नेपालगन्ज (बाँके) ।
बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए । जसबाट २३ घरमा क्षति पुग्यो भने छिमेकी जिल्लामा भूकम्पको महसुस भयो । यतिमात्र होइन, पछिल्लो समय पश्चिम नेपालका डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन् । जसले यहाँको जनजीवन प्रभावित पारेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ । यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ । तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ,’ सरकारी सञ्चार माध्यमसमेत रहेको गोरखापत्र आफ्नो समाचारमा उल्लेख गरेको छ । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीलाई उदृढ गर्दै गोरखापत्रले लेखेको छ, ‘त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न सकिन्न । जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ ।’
पश्चिम नेपालमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन । त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ । बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए । पाँच दिनअघि पनि भूकम्प गएको थियो ।
बिहीबार राति करिब १२ बजे पहिलो भूकम्प चार दशमलब ९ म्याग्निच्युडको थियो भने बिहान साढे एक बजे पाँच दशमलब नौ म्याग्निच्युडको भूकम्प गएको थियो । शुक्रबार बिहान पाँच बजेर ५७ मिनेटमा तीन दशमलब नौ म्याग्निच्युड र बिहान नौ बजेर २५ मिनेटमा चार दशमलब एक म्याग्निच्युडको भूकम्प गयो ।
यो क्रम जमिनमुनिको शक्ति ठूलो भूकम्पका रूपमा बाहिर ननिस्किएसम्म जारी रहने केन्द्रले जनाएको छ । लगातार पहाड हल्लिन थालेपछि स्थानीय बासिन्दा राति राम्ररी निदाउन सकेनन् । गत वर्षको भूकम्पले घर भत्किएका पीडितहरू पालको भरमा रहेकै बेला फेरि लगातार भूकम्प गएपछि स्थानीयमा त्रास बढेको छ । शुक्रबारदेखि दैनिकी पनि ढुक्कका साथ सञ्चालन गर्न सकेका छैनन् ।
यसअघि बाजुरामा वैशाख १० गते पनि चार दशमलब एक म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले चार म्याग्निच्युडभन्दा साना भूकम्प धेरैवटा गइरहेको जनाए । उनले दुवै भूकम्पपछि एक सय २९ वटाभन्दा बढी पराकम्पको धक्का महसुस गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्