23 September 2023  |   शनिबार, अशोज ६, २०८०

कोहलपुर : कसरी रहे टोल, गाउँ र बस्तीका नाम ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०८०  

सागर गैरे

हरेक वस्तुको कुनै न कुनै नाम हुन्छ । व्यक्तिको नाम, बस्तुको नाम, स्थानको नाम इत्यादि । कुनै पनि बस्तुको पहिचान त्यही नामले हुन्छ ।
आजको हाम्रो राजधानी काठमाडौँ कुनै बेला नेपाल भनेर चिनिन्थ्यो । काठमाडौँ वरपरका भक्तपुर र ललितपुरलाई भादगाउँ र पाटन भनिन्थ्यो । भारतको चर्चित सहर मुम्बई बम्बै हुँदै पुनः मुम्बई भनिन थालेको छ । कलकत्ता कोलकाता भएको छ । यसो हुनुका कारणहरू छन् ।
भन्न त भनिन्छ– नाममा त्यस्तो के नै छ र ? तर नाममा धेरै कुरा लुकेको हुँदोरहेछ । नाममा नै कथा लुकेको हुन्छ, इतिहास लुकेको हुन्छ, त्यसको भाषा, संस्कृति र सभ्यता लुकेको हुन्छ, पहिचान लुकेको हुन्छ । भाव लुकेको हुन्छ । नाममा धेरैथोक लुकेको हुन्छ ।
यसैगरी कोहलपुरले पनि विभिन्न समयमा विभिन्न नामहरू पाएको छ । त्यसका आफ्नै कथा र इतिहासहरू छन् । भोलि ती बदलिँदै पनि जालान् । हिजो वा आजका यी नामले पक्कै पनि तिनको इतिहास कहनेछन् ।


कोहलपुर पश्चिम नेपालको एउटा सानो सहर हो । यो साविकको मध्यपश्चिम विकास क्षेत्र अर्थात हालको लुम्बिनी प्रदेशअन्तर्गत पर्ने एउटा ग्रामिण सहर हो । यो एउटा विकसित सहर बन्ने सपना बोकेर हिँडिरहेछ ।
व्यक्तिको नाम जुराउँदा पण्डितहरूले घडी, पला, ग्रह, नक्षेत्र हेरेजस्तै विभिन्न ठाउँका नाम रहनुमा पनि विभिन्न कारण लुकेका हुँदारहेछन् । भाषाका आधारमा, भूगोलका आधारमा, संस्कृतिका आधारमा, इतिहासका आधारमा, व्यक्ति वा बस्तुका आधारमा, पहिचानका आधारमा तिनका नामहरू रहेको पाइन्छ ।
कोहलपुर नगरक्षेत्रभित्र सुरूवातमा थारू बस्ती मात्र थिए । भूगोल, संस्कृतिअनुसार तिनका आफ्नै विशिष्ट नाम थिए । ती गाउँका नामका आफ्नैखाले मौलिक अर्थ थिए, छन् । अहिले यहाँका कतिपय स्थानका नाम पनि परिवर्तित भएका छन् । कतिपय पुरानै नामले परिचित छन् । तिनका पनि केही न केही कारण छन् । इतिहास छन् ।
नयाँ बस्तीमा तीनवटा घर भए तीनघरुवा, सात घर भए सतघरुवा नाम राखिन्थ्यो । ऊ कुन ठाउँबाट आएको हो त्यसै ठाउँको नामबाट उसको घरको नाम बन्थ्यो । जस्तो देउखुरबाट आएको देउखुराने । धेरै घर आएका छन् भने उनीहरूको टोलको नाम देउखुरीया हुन्थ्यो ।
उनीहरूमा नामको पछाडि पुर या हवा थप्ने आम प्रचलन देखिन्छ । उनीहरूले कुनै पनि शब्दको सहज उच्चारणका लागि यस्तो गरेको हुन सक्छ । बोलचालीको थेगोकै रूपमा थारूहरूको मुखमा वा झुन्डिएको हुन्छ, जस्तै कुनै ललन नाम गरेको व्यक्तिलाई सम्बोधन गर्नुप¥यो भने ‘रे ललनवा’ भन्छन् ।
उनीहरूले नाम राख्दा कुनै ठाउँको नाम मान्छेको नामबाट, कुनै ठाउँको त्यहाँको भौगोलिक विशेषताको आधारमा राखे होलान् । अहिले कोहलपुर नगरपालिकाभित्र जे जति पुराना बस्ती छन्, ती सबैको नामकरण थारू भाषाबाटै भएको पाइन्छ । समयक्रममा कति नामहरू परिवर्तन हुँदै गए । कति नयाँ नामहरू थपिँदै गए । कोहलपुर बिस्तार हुँदै जाँदा हिजोआज टोलटोलमा नयाँ–नयाँ नामका साइनबोर्ड देख्न सकिन्छ ।
कोहलपुरको पुरानो नाम वनगाउँ थियो रे ! कोहलपुरका सबैभन्दा पाका ठाकुरप्रसाद थारुका अनुसार वनजङ्गलको बीचमा बस्ती बसेको हुनाले मानिसहरू यो बस्तीलाई वनगाउँ भन्थे । वनगाउँमा रहेका थारूहरूले गाउँको पूर्व एउटा शिवमन्दिर बनाएका थिए । जुन अहिले पनि देख्न सकिन्छ । पछि त्यही मन्दिरको नामबाट बस्तीको नाम शिवशङ्करपुर रहन गयो ।
शिवशङ्करपुरमा प्रसस्त मात्रामा तोरी फल्थ्यो । पश्चिम पहाडी जिल्ला (बाजुरा–बझाङ) तिरबाट केही मानिस हिउँदमा शिवशङ्करपुरमा आएर काठको कोल गाड्थे । उनीहरूले कोलमा तोरी पेलाइदिएबापत ज्यालास्वरूप तेल लिन्थे । उनीहरू गर्मी सुरु नहुँदै पहाड उक्लिन्थे । कालान्तरमा शिवशङ्करपुरका थारूहरूले पनि कोल बनाउन सिके ।
वरपर गाउँका मानिस शिवशङ्करपुरमा तेल पेल्न आउन थाले । ‘कोल पेरे चली’ अर्थात ‘कोल पेल्न जाउँ’ भन्दै मानिसहरू तेल पेल्न यो ठाउँमा आउन थाले ।
‘कहाँ जाइटो ?’
‘कोल पेरे ।’
‘कोल पेरे’ भन्दाभन्दै यो ठाउँको नाम नै कोलपुर रहन गएछ । वनगाउँबाट शिवशङ्करपुर र शिवशङ्करपुरबाट कोलपुर बनेको यो ठाउँलाई मानिसहरूले पछि सहजताका लागि कोहलपुरवा भन्न थाले । कालान्तरमा यो शब्द अपभ्रंश हुँदै कोहलपुरमा परिवर्तन भएको छ । प्रायः यहाँका सबै बासिन्दा यो मतसँग सहमत छन् ।
अहिले कोहलपुर नगरपालिका बनेको छ । यसवरपरका साविकका कोहलपुर, रझेना र शमशेरगञ्ज तीनवटा गाविस मिलेर कोहलपुर नगरपालिका बनेको हो । यो नगरमा पनि थुप्रै गाउँ र बस्तीहरू छन् । ती पनि कुनै न कुनै नामले नै सम्बोधित छन् । कतिपय ठाउँका पुराना नाम हराएर नयाँ बनेका छन् भने कतिपय स्थान पुरानै नामले चिनिन्छन् ।
वास्तवमा बस्ती समयको अन्तरालमा जे जति बिस्तार भए पनि पुरानो नामले ती बस्तीको ऐतिहासिक तथ्य बोकेका हुन्छन् । बस्ती जतिसुकै आधुनिक भए पनि बस्तीको पहिलेकै नामले त्यसको सौन्दर्य थामेको हुन्छ ।
कोहलपुर नगरपालिकाभित्र रहेका मुख्य–मुख्य बस्तीहरूको नाम र तिनको अर्थ खोतल्ने प्रयास यो लेखमा गरिएको छ ।
१. तिनघरुवा
कोहलपुर नगरपालिका–४ नम्बर वडामा पर्दछ यो गाउँ । २०२६ सालमा यस ठाउँमा सल्यानको सागिनेबाट मानबहादुर राना, टेकबहादुर बुढा, अलबहादुर रोकाय आएर यहाँ छाप्रा बनाएर बसे । त्यतिबेलासम्म त्यहाँ अरू घर थिएनन् । तीनवटा मात्रै घर भएकाले थारूहरूले त्यो ठाउँको नामकरण गरिदिए ‘तिनघरुवा’ । तिनघरुवा अर्थात तीन घर भएको बस्ती वा गाउँ । यो मूलतः पहाडी बस्ती भए पनि यसले थारू भाषाबाट नाम पायो । आज यो बस्तीमा हजारौँ घर थपिइसक्दा पनि बस्तीको नाम तिनघरुवा नै छ ।
२. चटार
यो गाउँको नामकरणको पनि आफ्नै कथा छ । गाउँको उत्तरपूर्वी दिशामा डुडुवा खोला बगेको छ । कुनैबेला डुडुवा खोला अहिलेजस्तो गहिरो थिएन । वर्षातको समयमा ठूलो बाढी आउँदा गाउँको उत्तर–पश्चिममा पिपरीसम्मको भूभाग जलमग्न हुन्थ्यो । झट्ट हेर्दा ठूलै तालजस्तो देखिन्थ्यो त्यो ठाउँ । थारू भाषामा ताललाई चटिया भनिन्छ । चटियाजस्तै देखिने भएकाले यसलाई सुरुवातमा चटिया भन्न थालियो । पछि यो चटिया हुँदै चटार भयो भन्ने भनाइ छ ।

यो गाउँको नामकरण हुनुमा अर्को भनाइ पनि रहेछ । पहिले गाउँको पूर्वमा मुसलमानले ताजिया सेलाउने गर्थे रे ! ताजिया सेलाउने त्यो डुडुवाकिनारलाई थारूहरु अहिले पनि तजिया घाट भन्छन् । ताजिया हेर्न अरू गाउँबाट मानिसहरू आउने हुँदा गाउँ गुल्जार हुन्थ्यो । थारूहरू गुल्जार ठाउँलाई चटकहिल वा चैनार भन्छन् । उनीहरूबाट यिनै शब्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंस हुँदै गाउँको नाम चेटार हुँदै चटार रहन गएको कतिपयको भनाइ छ ।

यो ठाउँ अहिले कोहलपुर नगरपालिका–१० मा पर्छ । पहिले चटारबाट रामनगर, बैजनाथपुर, भिखारीपुर, पिपरहवा, करियातिपुर, भुजैइगाउँ हुँदै हटारु नेपालगन्ज निक्लिन्थे । विसं १९४२ मा तत्कालीन प्रधानमन्त्री रणोद्दिप सिंहको हत्यापछि नेपालको शासनको बागडोर जंग खलकबाट शमशेर खलकमा स¥यो । उक्त काण्डमा जंगबहादुरका जेठा छोरा र नातिसमेत मारिए । साइँला छोरा पद्मजंग राणा निर्वासित भएर भारतको इलाहाबाद गए ।

चन्द्रशमशेरका पालामा उनीहरुलाई आममाफी दिएर नेपाल फर्किने वातावरण बन्यो । पद्मजंगका छोरा पिताम्बरजंग राणा नेपालगन्ज आए । रामबाग नेपालगन्जमा उनीहरुको भव्य आवास बन्यो । चटारमा उनीहरुको ठूलो मौजा थियो । उनका कतिपय सन्तानहरु चटारमै बस्न थाले । चटार त्यतिबेला यस क्षेत्रको शक्तिकेन्द्र बन्यो । पहिले यस ठाउँका चटार गाउपञ्चायतको कार्यालय, त्रिभुवन मावि, स्वास्थ्य केन्द्र, हुलाक घरलगायतका सरकारी कार्यालय स्थापना भएका थिए ।

३. चप्परगौढी
डुडुवा र रोहिणी खोलाको बीचमा समथर फाँट थियो । वरिपरि खोला र झाडी जङ्गल बीचमा फाँट थियो । थारूहरूको पहिलो बस्ती बस्दा यो फाँट कम उब्जाउ तर पशुचरनका लागि योग्य ठाउँ थियो । थारू भाषामा चप्पर को अर्थ फराकिलोे र गोरहियाको अर्थ पशुको चरन क्षेत्र भन्ने हुन्छ ।
वर्षातमा मैटहवा, बर्दहवा, चन्नहवा, बनकटवादेखिका गयर्वा चप्परगोरहियामा आफ्ना गाईगोरु चराउन ल्याउँथे । यही ठाउँमा उनीहरुले गाईगोरु बाँध्ने ठाँडा पनि बनाएका थिए रे ।
चप्परगोरहिया कालान्तरमा चप्परगोढिया हुँदै अहिले चपरगौढी भएको छ । यो ठाउँ अहिले कोहलपुर–१२ मा पर्छ ।

४.सेमरी
डुडुवा खोलापारि एउटा थारू बस्ती छ । यो बस्ती अहिले भएको भन्दा अझै पूर्व घरौरी भन्ने ठाउँमा थियो । त्यहाँ चोरडाँका र जंगली जनावरको डरले त्यहाँका बासिन्दा केही पूर्व डुडुवाकिनारतिर सरे ।

बस्ती वरपर प्रशस्त सिमलका रूख थिए । सिमलको घारी नै भएकाले थारूहरूले त्यहाँको बस्तीलाई सेमरा भन्न थाले । थारू भाषामा सिमललाई सेमरा भनिन्छ । सिमलका रूखहरू भएकाले सेमरी नामकरण गरिएको त्यो बस्तीलाई हिजोआज सिमरी नामले चिनिन्छ । अहिले त्यहाँ पहाडी समुदायमा मानिसको बाहुल्यता छ । यो कोहलपुर–१३ मा पर्छ ।

५. मन्नापुर
मन्नापुरको पहिलेको नाम बेल डमरिया हो । त्यहाँको भूबनोट अलि फरकखालको थियो । वरपर समथर फाँट थियो । फाँटको बीचमा एउटा ढिस्को थियो । ढिस्कोमा बेलका रूखहरू थिए । गोठालो जाने ग्वालाहरूले नै त्यो ठाउँको नाम बेलडमरिया राखे । थारू भाषामा ठूलो फाँटलाई डमरुवा भनिन्छ ।

त्यहाँ चमार जातिका केही घर थिए । चमारको बस्ती भएकाले थारूहरू चमारपुरवा भन्थे । उनीहरूको बस्ती त्यहाँबाट उठ्यो । त्यहाँ कुवा, जाँतो तथा माटोका खपटा (जुन घर छाउने काममा प्रयोग हुन्छन्) हरू भेटिन्थे ।

पछि–पछि त्यो ठाउँमा सल्यान, दाङ, रुकुम, रोल्पातिरबाट पहाडी समुदायका मानिसहरू झर्दै गए । बस्ती बिस्तार हुँदै गयो । उनीहरूले नै बस्तीको नाम मन्नापुर राखे । मन्नाको अर्थ उब्जाउ हुन्छ । राम्रो उब्जाउ जमिन भएकाले त्यहाँ आउनेहरूले मन्नापुर नाम राखेका रहेछन् । यो अहिले कोहलपुर नगरपालिकाको दुई वडामा विभक्त छ । केही भाग १० नम्बर र केही भाग ८ नम्बर वडामा पर्छ ।

६. भरैया

यस बस्तीको खास नाम भहरैया हो । भहरैयाबाट भरैया भएको हो । भरैयाको उत्तरतिर माटोका थुम्काथुम्की छन् । अग्लोहोचो भूबनोट छ । हाल कोहलपुर–१३ मा पर्ने यो बस्तीमा वर्षातको समयमा पहिरो जान्थ्यो । कुनै पनि चिज माथिबाट तल खस्ने भत्किने प्रक्रियालाई थारू भाषामा ‘भहराइटा’ भनिन्छ ।

त्यहाँ कुवा खन्दा पनि माटो भस्किएर खन्नै सकिँदैनथ्यो रे । माटोको ढिस्को खस्ने भहराउने हुँदा थारूहरूले बस्तीको नाम भहरैया राखे । जुन कालन्तरमा अपभ्रंश हुँदै भरैया भयो ।

७. एकतानगर

कोहलपुर चौराहामा पटक–पटक बस्ती बस्यो । पटकपटक बस्ती उजाडियो । चौराहाबाट बस्ती उठेपछि अलपत्र परेकाहरू वडाको अगुवाइमा एनटिभी कार्यालको पश्चिमतिर रहेको खाली ऐलानी जग्गामा बसे । उनीहरूलाई नगर विकास समितिले त्यहाँबाट पनि उठायो ।

उनीहरू ३६ परिवार थिए । ती छत्तीस परिवारलाई बागेश्वरी क्याम्पसको पूर्व प्रतिपरिवार साढे नौ धुरका दरले प्लटिङ गरेर घडेरी दिइयो । जसलाई पछि छत्तीसनगर भनियो ।
क्याम्पस टोलमा प्रशासनले फेरि बस्ती उठायो । केही त्यहीँ रहे । जो त्यहाँबाट उजाडिए उनीहरू पनि छत्तीसनगरकै आसपासमा व्यवस्थापन गरिए । एनटिभीनिरको बस्ती र क्याम्पस टोलको बस्ती मिलेर बनेको हुनाले नयाँ बस्तीको नाम एकतानगर रह्यो । यो बस्ती कोहलपुर–१० र ११ मा पर्छ ।

८. बर्दहवा
पहिले यो बस्तीको नाम आनन्दपुर थियो । गाउँको पश्चिममा सिमिनिया खेत अर्थात सिम खेत थियो । वर्षातमा त त्यहाँ जमिनबाट धेरै पानी रसाउँथ्यो । थारूहरू त्यसलाई सिमिनिया खेत भन्थे । त्यहाँको माटो निकै दलदल थियो ।
यो बस्ती आनन्दनगरबाट बर्दहवा बनेकोबारे एउटा भनाइ यहाँ प्रचलित छ ।

धेरै पहिलेको कुरा हो, एक जना किसान त्यही सिमसार (ढाप)मा हलो जोत्दै रहेछन् । अचानक जोत्दाजोत्दै किसान र हलगोरु दलदलमा डुबेर बेपत्ता भए । थारूहरू गोरुलाई बर्दा भन्छन् । गोरु जमिनमा डुबेको त्यही ठाउँको प्रतिकात्मक नामस्वरूप आनन्दपुरको नाम फेरेर गाउँलेहरूले बर्दहवा बनाए । यो अहिले २ नम्बर वडामा पर्छ ।
९. चन्नहवा
मैटहवा गाउँको दक्षिणमा छ यो बस्ती । यो बस्तीको नामकरणबारे यहाँका मानिसमा दुईथरिका मत पाइन्छ । चन्दनहवाका पारसनाथ थारूका अनुुसार पहिले गाउँको एकछेउमा कुवा थियो । राति कुवामा पानी लिन आउँदा भूतले तर्साउँछ भन्ने विश्वास थियो ।

त्यसैले भूतले नतर्साओस् भनेर त्यो ठाउँमा चन्दनको रूख रोपियो । चन्दनको रुख वरिपरि िभूत आउँदैन भन्ने विश्वास गरिन्छ । चन्दनको रूख भएको गाउँलाई पछि चन्दनहवा भन्न थालियो ।

अर्को मतअनुसार यहाँ चनाको राम्रो खेती हुन्थ्यो । मकै छर्ने बारीलाई मकै डिहुवा भनेझैँ चना खेती हुने भएर चन्नहवा भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । कोहलपुर–४ मा यो बस्ती छ


१०. मैटहवा

थारू भाषामा माटोलाई मट्टी भन्छन् । यो स्थानमा रिहार र उबडखाबड (खोब्री खबरा) जमिन थियो रे । यो स्थानको नाम पनि यहाँको माटोसँगै सम्बन्धित रहेछ । यहाँको माटोमा उब्जाउ त्यति नहुने । यहाँको माटो एकदमै उबडखाबड, माटाका ढिस्का र राम्ररी झारपात पनि नउम्रिने भएकाले यहाँका स्थानीयभाषीहरुले ‘महा मैटहा बा’ भन्दै गरेकाले मैटहवा भएको मानिन्छ । हाल यो कोहलपुर नगरपालिकाअन्तर्गत वडा नं.३ मा पर्दछ ।

पहिलेको प्रमुख हटारु मार्ग यही थियो । यही बाटो भएर हटारुहरू नेपालगन्ज आउजाउ गर्थे रे ! यो गाउँको उत्तरतिर एउटा बगैँचा थियो, हटारु त्यो बगियालाई कालिबगिया भन्थे । विस २०३९–२०४० सालतिर उक्त बगैचा कटान भएसंगै बगैचाको अस्तित्व समाप्त भएको थियो । कोहलपुर–३ मा पर्ने सो स्थानमा हाल गोरखापत्र संस्थानको छापाखाना रहेको छ ।

११.झन्डहवा

कुनै पनि स्थानका नामकरणबारेका बलिया र स्पष्ट आधारहरू त पाइँदैनन् । तर वर्षौंदेखि चलिआएका कथ्य परम्परा र गाउँका पाका पुरानामा मानिसहरूका भनाइ नै त्यसका लागि प्रमुख आधार मान्न सकिन्छ ।

यो गाउँको नामकरण ऐतिहासिक लखनउ विद्रोहसँग जोडिएको पाइन्छ ।
कोहलपुर नेपालगन्ज सडकदेखि पश्चिमममा अवस्थित छ, झन्डहवा गाउँ । यहाँ झन्डै ४०० घरधुरी छन् । जसमा पचास परिवार जति मुस्लिम, एक सय पचास परिवार यादव र हरिजनका रहेका छन् साथै दुई सय परिवार थारू समुदायका रहेका छन् ।

जतिबेला यहाँ बस्ती बस्न सुरु भयो, त्यतिबेला चारैतिर जङ्गल थियो । केही उँचो भागमा दुई चार घर थिए रे !
असफल लखनउ विद्रोहबाट लखेटिएका विद्रोहीहरू नेपालगन्जदेखि १३ किलोमिटर उत्तरको जङ्गलमा छरिएर लुकेका थिए । तीमध्ये केही यो ठाउँमा सेल्टर बनाएर बसेका थिए । लुकेर सेल्टर लिनका लागि यो ठाउँ उपयुक्त थियो ।

आश्रय पहिल्याउन सहज होस् भन्ने हेतुले विद्रोहीहरूले अग्लो रूखमा सङ्केतका लागि कपडाको झन्डा टाँगेका थिए । त्यही झन्डा हेर्दै उनीहरू सेल्टर पहिल्याउँथे ।
लखनऊ विद्रोहका विद्रोहीले झन्डा टाँगेको त्यो ठाउँ पछि झन्डहवा नाउँबाट चिनिँदै गयो । हाल यो ठाउँ कोहलपुर–९ मा पर्छ ।

१२.लखनवार

यो गाउँ पनि लखनउ विद्रोहसँगै सम्बन्धित छ ।
भारतको लखनउमा नवाबहरूले अङ्ग्रेजविरुद्ध सिपाही विद्रोह गरे । त्यो विद्रोह सफल भएन । विद्रोह दबाउन नेपालले समेत सैनिक सहयोग पठाएको थियो । विद्रोहीहरू लखनउदेखि उत्तरतिर भाग्दै आए । अङ्ग्रेजी सेनाले उनीहरूलाई लखेट्दै आयो ।
भगौडा विद्रोहीमा स्वयम् रानी बेगम हजरत महल, सरदार नाना राव, युवराज बिज्रिस कादिरलगायत ठूलो डफ्फा थियो । उनीहरू चुरेको घोँचसम्मै घना जङ्गलमा आए । त्यतिबेला जङ्गलका बीचबीचमा बस्ती थिए । यो एक सय छैसट्ठी वर्षअघिको कुरा हो ।

भागेका विद्रोहीलाई भालुवाङनजिकै नेपाली सेनाले आक्रमण गरे । कालाकाटेमा देवी बक्स सिंहलगायत विद्रोहीको हत्या भयो । ठुरियाको जङ्गलमा सरदार नाना राव मलेरियाले बिते । झन्डहवादेखि दक्षिणपूर्वी जङ्गलमा थारूका सात घर थिए । जङ्गलको बीचमा चौर थियो । विद्रोहीहरू ठूलो सङ्ख्यामा त्यहाँ जम्मा हुँदै थिए । उनीहरूलाई लखेट्दै आएका अङ्ग्रेजी सेना र विद्रोहीबीच यहाँ ठूलो लडाइँ भयो । मानिसहरू मरे ।

लखनउबाट भागेर आएकाहरू मारिएको त्यो ठाउँलाई लखना जब्दा भनिन थालियो । जङ्गलको त्यो बस्ती त्यहाँबाट स्थानान्तरण भएर अहिलेको ठाउँमा आयो । अङ्ग्रेज र विद्रोहीबीच लडाइँ भएको बस्ती भएकाले यो गाउँको नाम लखनवार रहेको हुनसक्ने त्यहाँका वडाध्यक्ष ठग्गा थारूको भनाइ छ । यो बस्ती अहिले कोहलपुर–७ मा पर्छ ।

लखनवारका मानिसले गाउँमा लखना मरिमाता थान बनाए । सँगै इनार पनि खनाए । लखना जब्दाको सातघरको त्यही बस्ती अहिले लखनवारको रूपमा ठूलो बस्ती बनेको छ ।
भारतको लखनऊ ऐतिहासिक सहर हो र यो नेपालको पश्चिमी सीमाबाट धेरै दूरीमा छैन । त्यसैले पनि यी भनाइहरू सत्यको नजिक रहेको हुनसक्ने मानिन्छ ।

१३. रजगढवा
रजगढवा कोहलपुर नगरपालिकाको ७ नम्बर वडामा पर्छ । यो वस्ती डुडुवापारि छ । हालैमात्र डुडुवा वारपार गर्न पक्की पुल बनेको छ ।
जसरी प्रायः गाउँ र बस्तीहरू वनजङ्गलका बीचबीचमा हुन्थे त्यसैगरी कुनैबेला रजगढुवा वरिपरि पनि वन थियो । त्यहाँको वनमा अजिङ्गर सर्प धेरै हुन्थे, जसलाई थारू भाषामा अजगर भनिन्छ । सर्फ देखिएकाले थारूहरूले उक्त ठाउँलाइ अजगढवा भन्दाभन्दै पछि रजगढवा भएको अनुमान पनि गरिन्छ ।

अर्को मान्यताअनुसार यो स्थानमा राजशमशेर राणाको मौजा थियो रे ! त्यतिबेलाका स्थानीय जमिन्दारहरू पनि राजा अर्थात रजवाका नामले नै सम्बोधित हुन्थे । बेलाबेला उनीहरू यिनै वनजङ्गलहरूमा सिकार खेल्न जान्थे । उनीहरू हात्ती घोडामा बसेर सिकार खेल्थे । डुडुवा किनारमा जनावर पानी पिउन आउने हुनाले त्यो ठाउँले सिकारका लागि निकै महत्व राख्थ्यो । राजाहरू सिकार खेल्न आउने ठाउँ भएकाले बस्तीको नाम रजगढवा रहेको हुनसक्ने मानिन्छ ।
१४.पिपरी
झन्डहवाको पूर्व एकाध किलोमिटरको दूरीमा एक जना बाबाको बस्ती थियो रे ! उनले त्यहाँ गाई पालेका थिए । उनको नाम रामलोचनदास बैरागी थियो । उनलाई सवैले बैरागी बाबा भन्थे । बस्तीमा केही थारू र अहिरका घर थिए । बैरागीका एक जना भान्छे थिए उनको भण्डार हेर्ने हर्ताकर्ता थिए जसलाई थारुहरु भण्डारी बाबा भन्थे ।
ती भण्डारी जंगली जनावरबाट बाली बचाउन दैनिक साँझपख पिँपिँ पिँपिँ गर्दै बाजा बजाएर खेतबारीमा आउने जनावर धपाउँथे रे ! भण्डार हेर्ने कामबाहेक उनको दैनिक बाजा बजाएर खेतबारीबाट जनावर धपाउने थियो रे ! दैनिकजसो गुन्जिने यो पिँपिँपिँपिँ आवाजबाटै मानिसहरूले यो बस्तीको नाम पिपिरी राखेको र कालान्तरमा पिपरी हुन गएको बलियो मत छ ।
अर्कोतिर थारू भाषामा खुर्सानीलाई पिप्पर भन्छन् । पाकेको खुर्सानी घरको छानोमा सुकाएको देखेर कसैले पिप्पर भन्दा भन्दै पिपरी नाम रहेको हुन सक्ने अनुमान पनि गरिन्छ ।
पिपरी कोहलपुर नगरपालिका वडा नम्बर ८ मा पर्छ । अहिले यो ठाउँमा पहाडी समुदायका अलावा यादव, चमार तथा थारू समुदायको मिश्रित बसोबास रहेको छ ।

५. अकलघरुवा
यो गाउँको नाम रहनुमा पनि निम्न भनाइ यहाँ प्रचलित छ ।
झन्डहवा गाउँदेखि दक्षिणमा एउटा मौजा थियो । त्यो मौजामा एउटै मात्र घर थियो । एउटा मात्रै घर अर्थात स्थानीय भाषीहरु ‘अकलघर’ भन्ने भएकाले त्यो ठाउँलाई मानिसहरूले ‘अकलघरुवा’ भन्न थाले भन्ने भनाइ छ ।

यहाँका पाका पुराना मानिसहरूको भनाइअनुसार त्यो मौजाका मालिक थिए गुरुबकस चौधरी । उनका एउटै छोरा थिए गङ्गाराम चौधरी । गङ्गारामका पनि एकमात्रै छोरा थिए रामस्वरुप चौधरी । रामस्वरुपका दुई छोरा थिए, भागीराम चौधरी र ढोडे चौधरी । उनीहरू साना थिए । रामस्वरुपले उनीहरूलाई हेर्न मैटहवाका गोत्यार चौधरान घरबाट मिश्री थारूलाई बोलाए । मिश्रीले रामस्वरुपकै छोराजस्तो भएर काम गर्न थाले । उनीहरूलाई बर्काने, मझलाने र छोट्काने गरी अंशबण्डा गरिदिए ।
एउटै घर भएको मौजामा तीन घर भए ।

पछि केही यादब, बिहारी तमोलीहरूले पनि त्यो मौजाको जग्गा किने । ढोडपुरको आधा गाउँ अकलघरुवा आएर बस्यो । कोहलपुर गोल्छानेर एउटा बस्ती थियो । बस्तीको नाम झाला थियो । त्यो बस्ती पनि उठेर अकलघरुवामा मिसियो ।
अहिले अकलघरुवा ठूलो गाउँ बनेको छ । हाल कोहलपुर–१५ मा अवस्थित यो बस्तीमा थारू, तमोली, अहिरहरूको मिश्रित बसोबास रहेको छ ।

१६. हवल्दारपुर
कुनै ठाउँमा कुनै ठूलो ओहदाको मान्छे बस्यो भने उसैको नामबाट मानिसहरूले त्यो ठाउँलाई चिनाउँथे । कुनै समय त्यहाँ कुनै हवल्दार बस्थे रे ! उनैको पदबाट त्यो ठाउँलाई मानिसले हवल्दारपुरवा नाम राखिदिएका थिए ।
समयअन्तरालमा त्यहाँ हवल्दारहरूको आउजाउ चलिरह्यो ।
पछिल्लोपटक पनि त्यहाँ एक जना हवल्दार थिए । उनी थिए हमिद खाँ ।
उनी वनका हवल्दार थिए । पहिले–पहिले वनजङ्गलका कानुन कडा हुन्थे ।

त्यो बेला वनको कर्मचारी हुनु शानको विषय थियो । त्यसमाथि पनि हवल्दार राजैबराबर थियो गाउँलेका निम्ति । वनपालेहरूको रवाफै बेग्लै हुन्थ्यो । उनीहरू गाउँ चहार्थे, कुखुरा रक्सी खान्थे । काठ ओसार्दा पक्डिए भने पैसा असुल्थे ।

हमिद खाँ वनका यस्तै हवल्दार थिए । उनको घर त्यहीँ थियो । उनको घरवरपर अरू पनि घर थपिँदै गए । गाउँलेले सहजताका लागि हवल्दारको घर भएको त्यो बस्तीको नाम हवल्दारपुरवा भन्न थाले । एक कान दुई कान गर्दै हवल्दारपुरवा सहज सुनिन थाल्यो । त्यही हवल्दारपुरवा हिजोआज हवल्दारपुर भएको छ । हमिद खाँ हवल्दारपुरबाट ढकेरी गए । उनले पहाडी महिलासँग अन्तरजातीय बिहे गरे ।

उनी अहिले यो धर्तीमा छैनन् । उनको पदबाट रहेको बस्तीको नाम भने यथावत् छ । हवल्दारपुरको नाम लिँदा पुराना मानिस हवल्दार हमिद खाँलाई सम्झिइरहन्छन् । यो वस्ती हाल कोहलपुर–१४ मा पर्छ ।
पहिले हवल्दारपुर गाउँको नाम थियो । त्यो गाउँ बाटोको पारिपट्टि थियो, जुन अहिले पनि छ । तर सडक बनेपछि चोक बन्यो । हिजोआज त्यही चोकलाई हवल्दारपुर भनिन्छ ।
१७. भवानीपुर
यो गाउँको नाम पनि कुनै एक जना व्यक्तिकै नामबाट रहन गएको पाइन्छ ।
भवानी खटिक नाम गरेका एक जना व्यक्ति कोहलपुरमा चौकिदारी गर्थे । हवल्दारपुरको दक्षिणमा ठूलो क्षेत्रफल ऐलानी र पर्ती जमिन थियो । त्यो जग्गाको भोगचलन भवानी खटिकको परिवारले नै गर्दै आएको थियो । कति जग्गा भवानी स्वयमले बेच्दै गए ।

कति मानिसहरू आफैँ आएर बसे ।
भवानी खटिकले कमाउँदै आएको जमिन भएकाले त्यहाँ बस्ती आउनेहरूले भवानीको बस्ती भन्दा भन्दै बस्तीको नाम नै भवानीपुर रहनपुग्यो । यो बस्ती पनि वडा नम्बर १४ मै पर्छ ।

१८.कौशिल्यानगर
कोहलपुर चौराहादेखि एकाध किलोमिटरको दूरीमा २०३७ सालताका चितवन, पाल्पा, स्याङजा, कास्कीतिरका अधबैँसे युवाहरूले जङ्गलाट क्षेत्रका बुट्यान फाँडेर बस्ती बसाए । बस्तीमा ३५÷४० परिवार थिए । उनीहरूमाथि जङ्गल फाँडेको आरोप लाग्यो । अगुवा भानुभक्त भट्टराई जेल परे ।बस्तीको अगुवा वा अभिभावक भानुभक्त थिए । र उनकी पनि अभिभावक अर्थात् आमा थिइन् कौशिल्यादेवी । यो बस्तीभरिकै अग्रज र मान्यजन भएकाले कौशिल्यादेवीकै नामबाट कौशिल्यानगर नाम रहन गएको भनाइ छ । यो कोहलपुर–१ मा पर्छ ।
१९.फरैला
फरैलाको पुरानो नाम लक्ष्मणपुर हो । हाल कोहलपुर–२ अन्तर्गत पर्ने यो बस्तीको नाम लक्ष्मणपुर कसरी रहन गएको थियो त्यसबारे मानिसहरू अनभिज्ञता प्रकट गर्छन् । तर लक्ष्मणपुर फरैला हुन गएकोबारे भने मानिसहरूका भनाइ यस्ता छन् :
स्वाभाविक हो, त्यतिबेला जताततै जङ्गल हुन्थ्यो । लक्ष्मणपुुरमा जामुनका धेरै बोट थिए । थारू भाषामा जामुनलाई फरेड भनिन्छ । धेरै जामुन फरेना हुँदै फरैला भयो भन्ने मत बलियो छ ।
२०. मसुरीखेत
डुडुवा खोलाको ढिकमा छ यो बस्ती । पूर्वपश्चिम राजमार्गअन्तर्गत चपरगौढीमा रहेको कनोडिया पम्पदेखि सडकको पारिपट्टिबाट सुरु भएर डुडुवाको ढिकमा बसेको पहाडी समुदायको बस्तीलाई मसुरीखेत भनिन्छ । यहाँको माटो बलौटे खालको छ । प्रसस्त मात्रामा मसुरो फल्ने हुनाले बस्तीको नाम मसुरीखेत रहेको मानिन्छ । डुडुवा खोलाको पूर्वी ढिकमा रहेको यो बस्ती कोहलपुर–१२ मा पर्छ ।
२१. खर्कवार
कोहलपुरको पूर्वाेत्तर जङ्गलको पुच्छारमा झन्डै चुरेको घोँचमा रहेको बस्ती हो यो । यहाँ बिक्रम सम्बत २००० भन्दा अगावै बस्ती बसेको पाइन्छ । त्यो बस्ती उठेको एकाध वर्षपछि त्यहाँ दाङबाट आएका थारूहरूले बस्ती बसाए । उक्त बस्ती र सल्यानको घुईयाबारीको बीचमा चुरे पहाडको एउटा थुम्को छ । त्यही थुम्को नाघेर हटारुहरू धेरै पहिलेदेखि त्यो बाटोलाई हाट आउने रुटको रूपमा प्रयोग गर्थे ।
सल्यानका मानिसहरू हिउँदमा गाईभैँसी चराउन बेँसी झर्थे । बेँसीमा प्रसस्त खर हुन्थ्यो । खेतका आलिआलिमा पनि खरका गाँज हुन्थे । पहाडी समुदायमा गाईबस्तु चराउने ठाउँलाई खर्क भन्ने चलन छ । गाईबस्तु चराउने खर्कको रूपमा यसलाई मनिसहरूले खर्कवार भनेका हुन सक्छन् । पहाडी समुदायको बाहुल्यता रहेको यो बस्ती वडा नम्बर १३ मा पर्छ ।
खर्कवारमा प्रसस्त खर पाइन्थ्यो रे ! पहिलेपहिले यस ठाउँमा खेतको आलीआलीमा पनि खर हुन्थ्यो भनिन्छ । गाउँगाउँबाट थारूहरू पनि खर काट्न खर्कवार पुग्थे । खरका लागि पहाड उक्लिनु पर्थेन । प्रसस्त खर पाइने ठाउँ भएकाले यो पनि ठाउँको नाम खर्कवार रहेको हुनसक्छ ।
२२. निबुवा
नामैले पनि यस ठाउँको नामबारे अनुमान गर्न सकिन्छ । निबुवा भन्ने एक किसिमको फल हुन्छ जुन अमिलोपनले भरिएको हुन्छ ।
कुनै बेला यो ठाउँमा प्रसस्त मात्रामा निबुवा पाइन्थ्यो रे ! बस्तीमा जताततै निबुवाका बोट मात्र हुन्थे रे ! नेपालगन्जदेखि मानिसहरू निबुवा अर्थात निब्बु खरिद गर्न आउँथे रे ! उनीहरूले निबुवाका बोट नै ठेक्कामा लिन्थे रे ! आफ्नो अनुकूलताअनुसार निबुवा टिपेर नेपालगन्ज लगेर बिक्री गर्दथे ।
प्रसस्त मात्रामा निबुवा फल्ने ठाउँ भएकाले यो बस्तीको नाम नै निबुवा रहेको भनिन्छ । निबुवामा पहाडी तथा थारू समुदायको मिश्रित बस्ती छ । यो पनि १३ नम्बर वडामा छ ।
२३. रझेना
रझेना पुरानो थारू बस्ती हो । कोहलपुर नगरपालिकाभित्र रहेको सबैभन्दा ठूलो थारू बस्ती पनि हो । रझेनामा थारू जाति बस्नुभन्दा पहिले यहाँ राजी जातिको बसोबास थियो रे ! पछि यो ठाउँ छोडेर उनीहरू अन्यत्रै गएका रहेछन । कुनै समयमा हालको लापोन्मुख राजी जातिको बसोबास रहेको स्थान भएका हुनाले थारू समुदायले यो ठाउँको नाम रझेना राखेका हुन् भन्ने भनाइ छ ।
यो ठाउँबारेको अर्को मत पनि पाइन्छ । कुनै बेला यहाँ राणाहरूको मौजा थियो । रजवा, रजवाने हुँदै रझेना गाउँ रहेको पनि कतिपय विश्वास गर्छन् ।
कोहलपुर नगरपालिका बन्नुअघिसम्म रझेनाको आफ्नो स्वतन्त्र अस्तित्व थियो । रझेना गाविस थियो । पन्चायत कालमा गाउँ पन्चायत र बहुदलपछि रझेना गाविसको पहिचान बनाएको यो बस्ती शुद्व थारू बस्ती हो । अहिले यो बस्ती कोहलपुर नगरपालिका अन्तर्गत वडा नम्बर ६ मा पर्छ ।
२४. बाबानगर
धेरै पहिले कोहलपुर आसपासमा एक जना बाबा थिए रे ! उनी औराहा बाबाको नामले चिनिन्थे । उनी बितेपछि उनलाई पहिलेको झाला बस्तीको पूर्व समाधिस्थ गरियो । त्यही ठाउँमा अहिले घेराबार गरी मठमन्दिर बनाइएका छन् । वरपीपलका विशाल वृक्षहरू छन् । औराहा बाबाको समाधि भएकाले मानिसहरू त्यो मन्दिरलाई औराहा बाबा मन्दिर नामले चिन्दछन् ।
मन्दिर कोहलपुर नगरपालिका वडा नम्बर ८ मा पर्छ । त्यहाँ निकै पछि बस्ती बसेको हो । दिनप्रतिदिन बस्ती फैलिँदोक्रममा छ । तीनै औराहा बाबाको सम्झनामा बस्तीको नाम बाबानगर राखिएको पाइन्छ ।
२५. एनसिसिएन
२०४५ सालपछि पूर्वपश्चिम राजमार्गको कोहलपुरदेखि पश्चिम खण्डको काम सुरु भएपछि चौराहादेखि एक किलोमिटरको दूरीमा नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसिसिएन)को क्याम्प बस्यो । क्याम्पमा गाडी रखनधरन, तेलको पम्पदेखि कर्मचारीका आवास र कार्यालयसमेत त्यहिँ भित्र थिए ।
सडक निर्माण सम्पन्न भएपछि क्याम्प उठेर गयो । एनसिसिएन क्याम्प रहेकै कारण अहिले पनि त्यो ठाउँलाई मानिसहरू एनसिसिएन भनेर चिन्दछन् । यो ठाउँ अहिले २ नम्बर वडामा पर्छ । १४०एनसिसिएन
एनसिसिएन क्याम्प उठ्यो । त्यहाँ केही आवासीय भवन थिए । २०५८ मा तिनै भवनमा वासुदेव लम्साल, शंकर खड्कालगायतले गुठी स्कुलको रूपमा ज्ञानपुन्ज मावि स्थापना गरे ।
सशस्त्र प्रहरी बलको महेश्वरी बाहिनीलाई उक्त स्थानमा राख्ने निर्णय ग¥यो । देश चरम द्वन्द्वमा थियो । स्कुल नै विस्थापित हुनुपर्ने स्थिति आयो । रझेनाबासीले कडा विरोध गरे । सडक आन्दोलनसमेत भयो तर सरकार आफ्नो निर्णयबाट टसको मस भएन ।
ज्ञानपुन्ज माविलाई किरणनालाको सगरमाथा स्कुलमा मर्ज गरियो । तत्कालीन अगुवाहरू होमप्रकाश सुवेदी, रामप्रसाद अर्याल, सूर्यप्रसाद सुवेदी, हरि पराजुलीहरूले स्रोत पहिल्याउँदै गए । एनसिसिएनका पुराना भवनका इँट्टा, ढुङा लगेर आठकोठे दुईतले भवनसमेत तयार भयो । बेलायती शिक्षामन्त्री डगलस अलेक्जान्डरले उक्त भवनको उद्घाटन गरेका थिए । अहिले उक्त स्कुलको नाम सगरमाथा ज्ञानपुन्ज मावि रहेको छ ।

सागर गैरे
कोहलपुर ११,बाँके ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०८०     2:00:17 PM  |