15 July 2024  |   सोमवार, असार ३२, २०८१

राजनीतिकरणले सामुदायिक विद्यालयको पढाइ बिग्रेको कुरा सत्य होइन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०  

सामुदायिक विद्यालयको गुणस्तर भनिने गरेजस्तो निराशाजनक छैन । देशलाई चाहिने जनशक्ति उत्पादनमा सरकारी विद्यालयहरूले पनि योगदान दिइरहेका छन् । अहिले निजी विद्यालय पढेका भाइबहिनी विदेश ताकिरहेका देखिन्छन् भने सरकारी विद्यालयमा पढेका भाइबहिनीहरू लोकसेवा, शिक्षा सेवा आयोगतर्फ आकर्षित भएको पाइन्छ ।

विनोद शर्मा लम्साल
प्रधानाध्यापक, ज्ञानज्योति मावि

१. ज्ञानज्योतिमा अहिले कति विद्यार्थी अध्ययनरत् छन् ?

सर्वप्रथम त म हाम्रा महान पर्वहरू बडादसैँ, शुभदीपावली र छठका अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी भाइबहिनी, व्यवस्थापन समिति, गुरु वर्ग एवम् आम समुदायमा हार्दिक शुभकामना भन्न चाहन्छु ।

अहिले हाम्रो विद्यालयमा साधारण र प्राविधिक धारतर्फ गरेर १ हजार ९ सय ८० विद्यार्थी अध्ययनरत् छन् । हाम्रो विद्यालयमा साधारणतर्फ शून्यदेखि १२ कक्षासम्म अध्यापन हुने गरेको छ ।

११ र १२ कक्षामा विद्यार्थीले इच्छाएका सबै विषय पढ्न पाउँछन् । ११ र १२ कक्षामा शिक्षा समूह, विज्ञान समूह, कानुन समूह र व्यवस्थापन विषयका सम्पूर्ण पढाइहरू हुन्छन् । त्यसैगरी, व्यावसायिक धारतर्फ सिभिल इन्जिनियरिङ, जियोमेटिक इन्जिनियरिङ तीनबर्से ढिप्लोमा पढाइ हुन्छ ।

जियोमेटिक इन्जिनियरिङ यो क्षेत्रमा नै हामीकहाँ मात्र पढाइ हुने विषय हो । सस्तो र सुलभ तरिकाले जियोमेटिक इन्जिनियरिङ पढाइरहेका छौँ । यदि कसैको फर्म भर्न छुटेको छ भने यसका लागि अहिले फर्म खुलेको पनि म जानकारी गराउन चाहन्छु । त्यसैले अहिले विद्यार्थीले आफूले इच्छाएको विषय पढ्न भौँतारिएर धेरै टाढा जानुपर्दैन ।

त्यसैगरी एसइईमा ग्रेड नपुगेर माथिल्लो कक्षामा पढ्न नपाएका भाइबहिनीहरूका लागि पनि १८ महिने सिभिल कोर्स सुरु भएको छ । भाइबहिनीहरू निराश नभई १८ महिने सिभिल कोर्स पढेर आफ्नो भविष्य उज्वल बनाउन र आफूलाई स्वरोजागरतिर उन्मुख गराउन पनि म आग्रह गर्दछु ।

२. गे्रड नपुगेकाहरूलाई पढाइने सिभिल कोर्समा १८ महिना अध्ययन गर्दा विद्यार्थीको कति जति खर्च लाग्छ ?

१८ महिने कोर्सका लागि ६० हजार रुपैयाँ खर्च लाग्छ । सरकारी विद्यालय भएकाले यो सस्तो हो । प्राइभेट पढ्न गयो भने यही कोर्सलाई डेढ लाखसम्म तिर्नुपर्ने हुन्छ । यो कोर्स पढेपछि भाइबहिनीहरू स्वरोजगार बन्न सक्ने अवस्था छ ।

हाम्रा पालिका र वडा कार्यालयका सबओभरसियरहरूले रोजगारी पाउनुभएको छ । निर्माण कम्पनीहरूले पनि त्यस्तो कोर्स पढेका भाइबहिनीहरूलाई रोजगारी दिनसक्ने सम्भावना छ । दिइरहनुभएको पनि छ ।

३. यहाँबाट पास गरेर गएकाहरू कत्तिको रोजगारीमा छन् ? वा उनीहरू पनि आम युवाजस्तै झोला बोकेर विदेश जानुपर्ने अवस्थामा छन् कि ?

त्यस्तो छैन । हामीकहाँ पढेर गएका धेरैजसो भाइबहिनीहरू स्वरोजगार हुनुहुन्छ । कतिपयले रोजगारी पनि पाउनुभएको छ । पहिलो वर्ष २०७५ सालमा हामीले सिभिल इन्जिनियरिङको अनुमति प्राप्त गरेका थियौँ ।

त्यो शैक्षिक सत्रका भाइबहिनी जो उत्तीर्ण भइसक्नुभएको छ उहाँहरू स्वदेशमै विभिन्न जिल्लामा छरिएर काम गरिरहनुभएको छ ।

४. धेरै विषयहरू समेटिरहँदा यहाँको भौतिक पूर्वाधारको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

हामीसँग धेरै विषयहरू नहुँदा पुरानै भवन पर्याप्त हुनेगथ्र्यो ।

तर प्राविधिक धार सञ्चालन गरिसकेपछि हामीसँग भवन र कक्षाकोठाहरू कमी भएको छ । त्यसैले हामीले सरकार र विभिन्न संघसंस्थाको सहयोगमा नयाँ संरचना निर्माण गरिरहेका छौँ । यसपटक हामीले प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा विज्ञान प्रयोगशाला भवनको निर्माण गर्दै छौँ ।

जसमा कक्षा, ट्युटेरियल र प्रयोगशाला रहनेछ । विशेष गरेर ११ र १२ पढ्ने साइन्स र टेक्निकलतर्फका विद्यार्थीहरूका लागि यो भवन निर्माण हुन लागेको हो । केही दिनमा नै यो भवन निर्माणको काम सुरु हुनेछ ।

५. विद्यालयमा अन्य भौतिक सुधारका काम के–के गर्नुपर्ने छ ?

हामीले दुई सिफ्टमा कक्षाहरू सञ्चालन गरेका छौँ । बिहान ६ बजेदेखि १२ बजेसम्म प्राविधिक धारका विद्यार्थीहरूलाई अध्ययन गराउँछौँ ।

कक्षाकोठा अपुग भएकाले विज्ञान र कानुन समूहलाई बिहानमा अध्ययन गराइरहेका छौँ । यदि कतैबाट सहयोग प्राप्त भएमा भवन निर्माण गरेर एकै समयमा कक्षा सञ्चालन गर्ने सोच हाम्रो छ ।

६. सरकारले विद्यालयमा टिनका छानामुक्त बनाउने भनिरहेको छ । टिनका छानामुनि बसेर अध्ययन अध्यापन गर्दाका अप्ठ्यारा के–के छन् ?

टिनका छानामा अध्ययन अध्यापन गराउँदा शिक्षक तथा विद्यार्थी दुवैलाई डिस्टर्ब हुने हुन्छ । गर्मीका बेला टिन तात्ने र पटपट पड्किने गर्छ । त्यस्तै पानी आयो भने पनि ठूलो आवाज आउने गर्छ ।

त्यसले गर्दा सरहरूको स्वर पनि विद्यार्थीसम्म नपुग्ने र विद्यार्थीहरूको ध्यान पनि डाइभर्ट हुने समस्या देखिन्छ । टिममुक्त हुँदा यस्ता डिस्टर्बेन्सहरू रहँदैनन् । त्यसैले सम्भव भएसम्म हामीले टिनका छाना भएका कोठाहरूलाई ल्याब वा वर्कसपका रूपमा प्रयोग गरिरहेका
छौँ ।
७. यसै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयमा बारम्बार कुरा उठ्ने गर्छ । त्यसमाथि यत्रो लगभग २ हजार विद्यार्थीलाई पढाउनुपर्दा तपाईंहरूले शैक्षिक गुणस्तरलाई कसरी कायम गर्नुभएको छ ?

समग्रमा भन्दा हाम्रो विद्यालयको शैक्षिक गुणस्तर ठीकै छ । अन्यत्र सुनिने जस्तो खत्तम वा खस्केको छैन ।

निजीको तुलनामा सामुदायिक विद्यालयमा गुणस्तर कम देखिनुको एउटा कारण के पनि हो भने यहाँ कुनै पनि प्रशासनिक निर्णय गर्दा व्यवस्थापन समितिलाई पर्खनुपर्ने हुन्छ । तुरुन्त निर्णय हुँदैन ।

यस्ता विविध कारणले गर्दा त्यस्तो देखिएको हो । तर सामुदायिक विद्यालयको गुणस्तर भनिने गरेजस्तो निराशाजनक अवस्था पनि होइन ।
देशलाई चाहिने जनशक्ति उत्पादनमा सरकारी विद्यालयहरूले पनि योगदान दिइरहेका छन् ।

अहिले निजी विद्यालय पढेका भाइबहिनी विदेश ताकिरहेका देखिन्छन् भने सरकारी विद्यालयमा पढेका भाइबहिनीहरू लोकसेवा, शिक्षा सेवा आयोगतर्फ आकर्षित भएको पाइन्छ । उनीहरू देशभित्रै बसेर सेवा गर्न इच्छुक हुने गरेका छन् ।

८. सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कम भएको कुरा त साँचो हो नि ?

अब यो शैक्षिक गुणस्तरको मापन कसरी गर्ने, केलाई आधार मान्ने भन्ने पनि छ । मार्कसिटमा ल्याएको नम्बरलाई नै अहिलेसम्म गुणस्तरको आधार मान्ने गरिएको छ । तर यतिले मात्र शैक्षिक गुणस्तरको मापन हुन्छ जस्तो मलाई लाग्दैन ।

कुनै पनि विद्यार्थी समाजका लागि कति जिम्मेवार छ । उसको सोच र समझ कति फराकिलो छ भन्ने कुरालाई पनि गुणस्तरको आधार बनाउनुपर्छ जस्तो मलाई लाग्छ ।

९. सामुदायिक विद्यालयहरूमा बढी राजनीति हुनेगरेका कारण गुणस्तर घटेको भन्ने आमबुझाइ छ । तपाईं के भन्न चाहनुहुन्छ ? तपाईंको विद्यालयको अवस्था के छ ?

मलाई त्यस्तो लाग्दैन । हाम्रो विद्यालयमा त्यस्तो अवस्था छैन पनि । आस्थाका आधारमा हामी आ–आफ्ना संघसंगठनमा रहेका हुन्छौँ ।

तर त्यो भन्दैमा विद्यालय नै नआउने, पढाउँदै नपढाउने वा विद्यार्थीको पढाइलाई नै ह्याम्पर गर्ने काम गरेका छैनौँ । राजनीति भएर राजनीतिकरणले नै पढाइ बिग्रेको भन्ने कुरा सत्य होइन ।

१०. कतिपय विद्यालयमा प्रअ र अन्य शिक्षकबीचको खराब सम्बन्धका कारण पनि पढाइमा बाधा पर्ने गरेको पाइन्छ नि ?

हाम्रो विद्यालयमा त्यस्तो समस्या छैन । बरु हाम्रो विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू निम्न तथा निम्नमध्यम वर्गका हुने हुँदा कतिपय अभिभावकले समयमै शिक्षण सामग्री विद्यार्थीलाई उपलब्ध नगराइदिँदा समस्या देखिने गरेको छ ।

बालबच्चाले पढाइका साथै घरायसी काममा पनि समय खर्चिनुपर्ने हुनाले पढाइमा समय दिन नसकेर पनि विद्यार्थीको पढाइमा बाधा आउने गरेको छ ।

११. कतिपय सामुदायिक विद्यालयहरूमा अंग्रेजी भाषा माध्यमबाट पढाइ हुने, पढाइको गुणस्तर पनि उच्च हुने गरेको पाइन्छ । त्यसैले त्यस्ता विद्यालयमा भर्ना नै नपाउने र भर्नाका लागि प्रअ, व्यवस्थापन समिति वा नेता गुहार्नुपर्ने अवस्था देखिन्छ । आखिर चुस्त व्यवस्थापन भयो भने गुणस्तर त सम्भव रहेछ त ?

हो, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा भएका कारण यसप्रतिको आकर्षण बढी छ । अभिभावकदेखि विद्यार्थीसम्म यस भाषा माध्यमप्रति आकर्षित हुनुहुन्छ ।

त्यसैले हामीले पनि कक्षा ८, ९ र १० मा अंग्रेजी भाषा माध्यममै पढाइ सञ्चालन गरिरहेका छौँ । यसलाई विस्तारै तल–तल सार्दै गएर कक्षा १ देखि नै अंग्रेजी भाषा माध्यमबाट अध्ययन अध्यापन गर्ने सोच बनाएका छौँ ।

१२. तपाईंको विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकबीच मैत्री सम्बन्ध कायम गर्न के कस्ता उपाय अवलम्बन गरेको छ ?

हामीले यसका लागि बेलाबेला अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, विद्यार्थीको रुचि र क्षमताका आधारमा वर्गीकरण गर्ने र उनीहरूलाई अतिरिक्त कक्षा सञ्चालन गर्ने काम पनि गरिरहेका छौँ । त्यसैगरी विद्यार्थीको अवस्थाका बारेमा बेलाबेला अभिभावकसँग छलफल र अन्तक्र्रिया गर्ने काम पनि हामी गर्छौं ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०     11:30:31 AM  |