वीरेन्द्र जैसी
‘ऊ यस्तो पात्र हो, जसको पानको पसलमा हिन्दु र मुस्लिम समुदाय आआफ्नो छतको झन्डा उतै छाडेर आउने गर्छन् । उसले थमाएको पानको बिडा मुखमा बुज्याउँदै ती एकछिनलाई विनोदी बाँकेलाल भइजान्छन् ।’ यी वाक्यहरु लेखक सिवानीसिंह थारुको एउटा लेखबाट साभार हुन् । नेपालगन्जको मौलिकता र यहाँको सद्भावका अन्तरकुन्तर बताउन ‘सहरका कथा’ लेख्ने क्रममा उनले एक पात्रलाई उजिल्याउन यो वाक्यांश लेखेकी हुन् । थारुको उक्त कथामा पान पसले पात्रजस्तै छन् नेपालगन्ज वडा नम्बर ८ का ६५ वर्षीय राधेश्याम वैश्य ।
त्रिभुवन चोकबाट करिब ५० मिटर पश्चिमबाट एकलैनीतिर लाग्ने गल्लीमा राधेश्यामको घर छ । उनको घरकै ढोकामा छ, ‘श्याम पान भण्डार’ । नेपालगन्जका ‘फेमस’ पान पसलहरुमध्ये एक पसल हो राधेश्यामको, ‘श्याम पान भण्डार’ । उनको पसलको बोर्ड त छैन तर उनको पसलको नाम उनको पानका पारखीहरुका मनमा चपक्क टाँसिएको छ । कसैले उनको पसललाई ‘राधे पान भण्डार’ का नामले पनि चिन्छन् । राधेश्याम भन्छन्, ‘आखिर दुवै एउटै त हो । राधे पनि श्याम हो, श्याम पनि राधे हो ।’
राधेश्यामको पान भण्डारमा पान खान पुगेका एकजना भन्दै थिए, ‘यो एरियामा यिनको भन्दा पुरानो पान पसल छैन । उनको पान खान धेरै टाढाबाट मानिसहरु आउँछन् ।’ हुन पनि राधेश्यामले पान बेच्न थालेको करिब ४० वर्ष भइसेकको रहेछ । राधेश्यामका बुवा कपडाका व्यापारी थिए । उनले छोरालाई पढाए । राधेश्यामले हाइस्कुल पास गरे । त्यतिबेला कक्षा १० पास गरेकाहरुलाई सजिलै जागिरको अवसर हुन्थ्यो । राधेश्यामले पनि अवसर नपाएका होइनन् । तर ती अवसरहरु उनका लागि उपयुक्त लागेनन् । ‘धेरै ठाउँबाट अफर आएको थियो । भेरी हस्पिटलबाट पनि अफर आएको हो । काठमाडौं पनि गएको हो । तर जागिरले परिवार पाल्न सकिएला जस्तो लागेन । त्यसपछि फर्केर आएर पान पसल खोलेँ,’ उनले भने ।
राधेश्यामलाई पानसँग गहिरो प्रेम बस्दै गयो । घरको बाहिरपट्टि बसेर सहरका मानिसहरुलाई उनीहरुको रोजाइको पान बनाएर बेच्न पाउनुलाई उनले सन्तुष्टिको रुपमा बुझे । पान पसलले उनलाई अर्थ पनि मनग्गे दियो । दुई छोरा र दुई छोरीका पिता राधेश्यामले सबै छोराछोरीलाई पढाए । दुवै छोरीहरु स्कुलमा शिक्षक छन् । छोराहरु भने पान पसलमै ६५ वर्षीय पितालाई सघाइरहेका छन् । एक छोरीबाहेक सबैको बिहेबारी गराए । पहिले एक तलाको मात्रै रहेको घरमा तला थपे । ‘एउटा पान पसल चलाएर यति गर्नु पनि चानुचुने कुरा होइन,’ राधेश्याम भन्छन् । अझ यसभन्दा बढी उनले आफ्नो घरको बाहिरपट्टि बसेर सहरको विकासक्रम नियाले । उनकै अघि नेपालगन्जमा मानिसहरुको आवादी कहाँदेखि कहाँ पुग्यो । विकासका अनेक चरण, आन्दोलन र दंगाफसादका अनेक घटनाहरु उनले एक पान पसलेका नजरबाट नियाले । मानिसहरुका अनुहारहरु पढे ।
उनको पानले सहरमा मुस्किल घडीहरु आएका बेला पनि मानिसहरुलाई जोडिरह्यो । हिन्दु धर्मावलम्बी राधेश्यामको पसलमा पान खान आउनेहरुले आफ्नो मजहवको झण्डा हेर्दैनन् जस्तोसुकै बखतमा पनि । सहरमा पटकपटक हिन्दु र मुस्लिम समुदायहरुलाई बाड्नेगरी दंगाहरु भए । त्यसबखत पनि हिन्दु र मुस्लिम समुदायका मानिसहरु राधेश्यामले एकैपटक मसला लगाएको पान खाँदै गला मिल्थे । एकपटक बाहेक उनको पसलमा कुनै पनि दंगाका बेला मानिसहरु नआएको रेकर्ड छैन । ‘एकपटक त दुई समुदायहरु बाँडिएर । एकातिर मुस्लिम मात्रै र अर्काेतिर हिन्दु मात्रै भएका थिए । त्यतिबेला पनि मानिसहरु उनको पान खान आइरहन्थे ।’
राधेश्यामलाई आफ्ना पान पारखीहरुको स्वाद र रोजाइ पनि सधैं भनिरहनु पर्दैन । पान चाहियो भन्ने इशारा गरेपछि उनले कस्तो पान ? कुन मसला कति राख्नुपर्छ सबै थाहा पाइहाल्छन् । उनी भन्छन्, ‘पान नेपालगन्जको खासियत हो । यहाँका अधिकांश मानिसहरु पानका पारखी छन् । त्यसैले यसलाई नेपालगन्जको मौलिकतासँग पनि जोडेर हेर्नुपर्छ ।’ नेपालगन्ज बाहिरबाट आउनेहरु पनि राधेश्यामको पान पसल खोज्दै आइपुग्छन् । कसैले सँगै फोटो खिच्छन् । कतिले भिडियो बनाउँछन् । मिसन टुडेकर्मीले फोटो खिच्न खोज्दा उनले ढाका टोपी लगाए र त्यसपछि फोटो खिच्न आग्रह गरे ।
अहिले उनलाई पान पसलमा सघाइरहेका जेठा छोरा चन्दन गुप्ता भने अब उनको परिवारमा पानको व्यापार गर्ने आफ्नो पुस्ता अन्तिम पुस्ता हुने बताए । उनले अगाडि भने, ‘यो पेसा नराम्रो भनेर होइन । अब अर्काे पुस्ताले अरु काममा पनि आफूलाई विस्तार गर्नुपर्छ भनेर हो । बुवाले हामीलाई यहाँसम्म ल्याउनुभयो । अब हाम्रा छोराछोरीले अरु क्षेत्रमा पनि जान सकिन्छ भनेर देखाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्