यतिबेला जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकारले जनताले अनुभूत गर्नेगरी कार्यक्रमहरू दिएर उनीहरूलाई स्वदेशमै रोक्नुपर्छ । स्थानीय सरकारले कृषि र औद्योगिक विकासलाई अगाडि बढाउने हो भने धेरै युवालाई स्वदेशमै रोक्न सकिन्छ ।

एकनारायण अधिकारी । सचिव , नेपाली कांग्रेस बाँसगढी नगर कार्यसमिति ।
१. आम युवाहरूमा आज राजनीतिप्रति वितृष्णा जागिरहेको अवस्था छ । तपाईं आफैँ पनि एक जना युवा हुनुहुन्छ । यस्तो अवस्थामा नेपाली कांग्रेस बाँसगढी नगर कमिटीले युवाहरूलाई राजनीतिप्रति विश्वस्त पार्न कस्ता कार्यक्रम अगाडि सारेको छ ?
यतिबेला नेपाली कांग्रेस सरकारमा पनि सहभागी छ । र, विभिन्न प्रदेश सरकार हुँदै ७ सय ५३ वटा स्थानीय तहहरूमध्ये कतिपयमा नेपाली कांग्रेसले नेतृत्व पनि गरिरहेको छ । बर्दियाको हकमा भन्नुहुन्छ भने ८ वटामध्ये ५ वटा स्थानीय तहमा यतिबेला नेपाली कांग्रेसले नेतृत्व गरिरहेको अवस्था छ । बाँसगढी नगरपालिकामा भने केही वडाहरूमा मात्र हामीले नेतृत्व गरिरहेका छौँ ।
यतिबेला नेपाली कांग्रेसभित्र पनि केही कार्यकर्तामा तपाईंले भनेजस्तै निराशा बढेको देखिन्छ । हामीले स्थानीय तहको नेतृत्व गरिरहँदा हामीले राम्रा कामहरू गर्न जनप्रतिनिधिलाई सुझाव, प्रशिक्षण वा निर्देशन दिने गरेका छौँ । कमसेकम कांग्रेसको नेतृत्व भएका स्थानमा सुशासनका पक्षमा अब्बल काम हुनुपर्छ भन्ने कुरालाई हामीले प्राथमिकता दिएका छौँ । जनताले अनुभूति गर्नेगरी नेतृत्वले काम गर्नुपर्छ भनेर हाम्रा जनप्रतिनिधिहरूलाई पटकपटक घचघच्याउने काम हामीले गरिरहेका छौँ ।
अर्कातिर पार्टीका कार्यकताहरूलाई कसरी सक्रिय बनाउने, उहाँहरूलाई कसरी जगाउने र समाजप्रति उहाँहरूलाई कसरी उत्तरदायी बनाउने भनेर हामी लागिरहेका छौँ । यतिबेला हामी पार्टी सदस्यता नवीकरणको दौरानमा छौँ । बाँसगढीको हकमा दुई वर्षको हामी एकैपटक नवीकरण गर्दै छौँ । यावत विविध पक्षबाट कांग्रेसलाई बलियो बनाउने र आम जनतामा कांग्रेसप्रतिको भरोसा बढाउने गरी हाम्रा कार्यक्रमहरू निर्माण भइरहेका छन् ।
२. चुनावका बेला विभिन्न गुट उपगुटमा विभक्त भएर नेतृत्वमा पुग्ने र त्यहाँ पुगिसकेपछि क्रियाशील सदस्यहरूलाई नै उपेक्षा गर्ने प्रवृत्ति बढेको भन्ने गुनासो पनि सुनिन्छ नि ?
पार्टीभित्र तपाईंले भनेजस्ता केही समस्या अवश्य छन् । मैले छैन भनेर पन्छिन पनि मिल्दैन । केही त्यस्ता उदाहरणहरू पनि छन् जुन सुधार्नु आवश्यक छ । टिम त पार्टीभित्र विगतदेखि नै रहँदै आएको हो । अहिले पनि पार्टीभित्र त्यो अवस्था कायमै छ । हामी अहिले पनि त्यसलाई चिर्नका लागि नै प्रयासरत छौँ । हामीसँग मनोबल पनि छ, कुनै बिन्दुमा गएर यसलाई हामी रोक्न सक्छौँ ।
कुनै पनि नेतृत्वमा पुग्ने चाहना एक, दुई वा तीन व्यक्तिमा हुनु स्वाभाविक हो । जब यसरी चाहना प्रकट हुन्छन् तब त्यहाँ टिम बन्नु पनि स्वाभाविक नै हुन्छ । तर यो टिम तात्कालीक वा अस्थायी प्रकृतिको हुनुपर्छ । एउटा अधिवेशन वा चुनावमा त्यो कायम भए पनि कालान्तरमा पार्टी जीवनमै त्यसले असर गर्ने अवस्था आउनुहुन्न । प्रजातान्त्रिक पार्टी भएका कारण प्रतिस्पर्धा हुनु वा टिम बन्नु स्वाभाविक हो ।
तर पछिल्लो समय यस्ता टिमलाई लम्ब्याउने प्रवृत्ति बढेको छ । आफू सफल बन्न टिमको बैसाखी खोज्ने र आम कार्यकर्ताको चाहनाको ख्याल नगर्ने प्रवृत्ति बढेको छ । यसलाई हामीले रोक्नुपर्छ । कांग्रेसमा लागेका हामीजस्ता युवा साथीहरूले त्यो खालको प्रयास गर्नुपर्छ ।
३. यो गुटको मनोविज्ञान माथिबाट तल सरेजस्तो लाग्छ कि तलबाट माथि उक्लेजस्तो लाग्छ तपाईंलाई ?
यसमा हामी आफैँ पनि सुध्रिनुपर्छ । र नेताहरूलाई पनि यति अचाक्ली त गर्नुहुँदैन है भनेर भन्न सक्नुपर्छ । यदि अर्को समूहको साथी क्षमतावान छ भने उसलाई पनि अवसर दिनुपर्छ भन्ने कुरा हाम्रो तहबाट पनि स्थापित गर्नुपर्छ ।
र माथिबाट पनि टप्पटप्प अंकुशले टिप्ने चलन छ नि ! त्यसलाई हटाउनुपर्छ । यसो गर्दा कहिलेकाही क्षमतावान् मान्छेहरू पाखा पर्ने सम्भावना हुन्छ । टिमका नाममा चाकडी गरेर क्षमताहीन व्यक्ति नेतृत्वमा पुग्ने अवस्था आउन सक्छ ।
४. बिपीका विचार र आदर्शलाई नेपाली कांग्रसको नेतृत्वले भजाएर खाने काम मात्र ग¥यो भन्ने धेरै कार्यकर्ता तथा शुभचिन्तकको गुनासो रहनेगर्छ । यहाँको बुझाइ के छ ?
मेरो बुझाइ पनि केही हदसम्म त्यसमा मिल्छ । नेपाली कांगे्रस एउटा इतिहास बोकेको पार्टी हो । कांग्रेसको आफ्नै विरासत छ । यस्तो पार्टीले चुनावमा अन्य पार्टीहरूको सहारा खोजेको कतिपय साथीहरूले रुचाएका छैनन् ।
सहकार्य गरेर सरकारमा जाने कुरा त ठीक छ तर त्यहाँभन्दा अगाडि पनि चुनावमै सहकार्य गर्ने कुराप्रति धेरै कार्यकर्ताको चित्त बुझेको छैन । पार्टी केन्द्रीय कमिटीको बृहत् बैठकमा पनि यो कुरा उठेको छ । यो कुराले कहिँनिर हिजोका नेताहरू बिपी, किसुनजीलगायतका नेताहरूले बोकेका विचारलाई ठेस पुगेको अनुभूति आम कार्यकर्तामा भएको छ ।
५. हिजो राष्ट्रियताका सवालमा बिपीको त्यागका कथा हामी अहिले पनि पढ्न पाउँछौँ । त्यस्तो पार्टीका आजका नेताहरू सत्ताबाहेक बाहिर बस्नै नसक्ने अवस्थामा कसरी पुगे ?
यतिबेला हामीले कांग्रेसलाई जुन रूपमा देख्न पाउनुपर्ने हो त्यो रूपमा देख्न नपाउँदा आम कार्यकर्तामा दुःख हुनु स्वाभाविक हो ।
यहाँसम्म आइपुग्दा समग्र कांग्रेस पार्टी र यसका कार्यकर्ताले यो अवस्था भोग्नु परेको छ । यो अत्यन्तै दुःखद् छ । यसमा तहगत रूपमा नेतृत्व गरेका पार्टीका नेताहरूले जिम्मेवारी त लिनैपर्छ ।
६. तपाईं हिजो नगरका क्रियाशील सदस्यहरूको भोट लिएरै नगर कार्यसमितिमा निर्वाचित हुनुभएको हो । आज ती सदस्यहरूसँग जाने सरसल्लाह गर्ने, सुझाव लिने काम कत्तिको गर्ने गर्नुभएको छ ?
अन्यत्रको कुरा कुरा के छ म भन्न सक्दिनँ । बर्दियाकै हकमा पनि अन्य पालिकाको अवस्था के छ त्यो पनि म जान्दिनँ । तर हाम्रो बाँसगढी नगरपालिकाको हकमा हामी आफ्नो जिम्मेवारी र दायित्वबाट पछि हटेका छैनौँ । हामीकहाँ ९ वटा वडा छन् । प्रत्येक वडामा हाम्रो नगर कार्यसमितिका पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरेका छौँ ।
एकअर्काबीच समन्वय गर्छौं । जान्छौँ, भेट्छौँ र बैठक बसाल्छौँ । हरेक क्रियाशील सदस्य साथीहरूको चाहना बुझ्छौँ । यति भन्दाभन्दै पनि हामीले उहाँहरूका सबै कुरा पूरा गर्न सकेका छौँ भन्ने पनि होइन । तर उहाँहरूको भावनाभन्दा बाहिर गएर, उहाँहरूलाई बाइपास गरेर आफूखुसी कार्यक्रम बनाउने गरेका छैनौेँ । हामीले केही राम्रो गर्ने प्रयास गरिरहेका छौँ ।
आम जनता र कार्यकर्तामा छाएको निराशालाई कसरी आशामा रूपान्तरण गर्ने भन्ने हाम्रो प्रयास जारी छ । कांग्रेस मात्र होइन, अन्य पार्टीका कार्यकर्ता तथा जनतामा पनि निराशा छाएको छ । विशेषगरी मुलुकमा व्याप्त बेरोजगारीका कारण पनि जनतामा निराशा बढ्दो छ ।
त्यसकारण नगरमा भएका रोजगारीका सम्भावनालाई वृद्धि गरी वा आवश्यकताका आधारमा जनतालाई अवसर उपलब्ध गराउने कुरामा हामी प्रतिबद्ध छौँ ।
७. अहिले बेरोजगारीको समस्या तपाईंले भनेझै भयावह रूपमा बढेको छ । देशमा युवाहरू छैनन् । गाउँमा मलामीसमेत नपाइने अवस्था आएको छ । यस्तो अवस्थामा युवाहरूलाई देशमा रोक्नका लागि के गर्न सकिन्छ ?
देशको सबैभन्दा ठूलो शक्ति, देशको सबैभन्दा ठूलो जाँगर युवा नै हो ।
त्यही युवा आज आफ्नो क्षेत्रमा कुनै पनि सम्भावना नदेखेर बिदेसिएको छ । तेस्रो मुलुकमा जान सक्ने गएका छन् । तेस्रो मुलुक जान नसक्ने भारततिर भए पनि गएका छन् । यो बिकराल अवस्था छ । अब यसमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
यतिबेला जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकारले जनताले अनुभूत गर्नेगरी कार्यक्रमहरू दिएर उनीहरूलाई स्वदेशमै रोक्नुपर्छ । स्थानीय सरकारले कृषि र औद्योगिक विकासलाई अगाडि बढाउने हो भने धेरै युवालाई स्वदेशमै रोक्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्