21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

कांग्रेसको ‘अनपेक्षित’ हार किन ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर ७, २०७९  

वीरेन्द्र जैसी
नेपालगन्ज, ६ मंसिर
नेपालमा हालसम्म भएका सातवटा बहुदलीय निर्वाचनमध्ये नेपालगन्ज समेटिएको अलग्गै निर्वाचन क्षेत्र तोकेर ६ वटा निर्वाचनहरु भए । ती ६ वटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा नेपालगन्ज समेटिएको निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसलाई तीनपटक जित दिलाउने व्यक्ति थिए सुशिल कोइराला । त्यसैकारण कांग्रेसीहरु बाँके क्षेत्र नम्बर २ लाई शुसिल कोइरालाको विरासत भएको क्षेत्र भन्ने गर्दछन् । तर यसभन्दा अघिल्लो निर्वाचनमा कांग्रेसले त्यो विरासत बिर्सेर राप्रपाका उम्मेदवारलाई समर्थन ग¥यो । त्यतिबेला समर्थन गरेका उम्मेदवार पनि जित्न सकेनन् । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठायो तर अत्यन्त शर्मनाक हार भएको छ ।

बाँके क्षेत्र नम्बर २ का मतदाताहरुले अहिलेसम्मको निर्वाचनको इतिहासमा कसैलाई पनि लगातार दुईपटक जिताएका छैनन् । यसपटक पनि त्यो परम्परा नतोडिने देखिएको छ । निवर्तमान सांसद जसपाका मोहम्मद इस्तियाक राई राप्रपाका धवलशमशेरभन्दा फराकिलो मत अन्तरले पछि परेका छन् । यसपटक कांग्रेसलाई पनि अवसर त थियो । तर, कांग्रेसका सुदीपनरसिंह राणाले पाएको मत हेर्दा कांग्रेसलाई यसपटक मतदाताले सबक सिकाउन खोजेको भान हुन्छ । प्रतिनिधिसभामा मात्रै नभै प्रदेश सभामा पनि पार्दासम्म कांग्रेसको पक्षमा नतिजा आएन । अघिल्लो प्रदेश सभा निर्वाचनमा कांग्रेसका सुरेन्द्र हमाल प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको अहिलेसम्मकै कमजोर स्थिति हुनूका पछाडि पार्टी भित्रको राजनीति र उम्मेदवारको छनौटमा भएका कमजोरीहरु मुख्य कारण रहेको विश्लेषण भइरहेको छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल भने अहिले नै समीक्षा गर्ने बेला भइनसकेको बताउँछन् । मतगणनाको अन्तिम नतिजा आइसकेपछि निर्मम समीक्षा हुने उनको भनाइ छ ।

कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाका नजरमा अहिलेको परिणाम अत्यन्तै अनपेक्षित हो । कोइराला मूख्यगरी दुई कारणले यसपटक बाँके क्षेत्र नम्बर २ मा हार हुन पुगेको बताउँछन् । उनका अनुसार पहिलो कारण पार्टीभित्र उम्मेदवार छनौटका लागि खुला छलफलको अवसर कम दिइनु हो भने दोस्रो कारण उम्मेदवारको प्रचारप्रसारका लागि कम समय उपलब्ध हुनु हो । ‘पार्टीभित्र उम्मेदवार छनौट गर्दा जसरी खुलापन र रणनीतिक छलफल हुनुपथ्र्याे त्यो हुन पाएन । अन्तिम समयमा केन्द्रबाट उम्मेदवार तोकिएर आयो । अर्काेतिर हामीले उम्मेदवारलाई मतदातासमक्ष लिएर जान पर्याप्त समय नै पाएनौँ,’ कोइरालाले भने ।

वरिष्ठ पत्रकार एवं विश्लेषक हेमन्त कर्माचार्य यसपटक क्षेत्र नम्बर २ का मतदाताले दलगत भन्दा फरक मत दिएको बताए । उनले व्यक्ति हेरेर मतदाताले मत दिएको संकेत गरे । कर्माचार्य कांग्रेसले अब उम्मेदवार छनौटमै सुधार गर्नुपर्ने सुझाव दिन्छन् । यसका साथै संगठन सुदृढिकरणमा पनि कांग्रेसले मिहिनत गर्न नसकेको उनको बुझाइ छ । कर्माचार्यका बुझाइमा यसपटकको निर्वाचनमा अग्रता लिइरहेका डा. राणाले प्रतिस्पर्धीहरुको कमजोरीको फाइदा पाएका हुन् । ‘अरु उम्मेदवारहरु एक महिनजा अघि नै प्रचारमा गइसकेका थिए । तर कांग्रेसको उम्मेदवार नै तय भएको थिएन,’ कर्माचार्यले भने, ‘उम्मेदवार तोकिएर आएपछि पनि जसरी तयारी हुनुपर्ने हो त्यो हुन पाएन । अर्काेतिर जसपाका राईप्रतिको वितृष्णा र संशयको फाइदा राणाले पाएका हुन् ।’

कांग्रेस बाँकेमा सचिव सुधांशु कोइराला अब उम्मेदवार छनौटको प्रणाली वैज्ञानिक नबनाएसम्म पार्टीको स्थिति नसुध्रिने बताउँछन् । मतगणनाको सबै परिणाम आइसकेपछि यसबारेमा गम्भीर छलफल हुने उनको भनाइ छ । ‘यसबारेमा हामी छलफल गर्छाैँ । जिल्लामै रहनुभएका केन्द्रियस्तरका नेताहरुले गरेका कमजोरीहरुबारे पनि भन्छौँ । सुधारका लागि पहल गर्छाैँ,’ कोइरालाले भने ।

कांग्रेसमा क्षमताभन्दा पार्टीमा बिताएको समय, पार्टीलाई दिएको योगदान र केन्द्रिय नेताहरुको आशिर्वादले उम्मेदवार छनौट हुने गरेका छन् । यसपटक उम्मेदवार छनौटका लागि कांग्रेस केन्द्रले जिल्लाबाट आकांक्षीहरुको नाम मागेको थियो । जतिबेला क्षेत्र नम्बर २ मा जसपा र कांग्रसबीच तालमेल हुने चर्चा थियो । तर, त्यो तालमेल भएन ।

अन्तमा आकांक्षीमध्येका कांग्रेसभित्र अन्य नेताहरुभन्दा कम नाम सुनिएका सुदीपले टिकट पाए । उनले टिकट पाएपछि पार्टीभित्रै एक तप्काले संस्थापनइतरलाई जिल्लामा बेवास्ता गरिएको जस्तो असन्तुष्टि पनि पोखेको थियो । पार्टीबाहिर पनि सुदीप त्यति परिचित नभएको चर्चा त्यतिबेलै सुरु भइसकेको थियो । तर कांग्रेसले न आफ्ना उम्मेदवारबारे जनतालाई राम्ररी बुझाउन सक्यो न संगठनलाई एकबद्ध भएर मतदान गर्ने वातावरण बनाउन सक्यो । त्यसकै परिणाम अहिले कांग्रेस बाँके क्षेत्र नम्बर २ मा ‘अनपेक्षित’ हार भएको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर ७, २०७९     8:53:32 AM  |