तयारी गरी ५ वर्षमा थुप्रै काम भएका थिए ।

० तपाईंले उद्घाटन गरेका र निर्माण प्रक्रिया थालेका संरचना किन सञ्चालनमा आउन सकेका छैनन् त ?

भ्यूटावर निर्माण सम्पन्न भएको छ । सञ्चालन भइसक्नुपर्ने हो । तर, किन खै सञ्चालनमा आउन सकेको छैन । मलाई आश्चर्य लागिरहेको छ । यसको जवाफ त अहिले म दिन सक्दिनँ । किन भने मैले त्यहाँ गएर कुरा बुझ्न पाएको छैन । केही कारण र अप्ठ्यारा होलान् । यसका बारेमा मसँगभन्दा पनि नगरपालिकामा गएर बुझ्दा राम्रो हुन्छ ।

० तपाईंले पुरानो बसपार्क हुँदाहुँदै आर्थिक भार थप्न नयाँ बसपार्क निर्माण गर्नुभयो भन्ने आरोप पनि छ नि, के भन्नुहुन्छ ?

आन्तरिक बसपार्क पुरानो बसपार्क नै हो । जनताका सुविधाका लागि हो यो बसपार्क । बन्द किन गरियो ? किन सञ्चालनमा आउन सकेन ? मैले पनि बुझेको छैन । छुट्टै पूर्व–पश्चिम, उत्तर–दक्षिण गर्न मात्रै लामो दूरीका बसहरूका लागि नयाँ बसपार्क निर्माण गरिएको हो । अहिलेको कठिन आर्थिक अवस्थाबाट देश गुज्रिरहेका बेला सामान्य आर्थिक विश्लेषण गरेर सानो रकमबाट सुरु गरेर क्रमशः बर्सेनि बढाउँदै लगेको भए राम्रो हुने थियो । एकैचोटि ठूलो रकम भएकाले नभएको हो कि ? त्यसैले सानो रकमबाट सुरु गरेको भए सहज हुने थियो भन्ने मेरो धारणा हो ।
० अहिले देशको राजनीतिक र परिस्थितिलाई कसरी नियाल्नुभएको छ ?
म राजनीतिबाट बिदा लिएर घरमै चुप लागेर बसेको छु । यसबारे मेरो खासै अध्ययन र जानकारी नभएको हुँदा यसको चर्चा गर्न पनि उपयुक्त देख्दिनँ ।

० अन्तिमममा के भन्न चाहनुहुन्छ ?

कोहलपुर नगरपालिकाका आमजनता आमाबुबा, दिदीबहिनी र दाजुभाइहरूलाई मेरो विनम्रतापूर्वक अनुरोध के छ भने मेरो कार्यकालमा जे जति निर्माणका काम भएका थिए, ती संरचाना कोही सम्पन्न भए, कतिपय सुरुवात गरेर छाडेँ । ती अधुरा विकास निर्माण कार्य सम्पन्न गर्न तपार्इंहरूको चासो दिएर अहिलेका जनप्रतिनिधिसँग मिलेर त्यसलाई पूर्ण गर्नतिर लाग्नुहोस् भन्न चाहन्छु ।

प्रकाशित मितिः शुक्रबार, पुस २०, २०८०     7:38:43 AM  |