16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

ढकेरीमा समावेशी महिला समुह : पञ्चेबाजा बजाउँदै थारु महिला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १७, २०८०  

शुभाकर विश्वकर्मा
पञ्चैबाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समूह हो । यो बाजा प्रायः नेपालको पहाडी भेकमा बजाइन्छ । पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्छन् । पञ्चेबाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो ।

यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । जस्तैः विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा आदि ।
परम्परागतरूपमा दमाई समुदायले मात्र यो बाजा बजाउने समाजले चित्रण गरेको छ । तर, पनि पछिल्लो समय विभिन्न समुदायका पुरुष र महिलाले पनि व्यावसायिकरुपमा बजाउन थालेका छन् । यो सकारात्मक सन्देश हो । यसको एउटा उदाहरण हुन्, ‘राप्तीसोनारी गाउँपालिका–९ बुच्चापुरकी मिनाकुमारी थारु (थारुनी) ।’

थारु समुदायमा पञ्चेबाजा प्रयोग गरिँदैन । तर, उनले गाउँका महिलाहरुसँग मिलेर पञ्चेबाजा बजाउन थालेकी छिन् । यसले एकअर्काको धार्मिक सहिष्णुता कायम गर्ने उनको भनाइ छ ।
यो अवसर उनलाई कसरी मिल्यो त, ‘जेठ मसान्ततिर घरायससी कामले उनी जंगल गएकी थिइन् । उनीसँगै गाउँका अन्य महिला पनि थिए ।

संयोग, एक वर्षपछि मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले दाउरा, स्याउलाका लागि जंगल खुला गरेको थियो । दिउँसो नास्ता खाने समय भयो । प्रसंगवस्, गाउँमा महिलाका लागि पञ्चेबाजा बजाउन सिकाउने तालिम आएको कुरा उठ्यो । तालिम हुन थालेको कुरा पुष्पा परियारले व्यक्त गरिन् ।’ यो कुराले मिनालाई उत्सुकता जगायो ।

साथीहरुसँग तालिमका विषयमा उनले प्रश्न गरिन्, ‘म त थारु समुदायकी । मैले यो पञ्चेबाजा बजाउने तालिम लिन मिल्छ की मिल्दैन ?’ उनको प्रश्नमा पुष्पाले भनिन्, ‘किन नमिल्ने । सबै समुदायका महिलालाई समेट्ने भनिएको छ । सबैले सिक्नु पर्छ ।’
घर फर्किएर मिनाले श्रीमान्लाई उक्त कुराको जानकारी गराइन् । पञ्चेबाजा बजाउने इच्छा भएको उनले श्रीमान्लाई भनिन् । गाउँकै जनता माविका शिक्षकसमेत रहेका मिनाका श्रीमान् मनविरले श्रीमतीको इच्छालाई कुण्डित गर्ने कुरै हुँदैन्थ्यो । उनले सहजै श्रीमती मिनाकोे प्रस्ताव स्वीकारे । खुसीले गजगज भएकी उनले १५ दिने पञ्चेबाजा बजाउने तालिमसमेत लिइन् ।


मिना समुदायमा जन्मिइन् । थारु कै रहनसहन, संस्कृतिसँगै हुर्किइन्, बढिन् । बिहेवारी भयो । अहिले त एक छोरीकी आमासमेत भइसकेकी छन्, उनी । श्रीमान् भने जागिरे छन् । उनीहरु मध्यम आयस्तर भएका परिवार हुन् । माध्यमिक तहसम्म अध्ययन पूरा गरेकी मिना भने गृहिणी हुन् । मिनालाई साथैदेखि नाचगानमा भने रुचि थियो ।

‘म सानैदेखि नाच्न, गाउन मन पराउने, स्कुलमा पढ्दा नाचिन्थ्यो पनि,’ उनले भनिन्, ‘पछि विवाह भएपछि खास्सै सक्रिय हुन पाइएन्ँ । गाउँमा तालिम आएको थाहा पाएपछि मलाई बजाउनुपर्छ भन्ने लाग्यो । त्यसैले तालिमा सहभागी भएँ ।’


आफू थारु समुदायको भए पनि अन्य समुदायको प्रचलित बाजा बजाउने तालिम र सीप सिक्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताइन् । १५ दिनको तालिमबाट उनले धेरै कुरा सिकेकी छन् । अब भने उनी ‘दमाहा बादक’ भएकी छन् ।


‘नयाँ पुस्ताले बाजा बजाउने काम छोड्दै गए त्यसैले हामीले यसको संरक्षण गर्ने दायित्व ठानेका छौं, काम सिकेपछि रोजगार पनि हुने, संस्कृतिको संरक्षण पनि हुने,’

उनले भनिन्, ‘के ब्राह्मण, के थारु, के दलित हामी सबै जात जातिका महिलाहरुले बाजा बजाउन सिक्ने र स्वरोजगार बन्ने रहरका साथ यसमा लागेका हौं ।’ ‘हामी महिला हौं भनेर पछि पर्न चाहन्नौं, बाजा बजाउन सिकेर पुरुषले सरह काम र दाम खोजेका छौं,’ उनी भन्छिन् ।

प्रकाशित मितिः आइतवार, असार १७, २०८०     11:02:31 AM  |