ग्रामीण क्षेत्रमा लागूऔषध विकराल बन्दै



वीरेन्द्र जैसी,नेपालगन्ज
गत असोज १४ गते बाँकेको जानकी गाउँपालिकामा एक २३ वर्षीया गोल्डी वर्माको शंकास्पद मृत्यु भयो । आफ्नो घरको ढोकामै झुण्डिएको अवस्थामा मृत फेला परेकी गोल्डीका श्रीमान् अहिले पनि फरार छन् । गोल्डीका माइतीले उनका श्रीमान्विरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरेका थिए । प्रहरी अझै अनुसन्धानमै रहेको बताउँछ ।


मृतक वर्माका पति निराजन लागुऔषध दुव्र्यसनी रहेको उनको परिवार बताउँछ । उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका, मदिरा र लागूऔषधमा फसेका, भएको सम्पत्ति बेचेर सकेका, सम्झाउँदा झगडा गर्ने गरेको उनकै परिवारका सदस्यहरु बताउँछन् । निराजनले गाउँघरमा पनि धेरै ढाँट्ने र ठग्ने गर्दै आएको परिवारका सदस्यहरु बताउँछन् । माइती पक्षले निराजनले गोल्डीको हत्या गरेको दाबी गर्दै आएको छ भने परिवारले निराजनको बानी व्यवहारका कारण आजित भएर आत्महत्या गरेको दाबी गर्दै आएको छ । जे भए पनि एक २३ वर्षीया महिलाको ज्यान जानुका पछाडि लागूऔषध दुव्र्यसनी नै कारण हो भन्ने एउटा उदाहरण हो, उक्त घटना ।

लागुऔषध दुव्र्यसनीले सहरमात्रै होइन गाउँहरुसमेत नराम्ररी प्रभावित भएका छन् । लागूऔषधको पहुँच अहिले बाँकेका गाउँगाउँसम्म पुगेको छ । यसको चपेटामा युवाहरुदेखि उमेर ढल्किसकेका व्यक्तिहरु पनि परेका पाइएको छ । जानकी गाउँपालिका ३ का एकजना ५३ वर्ष उमेर पुगेको बताउने भैँसीपालक किसान दुईजना बालबालिकासँग भैँसी चराइरहेको अवस्थामा मिसन संवाददातासँग भेट भयो । उनले कुराकानीका क्रममा खल्तीबाट प्लास्टिकको थैली निकाले । उक्त थैलीबाट ट्याब्लेटका पत्ता निकालेर देखाए । हत्तपत्त उक्त थैली फेरि खल्तीमा हालेर उक्त ट्याब्लेटको बखान गर्न थाले । कुरा बुझ्दै जाँदा त्यो ट्याबलेट लागूऔषध रहेछ । उनले ती ट्याब्लेटहरु गाउँकै औषधि पसलमा पाइने गरेको खुलाए । खुलमखुल्ला बिक्री हुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘कोड भाषामा कुरा गर्नुपर्छ । यसो साइडमा लागेर संकेतमा कुरा ग¥यो भने साहुजीले दिहाल्छ । रुपैडिहा गयो भने यहाँको भन्दा सस्तो पाइन्छ,’ उनले भने । उनी जसरी हल्कारुपमा ती ट्याब्लेटको चर्चा गरिरहेका थिए त्यतिकै हल्कारुपमा सँगै रहेका बालकहरुतिर देखाउँदै भन्दै थिए, ‘यीनीहरु पनि त खान्छन् । बालकहरु खितखिताउँदै थिए ।’

जानकी गाउँपालिका ३ का स्थानीय रमानन्द तमोली अहिले गाउँघरमा युवा पुस्ता लागूऔषधमा नराम्ररी फसिसकेको बाउँछन् । ‘अधिकांश युवाहरु बिग्रिसकेका छन् । गाउँगाउँमा यो औषधिहरु पाइन्छ । यसले घरघरमा कलह र तनाव निम्त्याइरहेको छ,’ उनले भने । पछिल्लो समय गाउँघरमा चोरीका घटनाहरु पनि बढ्न थालेका र त्यसमा लागूऔषध दुव्र्यसनीहरु नै संलग्न हुनसक्ने स्थानीयहरु आशंका व्यक्त गर्छन् । प्रहरी पनि गाउँघरमा बिरलै मात्रै पुग्ने गरेको र त्यसमा पनि लागूऔषध रोकथामकै लागि प्रहरीले ध्यानै नदिने गरेको स्थानीयहरुको आरोप छ ।

बाँके प्रहरीमा आइपुग्ने अधिकांश अपराधका मुद्दाहरु लागूऔषधसँगै जोडिने गरेका प्रहरी बताउँछ । हरेक दिनजसो लागूऔषधसहित युवाहरु पक्राउ पर्ने गरेका बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर बताउँछन् । लागूऔषध तस्करी गर्ने र बिक्रीवितरण गर्नेहरुलाई प्रहरीले कडाइपूर्वक निगरानी गरिरहेको उनले बताए । तर, लागूऔषध दुव्र्यसनीहरुलाई सुधार गर्नका लागि प्रहरीको प्रयासले मात्रै सम्भव नहुने उनले बताए । ग्रामीण क्षेत्रमा सहजै लागूऔषध पुगिरहेको छ भन्ने सूचना आफूहरुलाई नभएको उनको भनाइ छ । लागूऔषध बिक्रीवितरणलाई निमिट्यान्न पार्न सम्बन्धित क्षेत्रका प्रहरी अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन् ।

केही वर्ष पहिले बाँके प्रहरीले लागूऔषध नियन्त्रण महाअभियान नामक अभियान चलाएको बताएको थियो । निकै प्रचारप्रसार गरिएको उक्त अभियानले पनि लागूऔषध नियन्त्रणमा कुनै काम गरेको देखिएको छैन । यद्दपि प्रहरीसँग अहिले लागूऔषधविरुद्धको जनचेतनाको कुनै कार्यक्रम छैन । लागूऔषध नियन्त्रण ब्यूरोमार्फत यसविरुद्ध काम भइरहेको एसपी राठौरले बताए । नेपालगन्जमा प्रहरीसँगकै सहकार्यमा लागूऔषध दुव्र्यसनीविरुद्ध निःशुल्क परामर्श केन्द्र सञ्चालनमा छ । तर प्रहरीकै समन्वयको अभावमा उक्त केन्द्र पनि प्रभावकारी बन्न सकेको छैन ।
एसपी राठौर अब स्थानीय तहले नै लागूऔषधविरुद्ध प्रभावकारी जनचेतनामूलक कार्यक्रमहरु तय गर्नुपर्ने र प्रहरीले त्यसमा सहकार्य गर्ने बताउँछन् । ‘लागूऔषधलाई रोक्न प्रहरी एक्लैले मात्रै सम्भव छैन । यसमा परिवारकै सबैभन्दा ठूलो हात हुन्छ । आफ्नो घरको सदस्य के गरिरहेको छ भन्ने बारेमा जानकारी राख्ने, कूलतमा फस्न नदिने र फसिहालेमा सुधार्ने काममा जिम्मेवारी बहन गर्नुपर्छ । स्थानीय तहले जनचेतनामूलक कार्यक्रमहरु तय गर्ने र प्रहरीले सहकार्य गरेमा यसविरुद्धका कार्यक्रमहरुलाई निरन्तर अघि बढाउन सकिन्छ,’ उनले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार