शुभाकर विश्वकर्मा
कोहलपुर, १४ जेठ
२०४६ चैत २६ गते निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भयो । प्रजातन्त्रको पुनर्बहाली भयो । त्यसपछि संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात भयो । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित तत्कालीन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद्समेत भंग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए । तर, २०४६ साल फागुन ७ देखि चैत २६ सम्म जनस्तरबाट निरन्तर आन्दोलन चल्यो । त्योबीचमा पनि पटकपटक आन्दोलन भएका थिए । जनस्तरबाट व्यापक विरोधपछि २०३६ सालमा जनमत संग्रह भयो । त्यतिबेला बहुदल पक्ष पराजित भए । पञ्चायती व्यवस्थालाई जनताले अनुमोदन गरे ।

त्यसपछि पनि विभिन्न आन्दोलन भए । २०४७ मा नेपाल अधिराज्यको संविधान घोषणा भयो । २०४८ वैशाख २९ मा आमनिर्वाचन भयो । नेपालमा जनआन्दोलन २०४६ बाट प्रजातन्त्र पुनस्र्थापना भएपश्चात भएको यो निर्वाचन थियो । नेपालमा आम निर्वाचन सम्पन्न भएकै वर्ष हालको बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना भयो । यो क्याम्पस स्थापनाको पृष्ठभूमि जनतामा विकसित हुँदै गएको जागरणसँग पनि जोडिएको छ ।
२०४८ तिर नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्पस मात्रै थियो । त्यहाँ विद्यार्थी संख्या अध्यधिक थिए । विद्यार्थीको संख्या थेग्न सक्ने अवस्था पनि थिएन । त्यति नै बेला क्याम्पसका सहप्रध्यापक वेदनिधि शर्माको अगुवाइ बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना गरियो । उनको नेतृत्वमा सञ्चालन समिति बनाइयो । उनीहरुले आफ्ना शैक्षिक प्रमाणपत्रहरु क्याम्पस स्थापनाका लागि त्रिविमा धितो राखेका थिए ।
सुरुमा नेपालगन्जको सदरलाइनस्थित सरस्वती कन्या माध्यमिक विद्यालयमा बागेश्वरी बहुमुखी क्याम्पसको विधिवत् स्थापना गरिएको थियो । संस्थापक सञ्चालक समितिमा १४ जना थिए । त्यसको शर्मा अध्यक्ष भए । चोलराज शर्मा सचिव थिए ।

नेपालगन्जमा क्याम्पस स्थापनाको एक वर्षपछि मात्रै कोहलपुरमा उक्त क्याम्पस स्थानान्तरण गर्ने प्रयास थालियो । त्यतिबेला तत्कालीन कोहलपुर गाविसमा उच्च शिक्षाका लागि शिक्षण संस्था नै थिएन । नेपालगन्जबाट कोहलपुरमा स्थानान्तरण गर्न तत्कालीन जिविस सभापति ओमजंग राणा, कोहलपुर गाविसका अध्यक्ष लुटबहादुर रावत, स्वर्गीय हरिबहादुर रावत, नारायण सिग्देल, ज्ञानेन्द्र गिरीलगायत समाजसेवी तथा शिक्षाप्रेमीहरुको भूमिका अहम रह्यो ।

यो क्याम्पसलाई कोहलपुरमा ल्याएर संस्थागत गर्नका लागि बलराम शर्मा, डा. अरुण कोइराला, कर्णबहादुर थापा, नरेन्द्र पौडेल र होमप्रकाश सुवेदीलगायतको पनि महŒवपूर्ण भूमिका छ ।
क्याम्पस नेपालगन्जबाट कोहलपुर स्थानान्तरण भए पनि विकास समिति गठन गरियो । त्यसपछि पहिलोपटक त्रिभुवन मावि कोहलपुरमा अध्ययपन सुरु भयो । आर्थिक संकलन गरेर उक्त विद्यालयकै प्रागंणमा पाँच कोठे भवन निर्माण कार्य सम्पन्न भयो ।
११ सदस्यीय विकास समिति गठन भयो । अध्यक्ष तत्कालीन जिविस सभापति ओमजंग राणा थिए । क्याम्पसको विकासका लागि तत्कालीन नगर विकास समितिका अध्यक्ष नरबहादुर थापाको पनि भूमिका रह्यो । नगर विकास समितिको एक लाख रुपैयाँ सहयोगमा पहिलोपटक पुस्तकालय स्थापना गरिएको थियो । यस्तै नगर विकास समितिले ३२ हजार मूल्य बराबरको पाठ्यपुस्तकका लागि सहयोग ग¥यो ।
त्यतिबेलासम्म क्याम्पसको आफ्नो छुट्टै जग्गा र भौतिक संरचना थिएन । त्यसका लागि कोहलपुरस्थित समाजसेवी, शिक्षाप्रेमी र राजनीतिक दलले सक्रियता बढाए । पछि सर्वपक्षीय सहमतिमा नगर विकास समितिले हाल क्याम्पस रहेको स्थानमा जग्गा उपलब्ध गरायो ।

यस ठाउँको अर्को विशेषता नगर विकास समितिले दिएको जग्गासँग सटेको झन्डै ८.०० बिगाहा जग्गा ऐलानी, ८ नम्बर र जंगलादअन्तर्गत पर्ने भएको र उक्त जग्गालाई समेत क्याम्पसले आफ्नो बनाउन सजिलो हुने सम्भावनाका बीच नगर विकास समितिले क्याम्पसलाई जवि००–०३–१२ जग्गा निःशुल्क उपलब्ध गरायो । नेपाल सरकारलाई राजस्व तिर्न नपर्ने गरी लालपूर्जा प्रदान गरेको थियो, नगर विकास समितिले ।

त्यतिबेला क्याम्पसमा आवश्यकताअनुसार भौतिक संरचना थिएन । आर्थिक अवस्था दयनीय नै थियो । यहाँका समाजसेवीहरुले सोको लागि आर्थिक संकलन गर्न सुरु गरे । मालपोतबाट उठ्ने एक प्रतिशत रकम क्याम्पसका नाममा गराउन सर्वप्रथम कोहलपुर गाविसले सिफारिस गरिदियो ।
यसमा तत्कालीन गाविस अध्यक्ष लुटबहादुर रावतको भूमिका महŒवपूर्ण छ । कोहलपुर गाविसले सो सिफारिस गरेपछि लगत्तै नजिकका गाविसहरु बनकटुवा, गनापुर, चिसापानी, शमशेरगन्ज, ढकेरी र नौबस्ता गरी नौवटा गाविसबाट राजस्वको एक प्रतिशत रकम क्याम्पसको नाममा उठ्न सुरु भयो ।
स्थापनाको सात वर्षपछि सम्बन्धन प्राप्त
बागेश्वरी बहुमुखी क्याम्पसले स्थापनाको ७ वर्षपछि २०५५ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको हो । त्यतिबेला त्रिविले स्नातक तहमा मानविकी संकाय अध्यापनका लागि सम्बन्धन दिएको थियो । त्यसपछि मानविकी संकाय अध्ययनका लागि धेरै विद्यार्थी भर्ना भएका थिए ।
त्रिविबाट सम्बन्धन प्राप्त गरेको दुई वर्षपछि २०५७ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ को स्वकृति लियो, क्याम्पसले । त्यसपछि पनि त कक्षा ११ मा भर्ना हुने विद्यार्थीको ओइरो नै लागेको क्याम्पस प्रशासन बताउँछ ।

यसैगरी २०६१ सालमा स्नातक तहमा शिक्षाशास्त्र संकाय सञ्चालन गरियो । २०६२ सालमा आएर स्नातक तहमा व्यवस्थापन संकायको समेत स्वीकृति त्रिविले दिएको थियो । २०६६ सालमा आएर स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय सञ्चालनका लागि त्रिविले नै स्वीकृति दिएको थियो ।
क्याम्पस सञ्चालनका लागि २०६६ सालमा महायज्ञ सञ्चालन गरिएको थियो ।
त्यसको उद्देश्यअनुसार २०६९ सालमा सिटिइभिटीमा ल्याब टेक्नेसियन र सिभिल ओभरसियर गरी दुईवटा विषयको प्रस्तावना पेस गरियो । २०७३ सालमा सिभिल ओभरसियरको सम्भाव्यता अध्ययन गरिएको थियो ।
बागेश्वरी बहुमुखी क्याम्पसलाई २०७१ मंसीर ५ गतेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटको बैठकले आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो । उक्त कार्यका लागि नेपाल सरकारको मन्त्रिपरिषद्को २०७४ असोज ४ गतेको बैठकले दरबन्दी स्वीकृत गरेको हो । यस्तै २०७४ माघ २८ गते मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच एलओयु भइसकेको छ ।
क्याम्पस सञ्चालक समिति : विगतदेखि वर्तमानसम्म
यस क्याम्पसको पहिलो सञ्चाल समिति (२०४८) मा अध्यक्ष वेदनिधि शर्मा हुन् । उनी क्याम्पसका संस्थापकसमेत हुन् । उक्त समिति ११ सदस्यीय थियो । पछि क्याम्पस समितिको अध्यक्ष ओम जंग राणा भए । उक्त समिति १० सदस्यीय थियो । २०६१ सालमा कोहलपुरका समाजसेवी तथा शिक्षासेवी हरिप्रसाद रावतको अध्यक्षतामा २२ सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो ।

रावतकै अध्यक्षतामा २०६५ सालमा २६ सदस्यीय सञ्चालन समिति गठन भयो । २०६८ सालमा सञ्चालन समितिको नेतृत्व सम्हाल्न आइपुगे, होमप्रकाश सुवेदी । उनी पनि क्याम्पस स्थापनामा महŒवपूर्ण भूमिका खेल्नेहरुमध्येका एक थिए ।
२०७१ सालमा पुनः सुवेदीकै अध्यक्षतामा ३१ सदस्यीय सञ्चालन समिति गठन गरिएको थियो । उनीपछि नरेन्द्र न्यौपानेले पनि बागेश्वरी बहुमुखी क्याम्पसको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन् । अहिलेसम्म चारजनाले सञ्चालन समितिको नेतृत्व सम्हाले ।

यस क्याम्पसमा स्ववियु सभापतिका रुपमा ६ जनाले नेतृत्व गरिसकेका छन् । बागेश्वरी बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति (संस्थापक) अब्दुल हुनेन खाँ २०६० हुन् । २०६३ मा प्रकाशसिग्देल सभापति निर्वाचिन भए । २०६६ मा सूर्यबहादुर रोकाय र २०७१ मा दिनेश केसी स्ववियु सभापति भए । अहिले देवेन्द्र बुढा स्ववियु सभापतिका रुपमा छन् ।
भौतिक, शैक्षिक व्यवस्थापनका लागि महायज्ञ
२०६६ सालमा क्याम्पसको भौतिक, शैक्षिक व्यवस्थापन एवम् प्राविधिक शिक्षालय र डिग्री भवन निर्माणका लागि श्रीमद्भागवत महापुराण एवम् धनधान्याञ्चल महायज्ञ लगाइएको थियो । उक्त महायज्ञ २०६६ माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको हो ।
महायज्ञमा चार सय ८० जनाले आर्थिक सहयोग गरेका थिए । त्यतिबेलासम्म आर्थिक सहयोग चार लाख ९५ हजार एब सय ६४ रुपैयाँ उठेको थियो । त्योमध्ये दाताबाट प्राप्त तीन लाख ७३ हजार नौ सय ६९ थियो भने सामानवापतको एक लाख २१ हजार एक सय ९५ रुपैयाँ थियो ।









प्रतिक्रिया दिनुहोस्