बाँकेलाई सुरक्षित यात्राको जिल्ला बनाउन लागिपरेका छौं



जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा मैले नेतृत्व सम्हालेको दुई महिना भयो । गत वर्षको चैत महिनाबाट मैले औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हालेको थिए । यो अवधीमा दुर्घटना न्युनिकरण, ट्राफिक सचेतना वृद्धिलाई मुख्य प्राथमिकता दिइएको छ । यसैक्रममा दुर्घटनाको तथ्यांकलाई हेर्ने हो भने वैशाख महिनाको हालसम्म ८ जनाले दुर्घटनाका कारण ज्यान गुमाएका छन् । चैत र वैशाखमा गरेर २१ वटा दुर्घटना भएका छन् । त्यसमा गम्भीर घाइते हुनेको संख्या १२ जना रहेको छ । चैत महिनामा भने मृत्युदर शुन्य छ । आघिल्लो आर्थिक वर्षको २ महिनाको तथ्यांकलाई हेर्ने हो भने यो दुर्घटना एकदमै कम हो ।

हामीले दुई पांग्रे, चार पांग्रे सवारीहरुलाई कारबाही गर्छौ । यो दुई महिनामा आठ हजार सवारी कारबाहीमा परेका छन् । त्यसमा कूल ५१ लख भन्दा बढी राजस्व संकलन भएको छ । यो दुई महिनामा राजस्व संकलनमा धेरै नै वृद्धि भएको छ । विगतका तथ्यांक हेर्दा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । बाँकेमा मापसे सचेतना कक्षा म आइसकेपछि सुरु भएको छ । यसमा पनि उल्लेख्य काम भएको छ । दुई महिनामा ५ सय ७४ वटा मापसेविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको छ । यो कक्षा हरेक दिन आठ बजे हुने गरेको छ । ४ सय जना भन्दा बढीले मापसे कक्षा लिएका छन् । हामीले यो कक्षा सञ्चालन पूर्व धेरै संख्यामा मापसे गरेकाहरु समेतिन्थे । अहिले पनि उक्त संख्यामा धेरै कमी आएको छ । अहिले त्यो संख्यामा धेरै कमी आएको हामीले पाएका छौँ । मापसे चेकिङमा राम्रो काम भएको छ ।

यसविरुद्ध आममानिसमा सचेतना बढेको छ । मापसे गरेर सवारी चलायो भने प्रहरीले समात्छ । कक्षा लिन जानुपर्छ भन्ने झण्झटका कारण पनि संख्यामा कमी आएको हो । यो दरमा कमी आएको छ ।
जनचेतनामुलक कार्यक्रम पनि हामीले गर्दै आएका छौँ । विभिन्न संघसंस्थाहरुसँग मिलेर काम गरिरहेका छौ । चैत र वैशाख महिनामा बाँके जिल्लामा हालसम्म २ सय २ वटा सचेतनामुलम कार्यक्रम आयोजना गरिएको छ । यसबाट ७ हजार भन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । म आफैपनि विभिन्न क्षेत्रमा गएर सचेतनामुलक कार्यक्रम गरिरहेको छु । हाम्रो युनिट लागेको छ । सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ । अहिलेसम्म ३ सय जना भन्दा बढीलाई अफिसमै ल्याएर पनि सन्देशमुलक भिडियोहरु देखाउने गरेका छौ । सचेतनामुलक कार्यक्रमलाई विशेष बनाउन खोजिरहेका छौ ।


बाँके जिल्ला भौगोलिक र जनघनत्वका हिसाबले ठूलो जिल्ला हो । पछिल्लो समय यहाँ देशभरका अधिकांश जिल्लाबाट समेत बसाइँसराइँ गरेर आउने क्रम जारी छ । यहाँ मिश्रित खालको समाज छ । यहाँ हरेक दिन विकाससमेत भइरहेको छ । बाँके जिल्लाको दु्रर्तगतिमा विकास भइरहेकाले ट्राफिक व्यवस्थापन प्रमुख चुनौतीको रुपमा रहेको छ । बाँकेमा धेरै सडक सञ्जालसमेत जोडिएको छ । सडक क्षेत्रसमेत धेरै भएकोले सचेतना आवश्यक छ । ट्राफिक व्यवस्थापनलाई व्यवस्थित रुपमा लैजानुपर्ने जिम्मेवारी हाम्रो छ । सोही अनुसार हामीपनि योजनाबद्ध रुपमा अघि बढेका छौँ ।

सहरी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम गरिरहेको अवस्था छ । विशेष गरेर कोहलपुर र नेपालगन्जलाई प्राथमिकता दिइएको छ । अन्य क्षेत्रमा पनि सोही अनुसार योजनाबद्ध रुपमा प्रहरीले काम गरिरहेको छ । जनशक्तिसमेत सोही अनुसार परिचालित भएको छ । यस्तै इ–रिक्सा र अटो रिक्साको व्यवस्थापन पनि भइरहेको छ । अटो रिक्सा चालकहरुलाई सचेतना समेत जोगाउने काम हामीले गरिरहेका छौ । यस्तै अनुशिक्षण समेत गरिएको छ । कसरी हुन्छ सहरी क्षेत्रलाई व्यवस्थित बनाउने हाम्रो प्रमुख लक्ष्य रहेको छ ।
बाँके जिल्लामा मुख्य ट्राफिक चुनौतीको रुपमा दुर्घटना रहेको छ । दोस्रो चुनौतीका रुपमा अटो रिक्साहरु रहेका छन् । अव्यवस्थित रुपमा अटो रिक्साहरु चल्ने भएका कारण दुर्घटना भएर मानवीय क्षतिसमेत हुने गरेको छ । त्यसैले कार्यालयले अटो रिक्साहरुलाई विधिसम्बद रुपमा व्यवस्थित गर्न खोजेको छ । अटो रिक्साहरुलाई व्यवस्थापन हुन्छ । यस्तै सहरी क्षेत्रमा व्यवस्थित पार्किङको सुविधा नहुनु । बाँकेमा अहिलेसम्म कुनैपनि सहरमा पार्किङ स्थल छैनन् । सुरक्षित स्थलको समेतको अभाव रहेको छ । लामो समय जाममा बस्नु पर्ने छैन । तर पार्किङ कै समस्या छ ।

हामीले एक्लैले मात्रै प्रयास गरेरपनि ट्राफिक व्यवस्थापन हुँदैन । यसमा हामीलाई सरोकारवाला पक्षहरुको ठूलो साथ र समर्थन आवश्यक छ । स्थानीय सरकारले पनि समन्वयमा काम गर्न आवश्यक रहेको छ । अस्ति भर्खर मात्र हामीले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ठेला नम्बर र परिचयपत्र वितरणको काम गरिएको छ ।
दुर्घटना तीन वटा कारणले हुने गरेको छ । मानवीय लापरबाही, सवारीमा देखिने समस्या र वातावरणीय कारणले दुर्घटना हुने गरेको छ । त्यसैले यसमा सरोकारवाला पक्ष नै सचेत हुनुपर्ने देखिन्छ । बाँके जिल्लाको सन्दर्भमा कुरा गर्ने हो भने मानवीय कारणले बढी दुर्घटना भएको देखिन्छ । धेरैजसो मापसेका कारण दुर्घटना भएको देखिन्छ । त्यहि भएर हामीले मापसेविरुद्ध सचेतनालाई प्रमुख प्राथमिकता दिएको हो । ओभरलोड समेत कारण रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा सम्पूर्णलाई मेरो अपील छ । ट्राफिक व्यवस्थापन एउटा संयन्त्रले मात्रै चासो दिएर काम गरेर हुँदैन । यसमा सम्पूर्ण पक्षले ध्यान दिन जरुरी छ । त्यसैले हामी सम्पूर्ण नागरिकको जिम्मेवारी रहेको कुरा अवगत गराउन चाहन्छु ।

आम सर्वसाधारण र अन्य कार्यालयबीच समन्वय र सहकार्य हुन आवश्यक छ । यसविरुद्ध हामी संगसँगै जान सक्छौँ । ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन, सचेतनामुलक कार्यक्रममा सहभागी हुन र सुरक्षित यात्राका लागि सबैजना हातेमालो गरौ । बाँके जिल्लालाई सुरक्षित यात्राको जिल्ला बनाउन आवश्यक रहेको छ ।
(जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक बहादुर सुनारसँग शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित)

 

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार