सरस्वती ढकाल
नेपाली पत्रकारिताको ऐतिहासिक पक्षबारे विज्ञ र अध्येताहरूबीच मतैक्यता पाइँदैन । सरकारी स्वामित्वको गोरखापत्र स्थापना (१९५८) को दिनलाई पत्रकारिता दिवसका रूपमा मनाउने गरिएको छ । सुधासागर १९५५ मा प्रकाशन भइसकेकाले दिवसका बारेमा स्वाभाविक विवाद छ । यसभन्दा अघि पनि प्रवासमा रहेका नेपालीको प्रयासबाट नेपाली पत्रकारिताको जग बसेको मान्ने गरिन्छ । जसमा ‘गोरखा भारत जीवन’ र त्यसपछि ‘गोर्खे खबर कागत’को स्थापनालाई पनि नेपाली पत्रकारिताको मानक मान्ने गरिन्छ । यसरी १ सय २५ वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारिता अनेकौं आरोह–अवरोह झेल्दै अहिलेको अवस्थामा आइपुगेको छ ।
संख्यात्मक रूपमा हेर्दा नेपाली पत्रकारिताको विकास लोभलाग्दो छ भने गुणात्मक पक्षमा अझै धेरै सुधारको आवश्यकता देखिन्छ ।
पत्रकारिताको क्रमिक विकाससँगै विधागत पत्रकारिताले पनि प्रश्रय पाएको छ । विधागत पत्रकारिताको विकास विभिन्न सञ्चारमाध्यममा विधागत रिपोर्टिङ गर्ने पत्रकारहरूको क्षमता विकाससँगै भएको मान्न सकिन्छ । विधागत रिपोर्टरहरूले ज्ञानको आधार बनाएका हुन्छन् र उनीहरू विषयवस्तुसँग परिचित हुन्छन्, फलतः विधागत पत्रकारिता फैलँदै जाने गरेको छ । विधागत रिपोर्टरहरूलाई सीधा तथ्य रिपोर्टिङका अतिरिक्त अन्तर्दृष्टि र टिप्पणी गर्न सहज हुन्छ । सामान्यतया विधागत रिपोर्टरले उनीहरूले बारम्बार भ्रमण गर्ने स्रोतहरूसँग पनि सम्बन्ध निर्माण गर्नेछन्, जसले पत्रकार र उनीहरूको सूचनाको स्रोतबीच विश्वास निर्माण गर्न सहज हुन्छ । त्यसो त पत्रकारहरू उनीहरूले रिपोर्टिङ गर्ने विधागतमा लगानी गर्छन् र त्यो विधागतमा निपुणता प्राप्त गर्नका लागि मेहनती हुन्छन् भन्ने विभिन्न खोजमूलक समाचारले देखाएका छन् ।
मिडिया समाजशास्त्रीहरूका अनुसार, रिपोर्टरहरूलाई कभर स्टोरी दिन सीमित समय दिइएका कारण विधागत रिपोर्टिङ हुन्छ । यसैले विधागत रिपोर्टिङका फाइदा र बेफाइदा दुवै छन् । विधागत रिपोर्टरले रिपोर्ट गर्दा भेट्ने प्रत्येक व्यक्तिबाट जानकारी संकलन गर्छ । लेखका लागि कुनै पनि नयाँ जानकारी प्राप्त गर्न तिनीहरूले नियमित रूपमा कल, भ्रमण र इमेल स्रोतहरू पनि प्राप्त गरिरहेका हुन्छन् । जब रिपोर्टरहरूको एक विशिष्ट विधागतमा अनुभव छ, उनीहरू ज्ञान र स्रोत दुवै प्राप्त गर्न सक्षम छन् भने विधागतसँग सम्बन्धित नयाँ स्टोरीहरूलाई नेतृत्व गर्नका लागि सक्षम हुन्छन् । विधागत पत्रकारहरूलाई पत्रकारको रूपमा आफ्नो भूमिका परिभाषित गर्न र न्यूजरुमभित्रका कथाहरूको ‘ओभरल्याप’बाट बच्न मद्दत पुग्नेछ ।
विधागत शब्द बिट रिपोर्टिङबाट आएको हो र बिट शब्द आफैंमा नियमित मार्ग वा बानी मार्गको अर्थमा आएको हो । रिपोर्टरहरूलाई रिपोर्टिङका लागि तोकिएको विषय हो । रिपोर्टरको भूमिका समाचार दिने, आफ्नो दृष्टिकोण र अवलोकनअनुसार कथा देखाउने, पाठकलाई अन्तर्दृष्टि दिने, त्यसमा टिप्पणी गर्ने र तोकिएको अवधिमा मुद्दाहरूको रिपोर्ट पेस गर्ने हो । त्यसो त विधागत रिपोर्टिङलाई प्रोत्साहित गर्न धेरै पुरस्कार पनि स्थापना गरिएका छन् । नेपालको हकमा प्रेस काउन्सिलले पनि विधागत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ भने सरकारी तथा गैरसरकारी र निजी स्तरबाट पनि यस्ता पुरस्कार प्रदान हुँदै आएका छन् । संसारमा धेरै संस्थाले विधागत रिपोर्टिङका लागि पुरस्कार प्रदान गर्छन् ।
साहित्यिक पत्रकारिताबाट सुरुवात
नेपालमा विधागत पत्रकारिताको इतिहास केलाउने हो भने यसको सुरुवात साहित्यिक पत्रकारिताबाट भएको मान्न सकिन्छ । त्यसो त नेपाली पत्रकारितालाई डोर्याउने श्रेय पनि साहित्यिक पत्रकारितालाई नै जान्छ । यसर्थ साहित्यिक पत्रकारितालाई विधागत पत्रकारिताको ढोका खोल्ने श्रेय दिन सकिन्छ । नेपालको पहिलो पत्रिका मानिएको सुधासागर आफैंमा साहित्यिक पत्रिका हो । विश्वव्यापीकरण र भूमण्डलीकरणका कारण विधागत पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएको छ भने कतिपय विधाको उपादेयता पनि कम हुँदै गएको छ । विश्वमा दिनहुँ नयाँ–नयाँ सूचना प्रविधिको विकाससँगै यसमा विषय घटना र परिघटनाहरू देखा परिरहेका हुन्छन् । ती सबैमा विधागत पत्रकारिता सम्भव छ । यसमा लगानीको आवश्यकता छ भने जोखिम र चुनौती पनि त्यत्तिकै छ ।
०४६ पछि नयाँ आयाम
नेपाली पत्रकारिताको तीव्र विकास भएको २०४६ सालपछि अन्य विधागत पत्रकारितामा पनि नयाँ आयाम थपेको मान्न सकिन्छ । राजनीतिक, सामाजिक, साहित्यिक, खेलकुद, आर्थिकजस्ता मूल विषयमात्र नभई कार्टुन, फोटो, बालबालिका, कानुन, स्थानीय तह, धर्म तथा दर्शन, पूर्वाधार विकास, सहकारी, संगीत र मनोरञ्जन, विज्ञान प्रविधि, सूचना प्रविधि, स्वास्थ्य, वातावरण, कृषि, पर्यटन, अपराध, ऊर्जा, शिक्षा, लैङ्गिक, ललितकला, वैदेशिक रोजगार, प्रशासनिक, अपांगता, मानवअधिकार, संसदीय मामिलालगायतको विधागत पत्रकारिता अहिले नेपालमा चलनचल्तीमा छन् । यी विधाको संस्थागत विकासका लागि सम्बन्धित क्षेत्रका पत्रकारहरू नै क्रियाशील छन् भने यो अभियानकै रूपमा ५० को दशकदेखि हुँदै आएको पनि छ । यसले एकातर्फ विधागत पत्रकारिताको उन्नयन र उत्खननसँगै पत्रकारहरूको क्षमता विकास र पेसागत सुरक्षाका क्षेत्रमा आयाम थपेको छ ।
नेपालमा पछिल्लो समय अनलाइन पत्रकारिता फस्टाउँदो क्रममा छ । अनलाइन माध्यममा पनि विधागत पत्रकारिताको विकास तीव्र गतिमा भइरहेको देखिन्छ । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक पत्रकारितासहित एफएम रेडियो, टिभीलगायतका सञ्चारमाध्यममा विधागत पत्रकारिताले स्थान पाइरहेको छ । फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा पनि विधागत पत्रकारिताका आफ्नै पाठक र दर्शक रहेको अवस्था छ । यसले पनि विधागत पत्रकारितालाई फस्टाउन मद्दत पुगेको छ र पाठक संख्यामा पनि बढोत्तरी भएको छ । पछिल्लो समय आम जनमानसमा राजनीतिक समाचारप्रति वितृष्णा बढ्दो क्रममा छ र यसले अन्य विधाका समाचारप्रति आकर्षण बढाएको छ । यसरी अहिले विधागत पत्रकारिताले व्यापकता लिएको छ । यसलाई व्यवस्थित, स्वस्थ, वस्तुनिष्ठ र मर्यादित तवरले अघि बढाउन जरुरी देखिन्छ ।
विधागत पत्रकारिताको संस्थागत विकास
नेपालमा विधागत पत्रकारिताको संस्थागत विकासका लागि पत्रकारहरूले नै स्वस्फूर्त रूपमा संघसंस्था स्थापना गरेर सम्बन्धित विधाका विविध पक्षबारे सामूहिक रूपमा उत्खननको पहल पनि गरिरहेका छन् । विधागत पत्रकारिताका संघसंस्थाहरूमा नेपाल वातावरण पत्रकार समूह, नेपाल साहित्यिक पत्रकार संघ, नेपाल आर्थिक पत्रकार समाज, नेपाल आर्थिक पत्रकार संघ, नेपाल ललितकला पत्रकार संघ, चलचित्र पत्रकार संघ, नेपाल खेलकुद पत्रकार मञ्च, वैदेशिक रोजगार पत्रकार समाज, शिक्षा पत्रकार समूह, शिक्षा पत्रकार सञ्जाल, राष्ट्रिय पर्यटन पत्रकार संघ नेपाल, पर्यटन पत्रकार संघ नेपाल, स्वास्थ्य पत्रकार समाज, कृषि पत्रकार समाज, नेपाल कानुन पत्रकार मञ्च, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली खेलकुद पत्रकार संघलगायत रहेका छन् । यस्तै, कार्टुनिस्ट क्लब नेपाल, कृषि सञ्चार प्रतिष्ठान, सहकारी पत्रकार समाज, प्रविधि पत्रकार समाज मञ्च, श्रमजीवी पत्रकार संघ, पूर्वाधार पत्रकार समाज, नेपाल फोरम अफ साइन्स जर्नालिस्ट, विकास पत्रकार मञ्चलगायतका विधागत पत्रकारितामा आबद्ध संघसंस्थाहरू रहेका छन् । यस प्रयत्नले विधागत पत्रकारितालाई स्थापित र व्यवस्थित गराउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
पत्रकारहरूबीच सहकार्यको भावना बढाउन र सामूहिक प्रयासमा क्षमता अभिवृद्धिमा विधागत पत्रकारिताले सकारात्मक प्रभाव पार्छ । यस्तै, पत्रकारहरूको पेसागत सुरक्षाका निमित्त पनि यस्ता संघसंस्थाहरू उपयोगी हुन सक्छन् । यद्यपि, यस्ता अभ्यासबाट पत्रकारहरूबीच समाचारमा कार्टेलिङ र सिन्डिकेटको अभ्यासको जोखिम भने रहन सक्छ । अर्कातर्फ पत्रकारहरूमा सिर्जनशीलताको कमी आउने र रेडिमेड समाचारका कारण पत्रकारिता नै कमजोर हुने जोखिम रहन्छ । यसैले विधागत पत्रकारिताका संघसंस्थाका खराबी र कमजोरीबाट जोगिएर पत्रकारहरू अघि बढ्ने र यसलाई अवसरका रूपमा मात्र लिने गर्नु उचित हुन सक्छ ।
नीतिगत सम्बोधन
नेपालमा फस्टाउँदो विधागत पत्रकारितालाई व्यवस्थित गर्दै समाज र समग्र पत्रकारिताको विकासलाई अघि बढाउन नियामकीय निकायबाट नीतिगत रूपमा सम्बोधन गरिनु आवश्यक हुन्छ । विधागत पत्रकारिताको विकासका लागि नीति निर्माण अपरिहार्य रहेको देखिएको छ । दक्ष विधागत पत्रकार उत्पादनका लागि तालिम एवम् प्रशिक्षणको आवश्यकता रहेकाले आमसञ्चार प्रतिष्ठानलगायतका पूर्वाधारहरू यसैअन्तर्गत आवश्यक देखिन्छ ।
नियामकीय निकायहरूबाट विधागत पत्रकारिता मूल्यांकन मापदण्ड अलग्गै बनाइनुुपर्ने आवश्यकता पनि उत्तिकै देखिएको छ । पत्रकारितासँग सम्बन्धित सरकारी निकायमा फरक–फरक विधागत पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने आवश्यकता छ । पत्रकारिता विषय अध्ययन–अध्यापन गराइने विश्वविद्यालय र क्याम्पसलगायतका शैक्षिक केन्द्रहरूमा विधागत पत्रकारितालाई पनि पाठ्यक्रममा समावेश गरिनुपर्ने देखिएको छ । यसले दक्ष जनशक्ति अभावको समस्या सम्बोधन हुनेछ । पत्रकारहरूले पनि विधागत पत्रकारिताको खोज–अनुसन्धानमा जोड दिनुपर्ने बेला भएको देखिन्छ ।
यसका निमित्त संघसंस्थाहरूले विधागत क्षेत्रका विषयमा अध्ययन–अनुसन्धान गरिनु आवश्यक छ भने नियमित रूपमा विधागत पत्रकारिताबारे छलफल, गोष्ठी र अन्तर्कियालगायतका कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ । पत्रकारिता क्षेत्रको विशिष्ट निकाय सूचना तथा प्रसारण विभागले सबै प्रकारका पत्रकारलाई समान रूपमा प्रदान गर्दै आएको पत्रकार परिचयपत्रलाई पनि विविधीकरण गर्नु आवश्यक छ । यसैले विधागत पत्रकारको हकमा भने विधागत पत्रकार परिचय खुल्ने गरी ‘विधागत पत्रकार परिचयपत्र’ प्रदान गर्ने व्यवस्था गर्न सकेमा यसबाट विशिष्टीकृत पत्रकारिताका लागि बल पुग्नेछ ।
सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिलले विधागत पत्रपत्रिकाको वितरण र अभिलेखीकरण गर्नुपर्ने देखिन्छ । विधागत पत्रकारिताको शुद्धता र प्रभावकारितालाई ध्यान दिई भाषिक, पारिभाषिक र प्राविधिक शब्दावलीको अध्ययनमा जोड दिनुपर्ने देखिन्छ । यसका लागि विधागत पत्रकारितासम्बन्धी पुस्तक र हातेकिताब प्रकाशनमा जोड दिनुपर्छ । अर्कातर्फ संघीय र प्रदेश सरकारले पनि विधागत पत्रकारिता प्रवद्र्धन तथा पुरस्कार कोष स्थापना गर्दा प्रभावकारी नै हुन्छ ।
विधागत पत्रकारिताको अबको बाटो
नेपालमा फस्टाउँदो अवस्थामा रहेको विधागत पत्रकारिताको आगामी दिन चुनौतीरहित भने छैनन् । पत्रकारिता अध्ययन–अध्यापन गराउने विश्वविद्यालयहरूमा विद्यार्थीको घट्दो संख्याका कारण समग्र पत्रकारिता क्षेत्रमा चुनौती थपेको अवस्थामा विधागत पत्रकारिता झनै पेचिलो बन्न सक्ने देखिन्छ । पत्रकारिताप्रति रुचि बढाएर यसमा विशिष्टीकृत अर्थात् विधागत क्षेत्रमा पत्रकारहरूलाई आकर्षित गराउन विशेष कार्यक्रम आवश्यक छ । मूलतः पत्रकारहरूको सामाजिक सुरक्षा नै यस समस्याको समाधान गर्ने उपाय हुन सक्छ । किनकि पछिल्लो समय सामाजिक सुरक्षाको अभावकै कारण धेरै पत्रकारले पेसा छाड्ने गरेको दृष्टान्त हाम्रासामु रहेका छन् । यसैले पेसागत पलायन रोक्न विशेष कार्यक्रम जरुरी छ । त्यसैगरी पत्रकारको तलब स्केल पनि सम्मानजनक समयसापेक्ष बनाइनु जरुरी देखिन्छ ।
विधागत पत्रकारिताको विकासका लागि दक्षता अभिवृद्धि कार्यक्रमहरू पनि उत्तिकै आवश्यक देखिन्छन् । पत्रकारिताको माध्यम पछिल्लो समय फेरिएर न्यू मिडियातर्फ मोडिएको छ । विधागत पत्रकारिता पनि सञ्चार प्रविधिको पछिल्लो माध्यम अनलाइनमा अभ्यस्त हुने क्रममा छ । अनलाइन माध्यममा पनि विधागत अनलाइनहरू खुल्ने क्रम जारी छ । सूचना तथा प्रसारण विभागको पछिल्लो तथ्यांक (चैत, २०७९) अनुसार हालसम्म ३ हजार ९ सय ३४ अनलाइन दर्ता भएका छन् भने ३२ हजार २ सय ९२ प्रेस पास वितरण भइसकेको छ ।
यसरी संख्यात्मक रूपमा सञ्चारमाध्यमको विकास र पत्रकार परिचयपत्रको वितरण उत्साहजनक रहे पनि यसमा विधागत पत्रकारिताको अवस्था र यसमा संलग्न पत्रकारको संख्याका बारेमा भने यकिन तथ्यांक राख्न सकिएको छैन । यसले नियमनमा समस्या देखिएको छ भने यसबाट कतिपय अवस्थामा व्यावसायिक स्वार्थ बढाएको छ र समग्रमा पत्रकारिता पनि बदनामीको सिकार भएको छ । यसैले विधागत पत्रकारितालाई अबका दिनमा स्वार्थको द्वन्द्वबाट जोगाएर अघि बढाउने चुनौती रहेको छ ।
–कारोबार दैनिक










प्रतिक्रिया दिनुहोस्