23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

व्यवस्थित र मर्यादित सहकारीको सवाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २१, २०८०  

सन्दर्भ : १
कोहलपुर नगरपालिका चप्परगौडि बस्ने रामपति थारु ( नाम परिवर्तन) ले आफ्नो खेत बेचेर १५ लाख रुपैयाँ शिव शिखर सहकारीमा बचत गरे, बुढेसकालमा काम लाग्ला भनेर राखेको पैसा श्रीमती बिमारी भएर निकाल्न जाँदा भोलीभोली भन्दै टार्दै लगियो । अहिले त कार्यालय नै बन्द छ । अब कहाँ जाने, के गर्ने दिमागले केही सोच्नै नसकेको बताउँछन्,उनी ।
सन्दर्भ : २
‘श्रीमानको क्यान्सर रोग उपचारका लागि जग्गा बेचेर उपचार गराएँ । आखिर जति गरे पनि उहाँलाई बचाउन सकिएन । बँचेको ५ लाख छोरा पढाउन भनी सुमो बचत तथा ऋण सहकारीमा राखे । सहकारीले लुटेर भाग्यो । मेरो बाँच्ने आधार केही छैन । तपाइहरुले सहयोग गरिदिनु पर्यो । अव त म बाँचु कसरी ।’ यो भनाइ थियो, काठमाण्डौ नाङलेभारी बस्ने बिमला दङ्गालको ।
सन्दर्भ : ३
दार्चुलाकी राममति बराल विगत १८ वर्षदेखि काठमाण्डौमा बस्दै आएकी छन् । उनले अरुको भाँडा माझेर, लुगा धोएर, साग बेचेर, १८ वर्षसम्म कमाएको रु १४ लाख रुपैयाँ उत्तम सहकारीमा राखिन् । जव आफूले पैसा राखेको सहकारी नै भाग्यो भन्ने खवर आयो, ‘टपटि भएर आयो, पृथ्वी नै भासिए झै भयो’उनी सुनाउँछिन् ।

        –विष्णु पोखरेल

माथिका घटना त केवल प्रतिनिधिमूलक मात्र हुन् । माइतीघर मण्डलामा आफूले बचत गरेको पैसा सहकारीबाट दिलाइदिन अनुरोध गर्दै जम्मा भएका हजारौ बचतकर्ताको प्रदर्शनीले सहकारी क्षेत्रलाई आफूले गरेका कार्यको सिंहावलोकन गर्न झकझकाएको छ ।

गलत सोच र उद्देश्य राखेर स्थापना भएका केही खराब सहकारीले आफ्ना शेयर सदस्यप्रति गरेको गलत व्यवहारका कारण । आज समाजमा राम्रा र अनुकरणीय काम गर्दै आएका अधिकांश सहकारी पनि शंकाको नजरले हेरिन लागेका छन् । यस्तो अवस्था आउनुमा सम्बन्धित सञ्चालकको जिम्मेवारी त छ नै, राज्य पनि उत्तिकै जिम्मेवार र दोषी रहेको छ ।

सहकारी संस्था राज्यकै नियम र कानुन अनुसार दर्ता र सञ्चालन हुने भएकोले सहकारीबाट पीडा भोगेका सदस्यको बचत फिर्ता गरी सम्बन्धित सदस्यलाई बुझाइदिनु पनि राज्यकै दायित्वभित्र पर्दछ । जिम्मेवार राज्य सधै आफ्ना नागरिकको हक र हितमा अडिएको हुन्छ ।

एकातिर गलत मनसाय राखी सञ्चालन भएका सहकारीले आफ्ना शेयर सदस्यको करोडौ रकम लिई भागेका छन् भने अर्कोतर्फ राम्रा काम गर्दै आएका अनुकरणीय सहकारीले पनि आवधिक साधारण सभा बाहेक अन्य समयमा सदस्यको भेला बोलाई ‘आफ्नो अवस्था बलियो छ, यो यो कारणले तपाँइहरु ढुक्क हुनुस्’ भनेर आफ्ना सदस्यलाई आस्वस्त पारेको पाईदैन । सहकारीका यस्ता व्यवहारले शंकाको आधारलाई बलियो बनाउन झन् मल जल गरेको पाइन्छ ।

सहकारीको मर्म :
सहकारी संस्था जुन साझा हितको लागि एक आपसमा सहयोगी भावनाले स्थापित भएको हुन्छ । यसमा एकको लागि सबै र सबैको लागि एक भन्ने उद्देश्य निहित हुन्छ ।

यहाँ समानताको आधारमा नाफा र जोखिम बाँडफाँड गरिन्छ । यस्तो पवित्र र सहयोगी उद्देश्य हुँदाहुँदैपनि किन सहकारी बदनाम भैरहेका छन् । के सबै सहकारीको अवस्था एउटै हो, जस्ता प्रश्न गम्भीर रुपले उठ्नु स्वभाविकै मानिन्छ ।

सुरुको अवस्था :
नेपालमा सहकारीको इतिहासलाई हेर्दा सबैको एउटै मत देखिदैन । यद्यपि सुरुमा स्थापना भएका सहकारीबाट साहुको चर्को व्याज कम गर्न, किसानलाई आवश्यक पर्ने कृषि मल,बीऊ जस्ता उत्पादनमा लाग्ने सामग्री खरिद गर्न सुरुका सहकारीले सहयोग गरेको कुरामा भने सबैको एकमत रहेको छ ।

हुन त अनौपचारिक रुपले हेर्दा हाम्रो समाजमा परापूर्वकालदेखि नै गरिदै आएका वस्तु विनिमय, श्रम दान, अर्म पर्म, धर्म भकारी, मुष्ठी दान जस्ता चलन पनि मानव कल्याणको रुपमा एक अर्काको सहकार्यमा नै गरिदै आएको देखिन्छ । जसलाई सहकारीको एउटा सूक्ष्म रुप मान्न सकिन्छ । जे होस मानव हीतलाई ध्यानमा राखी गरिने आपसी व्यवहारले वर्तमानमा सहकारीको रुप लिएको कुरालाई नकार्न सकिदैन ।

यसको महत्व :
महत्वका हिसावले सहकारीलाई गरिव तथा न्यून आय भएका सदस्यको वरदानको रुपमा नै लिइन्छ । सानो सानो काम गरेर, थोरै थोरै बचत गर्नाले भविष्यमा गर्जो टार्न सजिलो हुने, बचत गर्ने बानीको विकासले गर्दा सहकारीबाट नै सदस्यको दैनिक जीवन निर्वाह प्रकृयामा सकारात्मक परिवर्तन भएका थुप्रै उदाहरण रहेका छन् ।

यसले सदस्यले ऋण लिदा बिचौलियाबाट हुन सक्ने ठगीलाई समेत कम गर्न सहयोग पुर्याएको पाइन्छ । राज्यको उत्पादन र वितरण प्रणालीमा सहयोग, घरेलु उद्योगको विकास एवं रोजगारीको अवसर जस्ता सकारात्मक कुरामा सहकारीले गरेको योगदानलाई कसैले नकार्न सकिदैन ।

वर्तमान दलाल पूँजीवादको मारबाट गरीवहरुले आफ्नो बचाऊ गर्न पनि सहकारीलाई राम्रो विकल्पको रुपमा लिन सकिन्छ ।
सहकारीका उद्देश्य, मूल्य मान्यता र सिद्धान्त राम्रा हुँदाहुँदै पनि किन सहकारीमा समस्या उत्पन्न भयो भन्ने विषयले आज सबैको ध्यान तानेको छ । अतः यस क्षेत्रमा संलग्न अभियन्ता र सरोकार राख्ने जो कोहीले पनि सहकारी असफल हुनुका कारण पत्ता लागाई भविष्यमा आउन सक्ने सम्भावित समस्यालाई हल नगर्ने हो भने अवस्था झनै भयाभह हुन सक्छ । त्यसैले यहाँ सहकारी सँस्था असफल हुनुका कारणलाई केलाउने प्रयत्न गरिएको छ ।

नियामक निकायको भूमिका :
कुनैपनि सहकारीको अवस्था के कस्तो छ, उद्देश्य अनुरुप काम भैरहेको छ, छैन भन्ने जस्ता कुराको जानकारी हुन नियामक निकायको भूमिका महत्वपूर्ण रहन्छ । हाम्रो अवस्थालाई हेर्दा संघीय तहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभाग रहेको छन् ।

त्यस्तै प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वा महाशाखा छ भने स्थानीय तहमा पालिकाहरुको भूमिका नियामक निकायको रुपमा रहेको छ । यसरी सरसर्ती हेर्दा नियामक निकायले अनुगमन गर्ने,सुधारका लागि सहयोग गर्ने, कमी कमजोरी देखिए पृष्ठपोषण दिने जस्ता कार्य नियमित गरेको पाइदैन ।यसले खराव सोच बोकेका सञ्चालकलाई थप हौसला प्रदान गर्दछ र संस्थामा संकट उत्पन्न हुन पुग्दछ ।

विभेद :
सहकारीमा सञ्चालक र सदस्यबीच समान व्यवहार हुन सकेन भने पनि समस्या ग्रस्त स्थिति उत्पन्न भएको पाइन्छ ।

खास गरी अधिकार र कर्तव्य समान भए अनुरुप संचालकले बढि अधिकारको प्रयोग गर्ने र सदस्यलाई त्यसबाट बञ्चित गर्नाले सहकारीमा समस्या देखिएका छन् ।

पारदर्शिता र जवाफदेहिता :
संस्थाको अवस्था के कस्तो रहेको छ, वर्तमानमा निक्षेप संकलन, ऋण असुली, लगानी आदि जस्ता कुराहरुको अवस्था के कस्तो रहेको छ भन्ने कुरामा सदस्यलाई जानकारी नहुनुले पनि सँस्थाको कामलाई प्रभाव पार्दछ ।

साथै योजना अनुसारको काम भए नभएको र त्यसमा कमी कमजोरी भएमा त्यसको जिम्मेवारी लिने जस्ता कुरा संबन्धितले नलिदा पनि समस्या आएको पाइन्छ ।

नगद नआएको व्याजलाई आम्दानीको रुपमा गणना गर्नु :
केही संस्थाले ब्याज पाकेको तर नगद प्राप्त नभएको ब्याजलाई पनि आम्दानीमा देखाउने गर्दछन् । यसरी आफूसँग नभएको नगदलाई आम्दानी जनाउदा परि आउँदा नगदको काम गर्न सक्दैन र समस्या उत्पन्न हुन पुुग्दछ । अनि सहकारी संस्था जोखिममा परेको देखिन्छ ।

दलीय प्रतिस्पर्धा :
दुर्भाग्य नै भन्नु पर्छ, दलीय प्रतिस्पर्धा राजनीति क्षेत्रमा मात्र देखिनु पर्ने हो तर यो सामाजिक क्षेत्रका विभिन्न संघ सँस्थामा पनि अछुतो हुन सकेन । के विश्वविद्यालय,के विद्यालय, सामुदायिक वन, खानेपानी सँस्थान आदिमा दलीय प्रतिस्पर्धाले सबै क्षेत्र ओगटेको पाइन्छ ।

सहकारी संस्था पनि यसबाट अछुतो रहेको पाइदैन । जसले गर्दा सहकारी सदस्यबीच मनमुटाव हुन गई एकले अर्कोलाई सहयोग नगर्दा संस्थामा समस्या आएको पाइन्छ ।

दोहोरो सदस्यता :
यो पनि सहकारीको समस्याको रुपमा देखिन पुगेको छ । संस्थाका संचालक, सदस्य वा कर्मचारी एक भन्दा बढि सहकारीको सदस्य बनेका हुन्छन् र एकातिरको ऋण तिर्न अर्को सहकारीबाट ऋण लिन्छन् ।

ऋण तिर्नको लागि लिएको ऋणले आय आर्जन गर्न सक्दैनन् । जव आय नै हुँदैन अनि कसरी ऋण चुक्ता गर्ने । अन्ततःखराब ऋणमा परिणत भई सहकारीलाई नै क्षति पुगेको देखिन्छ ।

आकर्षक व्याज दरको प्रलोभन् :
सञ्चालकले आफ्ना सदस्यलाई अरु संस्थाले भन्दा बढि व्याज दिने प्रलोभनमा बचत गर्न पोत्साहन गर्छन । तर, यथार्थमा भने नुसारको व्याज दर दिन नसकिने भैसकेको हुन्छ ।

यस अवस्थामा सँस्थागत विश्वासको अभाव भई नकारात्मक असर परिसकेको हुन्छ र संस्था विगठनमा सहयोग पुग्दछ ।

अनुत्पादक क्षेत्रमा ऋण लागानी :
लगानी गर्ने ऋण कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराले ठूलो अर्थ राख्दछ । उत्पादन हुने क्षेत्रमा लगानी हुँदा त्यसबाट आम्दानी भई समयमा किस्ता तिर्न सजिलो हुनका साथै चुक्ता गर्न समेत सजिलो हुन्छ ।

तर अनुत्पादक क्षेत्रमा गरिएको लगानीले यो कुरा संभव हुँदैन । त्यसैले अनुत्पादक क्षेत्रमा गरिने लगानीलाई पनि सँस्था कमजोर बनाउने कारकको रुपमा लिइन्छ ।

लेखा सुपरिवेक्षण समतिको भूमिका :
संस्थमा रहेको लेखा समितिको भूमिकाले पनि संस्थालाई विकास गर्न ठूलो सहयोग पुगेको हुन्छ । समय समयमा सँस्थाको आय व्ययको स्थिति बुझ्ने, ऋण लगानी कुन कुन क्षेत्रमा भैरहेको छ,लेखाजोखा गर्ने र काम अनुसारको पृष्ठपोषण दिने जस्ता कार्यले संस्थालाई बलियो बनाउन सहयोग पुग्दछ ।

सेवा भन्दा नाफालाई प्रोत्साहन् :
सहकारी सदस्यको सेवालाई भन्दा पनि कसरी बढि नाफा गर्न सकिन्छ भन्ने अभिप्रायले जव ऋण लगानी हुन लाग्दछ । विस्तारै सहकारीको विश्वस्नियतामाथि प्रश्न उब्जन सुरु हुन्छ ।

एकातिर शेयर सदस्यको विश्वास जित्न नसक्नु र अकोतर्फ नाफाको उद्देश्य अनुरुप नाफा हुन नसक्दा सहकारीमा संकट उत्पन्न हुन पुग्दछ ।

वित्तीय साक्षरता :
वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अहम् भूमिका रहेको हुन्छ । ऋण के का लागि लिने, कसरी त्यसलाई परिचालन गरी उत्पादनमा लगाई भूक्तानी गर्ने, भन्ने जस्ता कुराको अहम् भूमिका हुन्छ ।

सहकारीको अवस्थालाई हेर्दा अधिकांश संस्थाले वित्तीय साक्षरतालाई नै बिर्सिएर ऋण लागानी गरेको पाइन्छ । यसको परिणाम सम्बन्धित ऋणीले ब्याज र किस्ता तिर्न नसक्दा संस्थालाई नै क्षति हुन पुग्दछ ।

वित्तीय विवरण र तथ्यांकको अध्यावधिकता :
संस्थाको वित्तीय अवस्था के कसरी चलेको छ,दैनिक खर्च तथा आम्दानीको अवस्था के कस्तो छ, लगानी र असुलीको अवस्था कस्तो छ भन्ने जस्ता कुराको अभिलेख दैनिक रुपमा राख्नु पर्ने हुन्छ ।

संस्थामा हुने सम्पूर्ण कारोवारको अध्यावधिक हुन नसक्दा हिसाब गोल मटोल भई अन्त्यमा क्षति पुग्न सक्दछ ।

सम्बन्धित निकायमा विवरण पेश नहुनु :
सहकारी संस्थासँग सरोकार राख्ने नियामक निकायले समय समयमा विभिन्न सूचनाहरुको माग गरेको हुन्छ । यसरी माग गरिने सूचनामा संस्थाको भविष्य समेत गासिएको हुन्छ ।

तर माग गरे अनुसारको सूचना संवन्धित निकायमा तोकिएको समयमा पेश हुन नसक्दा पनि संस्थाले गर्नुपर्ने जिम्मेवारी छुटेका हुन सक्छन् र थाहा नै नभई एक्कासी सँस्थागत क्षति हुन सक्दछ ।

असुरक्षित कर्जा प्रवाह :
कर्जा पवाहा गर्दा आफू सुरक्षित भएर मात्र गर्नुपर्ने हो । तर यसो लगर्दा पछि सँस्थालाई नै समस्या परेको पाइन्छ ।

खास गरी कर्जा वापत राखिने कमसल धितोको कारण ऋणीले कर्जा र सो को व्याज समेत नतिर्दा सँस्थामा समस्या उत्पन्न भई विश्वसनियतामा संकट परेको देखिन्छ ।

पुँजीगत कोष :
ऋण लगानी गर्दा अधिकांश संस्थाले आफूसँग भएको पुँजीगत कोषलाई ध्यानै नदिई लगानी गरेको पाइन्छ । आफूसँग के कति पुँजी छ ।

त्यसको परिचालन कहाँकहाँ कसरी गर्ने भन्ने कुराको मसिनोसँग विश्लेषण र लेखाजोखा हुनु अपरिहार्य छ । यसो नभएमा कहाँ कसरी पुँजीलाई परिचालन गर्ने भन्नेमा अन्यौलता पैदा भई समस्या पर्ने देखिन्छ ।

अस्वस्थ्य प्रतिस्पर्धा :
सिद्धान्त अनुसार एक सहकारीले अर्को सहकारीसँग सहयोग, सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने हो तर व्यवहारमा यस्तो कुरा विरलै देख्न पाइन्छ ।

एकले अर्को भन्दा राम्रो गर्ने नाममा सदस्यलाई हुनै नसक्ने आश्वासन दिेने, होच्याउने र आफू मात्र ठीक भएको वकालत गर्ने जस्ता कार्यले सँस्थालाई फाइदा भन्दा बढि घाटा नै हुने गर्दछ ।

कार्यक्षेत्र र कारोवार :
प्रत्येक संस्थाको आफूले कारोबार गर्ने भौगोलिक क्षेत्र किटान गरिएको हुन्छ । कहिलेकाही सञ्चालकले यसको महत्वलाई नबुझी वा बुझपचाई तोकिएको क्षेत्र भन्दा बाहिर गई कारोवार गर्दा संस्थामाथि नै शंकट उत्पन्न हुन पुग्दछ र ठूलो नोक्सानी व्यहोर्नु पर्दछ ।

यसरी यहाँ उल्लेखित कुरालाई कुनै विशेष शुत्रको रुपमा बुभियो भने पुन अर्को गल्ती हुन सक्दछ । माथिका कुराहरु सर्सर्ती हेर्दा सतहमा देखिएका मात्र हुन् ।

सहकारीको समस्यालाई गहिरोसँग केलाउने हो भने अझ थुप्रै कुराहरु कमजोरीको रुपमा देखा पर्न सक्दछन् । एकातिर सहकारी सँस्थाको अपरिहार्य आवस्यकता र अर्कोतर्फ यस क्षेत्रमा देखिएका कमजोरीलाई कसरी आम सरोकारवालासँग छलफल गराई कम गर्न सकिन्छ भन्ने नै यस लेखको अभिपाय हो ।

 

 

प्रकाशित मितिः बिहिबार, असार २१, २०८०     2:25:32 PM  |