वडामा ९९ प्रतिशत अव्यवस्थित र सुकुम्बासी बस्ती छ : वडाध्यक्ष जैसी



कोहलपुुर नगरपालिकाको सबैभन्दा गरिब वडा हो, १ नम्बर वडा । यो ९९ प्रतिशत ऐलानी र सुकुम्बासी बस्ती भएको ठाउँ हो । सुकुम्बासी बस्तीमा पर्याप्त भूमिको अभाव हुने नै भयो । अर्को कुरा यहाँ पानीको पनि अभाव छ । त्यसैले यहाँका युवालाई कृषिमा जोड्न त्यति सजिलो छैन । बरु यहाँका युवालाई स्वरोजगार बन्ने किसिमका तालिम दिन सकिन्छ ।

बद्रीप्रसाद जैसी । अध्यक्ष, वडा नम्बर १ । कोहलपुर नगरपालिका

१. अहिले लागूऔषध दुव्यर्सनी र मानव बेचबिखनको समस्या हरेक गाउँ नगरको समस्याका रूपमा देखिएको छ । तपाईंको वडामा लागूऔषध दुव्र्यसनीको अवस्था कस्तो छ ? त्यसलाई नियन्त्रण गर्न के कस्ता कार्यक्रम ल्याउनुभएको छ ?

अहिले लागूऔषध दुव्र्यसनी र मानव बेचबिखनका समस्या हाम्रा जटिल समस्याका रूपमा देखापरिरहेका छन् । हामीले हाम्रो वडामा विशेष कार्यक्रम ल्याएर यसको रोकथाम र नियन्त्रण गर्ने सोच बनाएका छौँ । मैले यसको योजना बनाइसकेको छु ।

कोहलपुर–१ मा ६ वटा टोल छन् । ती टोलटोलमा पहिला एउटा मूलसमिति बनाउँछौँ । त्यसपछि उपसमिति बनाएर टोलटोलमा परिचालन गर्छौँ । मैले त्यसका लागि एक डेढ लाख बजेट छुट्याएको छु । गत आर्थिक वर्ष पनि मैले यो कार्यक्रम गरेको थिएँ ।

तर त्यतिबेला एक–दुई निश्चित ठाउँ तोकेर मात्र कार्यक्रम गरिएको थियो भने अहिले अभियानकै रूपमा अघि बढाउने सोच बनाएका छौँ ।
कोहलपुर–१ लागूऔषधको सवालमा एक नम्बरमा छ भनेर प्रचारित भएको छ । यसलाई लागूऔषधको ‘रेडजोन’का रूपमा लिइन्छ । यसलाई न्यूनीकरण गर्नु हाम्रो प्राथमिक कामभित्र पर्छ ।

२. अहिले १४ वर्षदेखि ७४ वर्ष उमेर समूहसम्मका मानिस लागूऔषध दुव्र्यसनीका रूपमा सुधारगृह भेटिन्छन् । युवाहरू लागूऔषधको दुव्यर्सनीमा फस्नुका कारण कस्ता रहेछन् ? उनीहरूका अभिभावकहरू के भन्छन् ?

यो कुरामा पनि मैले गृहकार्य गरिरहेको छु । अभिभावक शिक्षाका लागि मैले वडाबाट चार लाख बजेट छुट्याएर काम गर्ने योजना बनाएको छु । अरू वडाले यस्तो बजेट छुट्याएका छन् कि छैनन् मलाई थाहा छैन ।

लागूऔषध नियन्त्रणकै लागि यो बजेट छुट्याइएको हो । विद्यालय वा वडामा विभिन्न कार्यक्रम गरेर उनीहरूलाई प्रशिक्षण दिने काम हुन्छ । अभिभावकलाई यसप्रति सचेत बनाउनु आवश्यक छ । युवाहरूलाई सही बाटोमा लैजानका लागि अभिभावकहरूको भूमिका पुगेको छैन । कतिपय किशोरहरू स्कुल जान्छु भनेर घरबाट जान्छन् तर ती स्कुल जान्छन् कि जाँदैनन् अभिभावकले निगरानी गर्नुपर्छ ।

स्कुल नै गए पनि ५–६ घन्टा मात्र ती स्कुलको निगरानीमा हुने हुन् । तर १७–१८ घन्टा त बच्चा अभिभावकसँगै हुन्छन् । त्यसैले आफ्नो छोरा कहाँ जान्छ, के गर्छ भनेर अभिभावकले ध्यान दिनु जरुरी छ ।

३. किशोरहरू लागूऔषधको दुव्र्यसनीमा कसरी फस्न पुग्दा रहेछन् ? के पाउनुहुन्छ ?

यसका थुप्रै कारण रहेछन् । एउटा प्रमुख समस्या त बेरोजगारी र गरिबी नै हो । बेरोजगारीले गर्दा अभिभावक स्वयम् पनि दिनभरि तास खेलेर, गफ गरेर समय बिताउने गरेको पाइन्छ ।

यदि रोजगारीको अवस्था भए मानिस त्यसरी बरालिन पाउने थिएन । बेरोजगारीका कारण अभिभावक नै यसरी जुवातासमा अल्मलिएपछि त्यसको प्रभाव बच्चाहरूमा पनि पर्ने नै भयो ।

४. बेरोजगारी लागूऔषध दुव्र्यसनीको प्रमुख कारण भन्नुभयो । रोजगारी सिर्जना गर्न तपाईंंको वडाभित्र कुनै आयमूलक वा सीपमूलक कार्यक्रम ल्याउने प्रयास गर्नुभएको छ त ?

नगरपालिकाले त यो काम गरिरहेको छ । नगरभित्रका बेरोजगारहरूको लगत संकलन गरेर उनीहरूले इच्छाएको तालिम दिने व्यवस्था नगरपालिकाले गर्दैछ ।

लगत संकलनका लागि फाराम वितरण भइरहेको छ । अब रोजगारी सिर्जना गर्ने कुरामा एउटा वडाको मात्र भूमिका हुुन्छ जस्तो मलाई लाग्दैन । राष्ट्रिय रूपमा यसबारे केही सोचिनुपर्छ ।

५. नेपालको पछिल्लो राजनीतिक अवस्थाले पनि नेपाली युवाहरू या त बिदेसिने या त यस्तै कुलतको सिकार बन्ने अवस्था सिर्जना भएको छ । वर्तमान राजनीतिप्रति उनीहरूको विश्वास नै छैन । अहिले नगरपालिकाले रोजगारी सिर्जनाका लागि गर्न लागेको कामले परिणाम देला त ?

यो कुरा अहिले समग्र कोहलपुर नगरपालिकाले उठाएको छ । कोहलपुरका १५ वटा वडाभित्रका बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गर्नका लागि नै यो काम अघि बढाइएको हो । जुन वडाको भए पनि नगरभित्रको युवाले यसबाट लाभ लिन सक्छन् ।

अब कति रोजगारी सिर्जना गर्न सकिन्छ । हाम्रा स्रोत साधनले कति भ्याउँछन् त्यो बेग्लै कुरा हो । बेरोजगारीको समस्या देशकै एउटा प्रमुख समस्या हो । अब एउटा पालिकाले आफ्नो ठाउँमा कति रोजगारी सिर्जना गर्न सक्छन् र ! हो, सय पचासले रोजगारी पाउलान् । त्यो पनि ठूलो कुरा हो ।

बेरोजगारी देशकै प्रमुख समस्या भएकाले राष्ट्रिय रूपमै नीति निर्माण गरेर जानुपर्छ । राष्ट्रिय बजेटबाटै रोजगारी सिर्जनाका लागि निश्चित योजना बनाउनुपर्छ । म त भन्छु, एक दुई वर्षको बजेट नै देशमा उद्योगधन्दा र कलकारखाना खोल्नका लागि छुट्याउनुुपर्छ । कम्तीमा पनि दुई–चार हजार युवालाई रोजगारी दिनसक्ने योजना नल्याएसम्म हुँदैन ।

६. तपाईंको वडाभित्रका युवाहरूलाई समेट्नका लागि कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन वा अन्य कस्ताखाले रोजगारमुखी कार्यक्रम आवश्यक देख्नुहुन्छ ?

हाम्रो देशमा कृषिको सम्भावना नभएको होइन । तर त्यसका लागि पूर्वाधार तयार हुनुपर्छ । अब कृषिको कुरा गर्दा सर्वप्रथम सिँचाइको आवश्यकता हुन्छ । मेरो वडाको सवालमा कुरा गर्दा कोहलपुुर नगरपालिकाको सबैभन्दा गरिब वडा हो, १ नम्बर वडा । यो ९९ प्रतिशत ऐलानी र सुकुम्बासी बस्ती भएको ठाउँ हो ।

सुकुम्बासी बस्तीमा पर्याप्त भूमिको अभाव हुने नै भयो । अर्को कुरा यहाँ पानीको पनि अभाव छ । त्यसैले यहाँका युवालाई कृषिमा जोड्न त्यति सजिलो छैन । बरु यहाँका युवालाई स्वरोजगार बन्ने किसिमका तालिम दिन सकिन्छ । जस्तै ड्राइभिङ तालिम, मुडा बुन्ने तालिमलगायतका तालिम दिएर स्वरोजगार बन्न अभिप्रेरित गर्न सकिन्छ । तर यो काम वडाले मात्रै गर्न सम्भव छैन ।

७. आफ्नो वडामा ९९ प्रतिशत ऐलानी र सुकुम्बासी बस्ती भएको कुरा गर्नुभयो । सुकुम्बासीलाई जग्गा दिने कुरा चुनावी मसला बन्ने गरेको धेरै भयो । तपाईंको वडाभित्रका ती ऐलानीवाला वा सुकुम्बासीले साँच्चै लालपुर्जा चाहिँ कहिले पाउँछन् त ?

कोहलपुरको १ नम्बर वडाका लागि यो गम्भीर विषय हो । मैले पनि चुनावहुँदै गर्दा वा पदबहाली गर्दैगर्दा एक नम्बरमा लालपुर्जा, दुई नम्बरमा खानेपानी र तेस्रो नम्बरमा अन्य विकासका कुरा गर्छु भनेको थिएँ । यहाँको प्रमुख समस्या नै लालपुर्जाको हो । ४२ वर्ष भइसक्यो तर मानिसहरूले अझै पनि लालपुर्जा पाउन सकेका छैनन् ।

यहाँ आएर जन्मेको मान्छे बूढो भइसक्यो । यहाँ आएको मान्छे मरिसक्यो तर लालपुर्जा अझै बनेको छैन । अब अहिले चाहिँ हाम्रो वडामा नापजाँचको काम सकिइसक्यो । फिल्डबुक पनि तयार भयो । तर अझै पनि यो अव्यवस्थित बसोबासीका सवालमा अड्केको कहाँ छ भन्ने कुरामा म आफैँ अनभिज्ञ छु ।

सुकुम्बासीलाई लालपुर्जा दिने सवालमा भूमि आयोग, संसदबाट पास भएर पनि कोहलपुर–१ का १ सय ४१ वटा लालपुर्जा छापिइसकेका छन् । अहिले भूमि आयोगका अध्यक्ष ‘भूमिगत’ जस्तै भएका कारण लालपुर्जा बाँड्न रोकिएको छ ।

सबैतिरबाट पुर्जा वितरणका लागि आदेश भइसक्दा पनि अध्यक्षले सही नगरेका कारण वितरण हुन सकेको छैन भन्ने सुन्नमा आएको छ । यसको अन्य कारण के हो मैले बुझ्न सकेको छैन ।

अव्यवस्थितको हकमा वडाले गर्नुपर्ने काम सबै भइसकेको छ । केही काम पनि बाँकी छैन । तर पहिला दलित, भूमिहीन सुकुम्बासीको पुर्जा नबाँडेसम्म अव्यवस्थितको बाँडिन्न भन्ने मैले सुनेको छु । वडा र नगरबाट गर्नुपर्ने काम हामीले सम्पन्न गरिसकेका छौँ । हाम्रा कारणले लालपुर्जा वितरण रोकिएको होइन ।

८. विकासका नाममा बाटो बनाउने मात्र काम भइरहेको देखिन्छ, कृषि, पशुपालन जस्ता क्षेत्रमा खासै परिणाममुखी योजना आउन सकेका छैनन् । युवाहरूलाई स्वदेशमै रोजगारीका लागि पहल भएका देखिँदैनन् । तपाईंको वडामा पनि त्यही त होला नि अवस्था, हैन ?

तपाईंले भनेजस्तै ठ्याक्कै त्यस्तै त होइन । हामीले केही न केही सकारात्मक पहल गरिरहेका छौँ । हाम्रो स्रोत र साधनले भ्याएसम्म युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जनाका लागि पहल गरेका छौँ ।

विभिन्न सीपमूलक तालिम सञ्चालन गरेर उनीहरूलाई स्वरोजगार बन्ने वातावरण मिलाउँदै छौँ । हामीले गर्न सक्ने काम गरिरहेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार