20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

सुर्खेतमा ७२ सिटे उडान सफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १, २०७९  

सुर्खेत,  बुद्ध एयरले सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर विमानको सफल परीक्षण गरेको छ । ४२ सिटे मात्र उडान हुँदै आएको उक्त विमानस्थलमा बुद्ध एयरले बुधबार ७२ सिटे विमान सफल परीक्षण गरेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा बुधबार बिहान बुद्ध एयरको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल अवतरण गरेको हो । यसअघि सुर्खेत विमानस्थलमा ४२ सिटका विमान मात्रै उडान–अवतरण हुँदै आएका थिए । यो परीक्षण उडानको रिपोर्ट आएपछि जनवरी २०२३ देखि ठूला विमान उडानको अनुमति दिने प्राधिकरणले जनाएको छ ।


ठूला विमान उडान हुँदा यात्रुलाई भाडामा पनि सहुलियत हुनेछ । बुद्ध एयरका अनुसार ७२ सिटे जहाजको काठमाडौं–सुर्खेत न्यूनतम भाडा दर सात हजार पाँच सय हुनेछ । यसअघि श्री एयरलाइन्सले पनि ७२ सिटे विमानको परीक्षण उडान गरेको थियो । परीक्षण उडानमा अनुकूल रहेको निष्कर्ष निकाले पनि श्रीएयरलाइन्सले उडान नियमित गर्न सकेको छैन । बुद्धले भने यसको रिपोर्ट आएपछि दैनिक दुई उडान गर्ने जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर १, २०७९     3:31:35 PM  |