निर्मला कुर्मी प्रकरण : सहमतिपछि धर्ना स्थगित



नेपालगन्ज (बाँके), काठमाडौंको माइतीघर मण्डलामा ४८ दिनदेखि धर्ना दिँदै आएका बाँकेका महिला अधिकारकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । बाँकेकी निर्मला कुर्मीका लागि न्यायको माग गर्दै आन्दोलन गर्दै आएका उनीहरूले बुधबारदेखि आदोलन स्थगित गरेका हुन् ।


मंगलबार सरकारसँग तीन बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेको महिला अधिकारकर्मी रुबी खानले बताइन् । सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरी विस्तृत अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउने सहमति भएको छ । निर्मला कुर्मीसम्बन्धी घटना अनुसन्धानका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष टोली बनाउने भएको छ ।

२०७५ माघदेखि बेपत्ता नेपालगन्ज उपमहानगरपालिका १७ की निर्मलादेवी कुर्मीको मृत्यु भएको छ । शरीर बन्धक, अपहरण गरेर हत्या गरिएको धर्ना बसेका अधिकारकर्मीहरुको भनाइ छ भने प्रहरीले निर्मलाको प्राकृतिक कारण मृत्यु भएको बताउँदै आएको छ ।
यसअघि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितिले कुर्मीको नाममा रहेको साढे चार बिघा जग्गा हत्याउन उहाँलाई बेपत्ता बनाएको निष्कर्ष निकाल्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो ।

साथै धर्मा कार्यक्रम स्थगित हुँदै उनले आफूहरु असुरक्षित रहेको बताएकी छिन् । ‘न्यायका लागि लड्नु यति जोखिम छ, कति बेला हामीहरु मर्छाैं हाम्रो ठेगान छैन,’ उनले भनिन्, ‘मान्छेको मूल्य कति हो त भन्दा पाँच लाख ! हामी आन्दोलनकारीको मूल्य कति हो त भन्दाखेरि पाँच लाखमा हाम्रो मूल्य तोकिएको छ । को बाट बादशाह कर्मी (निर्मला हत्या प्रकरणमा उनी मुख्य दोषी भएको आरोप लगाइएको छ) बाट ।’ कुर्मीले आफूहरुको हत्या गर्न भारतीय सुटरलाई पैसा दिइएको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार