साहित्य वार्ता
नेपाली साहित्यका बहुविधामा कलम चलाउने स्रष्टा हुन् वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन । उनले कविता, कथा, लघुकथा, निबन्ध, नियात्रालगायतका विधामा कलम चलाएका छन् । उनका विभिन्न विधाका करिब दर्जन कृति प्रकाशित छन् । रोदन एक जना स्रष्टा त हुन् नै त्यसमाथि उनी साहित्यका प्रवद्र्धकसमेत हुन् । लामो समय पत्रकारिता गरेका रोदन गोरखापत्र दैनिकको प्रधानसम्पादकसमेत रहिसकेका व्यक्ति हुन् । नेपाली साहित्यको उन्नयनका लागि उनी पछिल्लो समयमा खटिरहेका छन् । कहिले लघुकथा समाज निर्माण गरेर लघुकथाको प्रवद्र्धनमा लाग्छन् त कहिले निबन्धको उन्नयनमा खटिन्छन् । लघुकथालाई आजको चर्चित र लोकप्रिय विधा बनाउनुमा रोदनकै प्रमुख हात छ । यतिबेला भने उनी निबन्धको श्रीवृद्धिमा लागेका छन् । उनै साहित्यका स्रष्टा एवम् चिन्तक रोदनसँग मिसन टुडेका लागि सनत सापकोटाले गरेको कुराकानी ।
श्रीओम श्रेष्ठ रोदन
वरिष्ठ साहित्यकार
० निवृत्त जीवन कसरी बितिरहेको छ ?
हाजिर गर्नु परेको छैन दैनिक । मासिक तलब आउँदैन । होइन भने निवृत्त भएको भन्ने मैले मात्र होइन, मेरो परिवार, मेरा साथीभाइ कसैले पनि अनुभूत गर्नुपरेको छैन । एक दिन घर बस्न पाएको होइन । हरेक दिन कार्यक्रम छ भनेको छ हिँडेको छ । यो भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमालाग्ने मान्छे जीवनमाकहिल्यै पनिनिवृत्त हुँदो रहेनछ ।
० यसमा आफ्नै खालको मजा पनि त होला नि हैन ?
अँ, मजा भन्दा पनि सन्तुष्टि । आत्मसन्तुष्टि लिन पाइएको छ । मान्छेले यही आत्मसन्तुष्टिका लागि करोडौँ खर्च गर्छन् । कसैले स्कुल बनाउँछन् । कसैले बाटो बनाउँछन् । कसैले आफन्तका नाममा सालिक बनाइदिन्छन् । हामीले आफूले जानेको कुरामा समय खर्चिनुमा सन्तुष्टि मिल्छ भने के भयो र ! योभन्दा ठूलो सन्तुष्टि र मजा त के रहेछ र !
० पछिल्लो समय मौलिक सिर्जनाहरू के गर्दै हुनुहुन्छ ?
म जागिरबाट निवृत्त भएपछि दुई वटा काम गरेँ । एउटा दुई सय पृष्ठ हाराहारीको अभिवन्द्य नामक निबन्ध कृति तयार पारेँ । यो फरक शैलीको निबन्ध हो । यो व्यक्ति निबन्ध हो । यसको दोस्रो संस्करण पनि निस्किसकेको छ । यसले पुरस्कार पनि पायो । अर्को मैले समकालीन आत्मपरक निबन्धहरूको संकलन पनि निकालेँ । यो नितान्त निबन्धमा कलम चलाउने जीवित स्रष्टाहरूका बारेमा लेखिएको समकालीन निबन्ध हो । अरू फुटकर रूपमा गर्ने सिर्जनाका काम त गरिरहेको छु । तर अहिले पनि मलाई मौलिक सिर्जनाभन्दा पनि बाध्यात्मक लेखनमै बढी समय दिनु परिरहेको छ । जस्तै भूमिका लेखन, समीक्षात्मक लेखन वा कार्यक्रम एरेन्ज जस्ता कुरामा बढी समय व्यतीत गर्नुपरेको छ ।
० बाध्यात्मक लेखन भन्नुभयो । यसले मौलिक सिर्जनामा कत्तिको ‘ह्याम्पर’ गर्दोरहेछ ? तपाईंको अनुभव के छ ?
मेरो चाहिँ सुरुवात नै बाध्यात्मक लेखनबाट भयो । म २०४० सालमा नेपाल बैंकमा काम गर्दादेखि नै बाध्यात्मक लेखनमा परेँ । त्यतिबेला नयाँमार्ग भन्ने साप्ताहिक पत्रिका प्रत्येक मंगलबार निस्कन्थ्यो । सोमबार मलाई यस्तै बाध्यात्मक लेखन गर्नुपथ्र्यो । त्यसपछि म मधुपर्कमा आएँ । यहाँ आएपछि पनि मलाई बाध्यात्मक लेखनमै बढी प्रवृत्त हुनुप¥यो । तर पनि यसले खासै बेफाइदा ग¥यो जस्तो मलाई लाग्दैन ।
० बाध्यात्मक लेखनले एउटा ‘प्रेसर क्रियट’ गर्दैन र ?
होइन, त्यो व्यक्तिपिच्छे फरक हुँदोरहेछ । म जस्तोसुकै अवस्थामा पनि लेख्न सक्छु । भीडमा पनि म लेख्न सक्छु । लेख्नु छ भनेपछि मलाई कुनै पनि अवरोधले छेक्न सक्दैन । जतिसुकै हल्ला भए पनि, जस्तोसुकै अवरोध भए पनि लेख्नु छ भनेपछि म लेख्न सक्छु । मलाई लेख्नका लागि कुनै पनि परिस्थिति प्रतिकूल हुँदैन । प्रतिकूल परिस्थितिलाई पनि म अनुकूलतामा ढाल्न सक्छु ।
० तपाईं त लघुकथा लेख्ने मान्छे । निबन्धका कृति निकाल्नुभयो । पछिल्लो समय लघुकथा लेखनमा सुस्तता आएको देखिन्छ । लघुकथा लेखन के भइरहेको छ ?
पछिल्लो समय म लघुकथा लेखनभन्दा पनि लघुकथाको प्रवद्र्धनमा बढी समय खर्चिएँ । लघुकथालाई कुनैबेला नेपालमा साहित्यको विधा नै मानिँदैनथ्यो । सार्वजनिक मञ्चबाटै लघुकथाको विरोध गरिन्थ्यो । धेरै प्राध्यापक डाक्टरहरूले नै लधुकथालाई नेपाली साहित्यको विधा नै नभएको भनेर टिप्पणी गर्थे । नेपाली साहित्यमा लघुकथा धेरै अघिदेखि नै लेखिन्थ्यो । तर यसका बारेमा चर्चा परिचर्चा र यसको विधि विधानका बारेमा कुनै पनि अभिलेख थिएन । यस्तो अवस्थामा म यसको प्रवद्र्धनमा लागेँ । र, यसलाई एउटा सशक्त विधाका रूपमा स्थापित गराउन सफल पनि भएँ ।
० लघुकथालाई नेपाली साहित्यमा स्थापित विधाको रूपमा परिचित गराउन के कस्ता काम गर्नुभयो ?
विसं २०५३ सालमा झापाको धुलाबारीमा लघुकथासम्बन्धी पहिलो गोष्ठी भएको थियो । रमेश विकल त्यतिबेला प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुहुन्थ्यो । उहाँकै संयोजकत्वमा यो गोष्ठी सम्पन्न भएको थियो । त्यो गोष्ठीमा म पनि आमन्त्रित थिएँ । त्यहाँ बढीमा ३ सय शब्दसम्मको लघुकथा वाचन गर्न पाइने सर्त राखिएको थियो । त्यहाँ आसाम, गोहाटी, मेघालय, दार्जिलिङलगायतका नेपालीभाषी भारतीय साहित्यकारहरूको पनि उपस्थिति थियो । उहाँहरूले त्यहाँ लघुकथा भनेको सर्ट स्टोरी, सर्ट स्टोरी कसरी तीन सय शब्दको मात्र हुनसक्छ भनेर १५ सय शब्दसम्मका कथालाई लघुकथा भनेर वाचन गर्नुभयो । त्यतिबेला प्राध्यापक राजेन्द्र सुबेदीले पहिलोपटक लघुकथाका बारेमा कार्यपत्र लेख्नुभएको थियो । तर त्यहाँ न सुबेदीको कार्यपत्रअनुसार लघुकथालाई परिभाषित गरियो न एकेडेमीले भनेबमोजिम नै लघुकथालाई अथ्र्याइयो । त्यसपछि मलाई लाग्यो, वास्तवमा लघुकथाको त न कुनै सिद्धान्त रहेछ न यसको कुनै इतिहास नै । यसको त कुनै जग नै रहेनछ भन्ने मलाई लाग्यो । त्यसपछि मलाई यसका बारेमा खोजी गर्ने उत्सुकता जाग्यो । त्यसपछि मात्र म यसको अभियानमा लागेको हुँ ।
० कस्तो अभियान थियो त्यो ?
त्यतिबेला म रेयुकाइ नेपालमा आबद्ध थिएँ । रेयुकाइमार्फत नै मैले २०५४ सालमा एउटा लघुकथा प्रतियोगिताको संयोजन गरेँ । लघुकथाको एउटा मानक तयार गरियो । लघुकथाको आकार, प्रकार, शैली, संरचनाआदिलाई लिएर त्यो मानक बनाइएको थियो । यसले चर्चा पनि पायो । यसको चर्चा हुनुको एउटा प्रमुख कारण थियो, राजपरिवारका सदस्यको यसमा सहभागिता । त्यतिबेला अधिराजकुमारी श्रृतिराज्यलक्ष्मी देवी शाह यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँलाई मैले व्यक्तिगत प्रयासमा यो कार्यक्रममा निम्त्याउन सफल भएको थिएँ । त्यो कार्यक्रमपछि नै लघुकथाका बारेमा मान्छेहरूमा जिज्ञासा बढ्यो । मान्छेहरू लघुकथाका बारेमा आफ्ना जिज्ञासा मेट्न मकहाँ आउन थाले । लघुकथा लेख्ने क्रम पनि बढ्यो । म त्यतिबेला मधुपर्कमा थिएँ । २०६२ सालमा हामीले मधुपर्कमा लघुकथा विशेषांक पनि निकाल्यौँ । यही विशेषांकमा पहिलोपटक लघुकथाको सिद्धान्तका बारेमा लेखिएको हो । दयाराम श्रेष्ठ, मोहनराज शर्मा, राजेन्द्र सुवेदी जस्ता प्राध्यापकहरूले यसका सिद्धान्त, विधि र विधानका बारेमा लेख्नुभएको थियो । त्यसपछि २०६४ सालमा लघुकथा समाजको परिकल्पना गरेँ मैले । यसमा त्यतिबेला लघुकथा लेख्ने साथीहरू सम्मिलित हुनुहुन्थ्यो । म यसको संयोजक भएँ । प्रज्ञा प्रतिष्ठानसँग मिलेर लघुकथासम्बन्धी धेरै कार्यक्रमहरू गरियो । २०७४ सालतिर हुनुपर्छ, प्राडा. लक्ष्मणप्रसाद गौतमले लघुकथासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैका आधारमा विभिन्न विद्धानहरूसँग छलफलपछि लघुकथाको सैद्धान्तिक स्वरूप तयार भएको थियो । कमलमणि दीक्षितको सौजन्यमा जगदम्बा प्रेसबाट प्राडा. लक्ष्मणप्रसाद गौतमले लेखेको लघुकथाको रचना विधान भन्ने किताब नै छापिएको छ । अहिले लघुकथा के हो ? कसरी लेख्ने ? भन्ने सम्बन्धमा कुनै दुविधा छैन ।
० अहिले लघुकथा लेखनमा विस्तार भएको छ । सामाजिक सञ्जालमा झन् यसको बाढी नै आएको देखिन्छ नि ?
पछिल्लो सयम लघुकथा लेखन त ह्वात्तै बढेर गयो । तर साँच्चै लघुकथा नै लेख्नेहरूको संख्या अहिले पनि कमै छ । आकारलाई लघुकथा मान्नेहरूको संख्या अत्यधिक भयो । शब्द संख्यामा अल्झिएर बोधकथा, नीतिकथा, टुक्का वा चुट्किलाहरूलाई लघुकथा भन्न थालिएको छ । तर अहिले संख्याको, प्रचारको र विस्तारको हिसाबले लघुकथा संसारभरि नेपालीभाषी भएका ठाउँसम्म फैलिएको छ । यो राम्रै कुुरा हो ।
० विधानअनुसार लघुकथा कत्तिको लेखिइरहेको छ त ?
अब लघुकथाको रचना विधानका बारेमा सामग्रीको अभाव छैन । पहिला यसको अभावमा कमलमणि दीक्षित जस्ता मान्छेले पनि चुट्किला र टुक्कालाई लघुकथा भन्नुपर्ने अवस्था थियो । अब लघुकथाका पनि विधि, विधान र संरचना छन् । यो पढेर लेख्ने मानिसले राम्रै रचना गर्छन् ।
प्रतिक्रिया दिनुहोस्