शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर–३ बेडनपुरमा अवस्थित छ, ‘श्री हिमालय मदरसा गरिब नमाज प्राथमिक विद्यालय ।’ २०५८ सालमा स्थापना भएको यो विद्यालयमा बालशिक्षा, प्रौढ र शिक्षा अध्ययन हुन्थ्यो । त्यतिबेला शिक्षक र कर्मचारी गरी तीनजना मात्र थिए । तीमध्येकी एक मधु केसी हुन् । उनी विद्यालयमा कार्यालय सहयोगी हुन् । तर, पनि शिक्षण गराउँछिन् ।
अर्का हुन्, मुवारक अलि गुजर । उनी विद्यालय पूर्व प्रधानाध्यापक हुन् । हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका गुजरले लामो समय यस विद्यालयमा बिताए । केसी, गुजर र अर्का संस्थापक सदस्य रामकृष्ण विक हुन् । यो विद्यालयको संरचना र भूगोल वडा नम्बर ३ मा पर्छ । तर, यहाँ वडा नम्बर ४ का बहुसंख्यक बालबालिका अध्ययन गर्छन् ।
यो विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीहरुको बाहुल्य छ । विद्यालयको नाम जस्तै विपन्न समुदायका बालबालिका यहाँ अध्ययन गरिरहेका छन् । हाल बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन भइरहेको छ । विद्यालयका चारवटा भवन छन् । कार्यालय सहयोगीसहित पाँचजना शिक्षक छन् । तीमध्ये दुईजना स्थायी, दुईजना राहत र एकजना बाल विकास शिक्षिका छन् ।
विद्यालय प्रधानाध्यापक राजेन्द्र केसी र खडानन्द पौडेल स्थायी शिक्षक हुन् । आइतबार उनीहरु विद्यालयमा अनुपस्थित थिए ।
सुभद्रा चौधरी र चित्रमाली थापामगर राहत शिक्षक हुन् । बालविकास शिक्षकको रुपमा राधिका मल्ल शाही कार्यरत छिन् । उनी विद्यालयमा आएको दुई महिना मात्रै भयो । गत जेठमा उक्त विद्यालयमा सरुवा भएकी बिन्दा ओली अहिलेसम्म हाजिर भएकी छैनन् ।
कोहलपुर–३ मदनचोकदेखि भित्री क्षेत्रमा पर्ने बेलनपुरमा अवस्थित विद्यालय बेवारिसे अवस्थामा छ । विद्यालय स्थापनाको दुई दशक भयो । अहिलेसम्म विद्यालयको पर्खालसमेत निर्माण हुन सकेको छैन । खुला चौरमा विद्यालय अवस्थित छ ।
विद्यालय भवनसमेत जीर्ण अवस्थामा छन् । विद्यालयमा खानेपानीको समेत राम्रो व्यवस्था छैन । धारा त छ तर शुद्ध पानी आउँदैन । यहाँका विद्यार्थीका लागि शुद्ध खानेपानी त सपना जस्तै छ । शिक्षक स्वयम्का लागि समेत शुद्ध खानेपानीको व्यवस्था छैन । शौचालय पनि पर्याप्त छैन । शिक्षक र विद्यार्थीका लागि शौचालयको राम्रो व्यवस्था नहुँदा समस्या भएको बाल विकासकी शिक्षिका शाही बताउँछिन् ।
प्लास्टिकको झोला, कागजमा दिवा खाजा
हिमालय मदरसा गरिब नमाज प्राथमिकता विद्यालय बेवारिसे अवस्थामा छ । आइतबार स्थलगत रिपोर्टिङको क्रममा पुग्दा विद्यालय र विद्यार्थीको दुर्दशा प्रष्टै देख्न सकिन्थ्यो । दिवा खाजाको लागि लाइन लागेका विद्यार्थी विद्यालय पोसाकमा थिएनन् । तीमध्ये केहीले मात्रै झोला बोकेका थिए । अधिकांश विद्यार्थीले किताब प्लास्टिकको झोलामा बोकेका थिए ।
यहाँ विद्यार्थी आटाको थैलीलाई झोला बनाएको अवस्थामा भेटिए । धेरै विद्यार्थीको खुट्टामा चप्पलसमेत थिएन ।
उनीहरुले लुगासमेत राम्रो लगाएका थिएनन् । उनीहरुको अवस्था हेर्दा विपद्मा परेका बालबालिकाहरु राहतको लाइनमा लागेको जस्तो देखिन्थे ।
विद्यालयकी एक शिक्षिका भन्छिन्, ‘यहाँको अवस्था यस्तै छ । अभिभावकले आफ्ना बालबच्चालाई यस्तो अवस्थामा विद्यालय पठाउँछन् । विद्यालय पोसाकमा पठाउभन्दा मान्दैनन् ।’ विद्यार्थीहरुको सरसफाइ अवस्थासमेत राम्रो थिएन ।
एउटै कोठामा तीन कक्षाका विद्यार्थी
विद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छिन्, मधु केसी । विद्यालय स्थापनादेखि नै कार्यरत उनी लामो समयदेखि विद्यार्थी पढाउँदै आएकी छन् । उनले आफूले नियमितरुपमा बालविकासदेखि कक्षा तीनसम्म अध्ययन गराउँदै आएको बताइन् ।
विद्यार्थीहरुलाई दिवा खाजा बनाउने आधा घण्टाको समयबाहेक अन्य समयमा शिक्षक सरह अध्ययपन गराउँदै आएको उनको भनाइ छ । आइतबार मिसन टुडे दैनिक विद्यालयमा पुग्दासमेत उनी विद्यार्थीहरुलाई पढाइरहेकी थिइन् ।
उनीहरु पढाइरहेको कक्षा कोठामा बालविकासदेखि कक्षा १, २ र ३ कक्षाका विद्यार्थी संयुक्तरुपमा पढिरहेका थिए । एउटा कक्षामा दुईजना शिक्षिकाले पढाइरहेका थिए ।
उनले एकैदिन दुईजना शिक्षक विद्यालय नआएका कारण सजिलोको लागि एउटै कक्षामा पठाएको बताइन् । उक्त कक्षा कोठामा ५० जना विद्यार्थी सहभागी थिए ।
अर्को कक्षा कोठामा समेत कक्षा ४ र ५ कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर शिक्षिकाले पढाइरहेकी थिइन् । उक्त कक्षामा १६/१६ जना ३२ जनाको सहभागिता थियो ।
‘धेरै विद्यार्थी विद्यालय नै आउँदैनन् । आएका पनि पूरा समय बस्दैनन् । यहाँको अवस्था यस्तै छ हजुर,’ ती शिक्षिका भन्छिन्, ‘विद्यालयको अवस्था नाजुक छ । अभिभावकको चिन्ता नै छैन । हामीले मात्रै भनेर के गर्ने । हाम्रो माग सुनुवाइ हुँदैन । यसरी पढाउन बाध्य छौँ ।’
आइतबार उक्त विद्यालयमा एक सय विद्यार्थी पनि सहभागी थिएनन् । जम्मा ८२ जना विद्यार्थी सहभागी थिए । जबकी विद्यालयको तथ्यांकअनुसार विद्यालयमा विद्यार्थीको कूल संख्या दुई सय ४१ जना छ । बालविकास केन्द्रमा २३ जना छात्र र २१ गरी कूल ५४ जना विद्यार्थी अध्ययनरत छन् ।
कक्षा १ मा २० छात्र र २५ छात्रागरी ४५ जना, कक्षा २ मा २५ छात्र र २० जना छात्र गरी ४५ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस्तै कक्षा ३ मा २१÷२१ जना गरी कूल ४२ जना विद्यार्थी रहेका छन् । कक्षा ४ मा ७ जना छात्र र २२ जना छात्रा गरी २९ जना र कक्षा ५ मा ८ जना छात्र र २८ जना छात्रा गरी कूल ३६ जना विद्यार्थी छन् ।
अवस्था सुधारमा केन्द्रित छौं
मुवारक अली गुजर
वडाध्यक्ष, कोहलपुर–४
यो विद्यालयसँग स्थापनाकालदेखि म जोडिएको छुँ । हामीले धेरै संघर्ष विद्यालय यो स्थापन भएको हो । तर, जसरी अघि बढ्नुपर्ने हो त्यसरी अघि बढ्न सकेको छैन । यसमा मुख्य समस्या यहाँको समुदायको छ । समाज जागरुक छैन । विद्यार्थीहरुलाई नियमितरुपमा अभिभावक पठाउँदैनन् ।
उनीहरुलाई विद्यालय पोसाकसमेत नलाएर पठाउने अभिभावक छन् । लामो समय शिक्षक अभाव हामीले भोग्यांै ।
तर, म वडामा निर्वाचित भएर आएपछि यहाँको अवस्था सुधारलाई प्राथमिकता दिएको छुँ । यहाँ सरुवा भएका शिक्षकसमेत आउन मान्दैन थिए । उनीहरुलाई उपस्थित गराउन सफल भएको छुँ । भौतिक संरचना अभाव बिस्तारै पूर्ति हुँदैछ ।
यहाँको प्रमुख समस्याको रुपमा रहेको पर्खाल अभावको काम हुँदैछ । पाँच लाख रुपैयाँ लागतमा पर्खाल निर्माण भइरहेको छ । पर्खाल निर्माण भए पनि यहाँको आधा समस्या समाधान हुनेछ ।
खानेपानीको समस्यासमेत समाधान गरिरहेका छौँ । विद्यालयको शैक्षिक विकासका लागि कार्यपालिकामा निर्णय गराएर संघीय सरकारसँग एक करोड रुपैयाँ माग गरेका छौँ । बिस्तारै सुधार हुँदैछ ।