विद्यार्थी किन आउँदैनन् ?, ‘विवाह छ’



वीरेन्द्र जैसी,नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित लाला भुवनेश्वरी प्राथमिक विद्यालयमा आइतबार न्यून संख्यामा विद्यार्थीहरु उपस्थित थिए । विद्यालयका अनुसार भर्ना कुल विद्यार्थी संख्या एक सय ८३ जना रहे पनि आइतबार विद्यालयमा मुस्किलले डेढ दर्जन विद्यार्थी मात्रै उपस्थित थिए । उपमहानगरपालिकाबाट नियमित अनुगमनमा गएका कर्मचारीहरुले विद्यार्थीको न्यून उपस्थितिबारे प्रश्न गर्दा विद्यालयका प्रधानाध्यापकले जवाफ दिए, ‘गाउँमा सादि विवाहको सिजन छ । त्यही भएर विद्यार्थी कम छन् ।’


डेढ दर्जन विद्यार्थी मात्रै उपस्थित रहेको अवस्थामा मध्यान्नपछिको कक्षामा दुईवटा कक्षा मात्रै चलिरहेका थिए । अर्थात्, दुईवटा कक्षालाई एउटै कक्षामा राखेर पढाइरहेका थिए । अरु कक्षा कोठा खाली थिए । चारजना शिक्षकमध्ये एकजना शिक्षक अनुपस्थित थिए । प्रशस्त भौतिक पूर्वाधार भएको उक्त विद्यालय सुनसान जस्तै थियो । विवाहको सिजनका कारण विद्यार्थीहरु विद्यालय नआउने गरेको जवाफ दिने भुवनेश्वरी मात्रै होइन ।

अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरु उपस्थित नहुनुका पछाडि विवाहको सिजनलाई कारण देखाउने गरेका पाइएको छ । नेपालगन्ज वडा नम्बर ११ स्थित मदरसा दारुल उलुम बरकातियाका प्रधानाध्यापक पनि आइतबार विद्यालयमा राखिएका विद्यार्थीहरुको साइकल देखाउँदै भन्दै थिए, ‘विवाहका कारण धेरै विद्यार्थीहरु विद्यालय आएका छैनन् । नत्र अहिले यहाँ भएका साइकलभन्दा दोब्बर साइकल देख्न पाउनुहुन्थ्यो ।’ नेपालगन्ज वडा नम्बर २३ मा रहेको प्राथमिक विद्यालय जंगलीसिंहपुर्वामा पनि विद्यार्थीहरु कम उपस्थित हुनुका पछाडि विवाह नै कारण रहेको जवाफ विद्यालयका शिक्षकले दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाह पनि विद्यालयमा विद्यार्थीहरु उपस्थित भएको कारणमा अधिकांश विद्यालयले विवाह, भोजभतेर, चाडपर्व जस्ता कारण देखाउने गरेको बताउँछन् । यीनै कारणले विद्यार्थीहरु अनुपस्थित भएको कारण देखाएर प्रधानाध्यापकहरु उम्किने गरेका पाइएको छ । विशेषगरी प्राथमिक विद्यालयमा अहिले विद्यार्थी न्यून उपस्थित हुने, शिक्षकहरुले लापरबाही गर्ने, अभिभावकले पनि विद्यार्थीलाई विद्यालय पठाउन ध्यान नदिने गरेको पाइएको शाह बताउँछन् ।

दिवा खाजामा चाउचाउ, दालमोठ र भुजा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित लाला भुवनेश्वरी प्राथमिक विद्यालयमा आइतबार नेपालगन्ज उपमहानगरपालिकाले नियमित अनुगमन ग¥यो । अनुगमनका क्रममा केही विद्यार्थीहरुलाई शिक्षकहरुले खाना खान घर पठाएको पाइयो । जबकी विद्यालयलाई दिवा खाजाका लागि उपमहागरपालिकाले उपस्थित विद्यार्थी संख्याका आधारमा रकम निकासा गर्दै आएको छ । दिवा खाजा नखुवाएर विद्यार्थीहरुलाई घर पठाएको विषयमा सोधिखोजी गर्दा विद्यालयमा त्यसदिन कार्यालय सहयोगी बिनाकारण अनुपस्थित रहेको पाइयो ।

जबकी विद्यालयमा कार्यालय सहयोगी विशेष कारण वा बिरामी परेका बेलाबाहेक अनिवार्य उपस्थित हुनुपर्छ । कार्यालय सहयोगी उपस्थित नभएपछि विद्यार्थीहरुलाई भुजा र दालमोठ खुवाइएको पाइयो । विद्यार्थीहरुले त्यसदिन मात्रै नभइ अरु दिन पनि चाउचाउ, भुजा र दालमोठ खाजामा दिइने गरेको बताए । शिक्षकहरुले पनि उक्त कुरा स्वीकार गरेका छन् ।
सरकारले सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ ।

यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका तयार गरी देशभरिका विद्यालयमा उपलब्ध गराइएको छ । दिवा खाजामा प्याकेटमा उपलब्ध तयारी अवस्थाका वस्तुहरु र ‘जंक फुड’ खुवाउन मनाही गरेको छ । स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ उक्त पुस्तिकामा सुझाव दिइएको छ । तर विद्यालयमा दिवा खाजाका नाममा विद्यार्थीहरुलाई जंक फुड खुवाउने गरिएको उक्त विद्यालयमा पाइएको छ । उपमहानगरपालिकाले उक्त विद्यालयलाई दिवा खाजाको तालिका व्यवस्थापन गरेर खुवाउन निर्देशन दिँदै अबदेखि जंक फुड खुवाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार