23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

रातो अभियान्ताको कथा : दुर्गा सापकोटा जसले ‘रातो पहिरनका लागि विद्रोह’, गरिन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ३०, २०७९  

शुभाकर विश्वकर्मा,कोहलपुर
‘जीवनलाई दृष्टि कै सुन्दर फूल भनेर अर्थाइदिएँ, अहिले मैले । खै मलाई थाहा छैन, अर्थाएको जीवन सुन्दर फूलभित्र पर्छ की पर्दैन ।’ मदन पुरस्कार विजेता झलककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ पुस्तकको प्रारम्भको वाक्यांश हो यो । घिमिरले जीवनलाई सृष्टि कै सुन्दर फूल भनिन् । आफू भने आजीवन एक अशक्त जीवन बाँचिरहेकी छिन् । उनले भने जस्तै जीवन काँडा र फूल मात्रै होइन भन्ने उदाहरण, हुन् दुर्गा सापकोटा ।


जीवनप्रति उनको आफ्नै विश्लेषण छ, ‘जीवन भगवान्को वरदान हो । एकल महिलाको जीवन भयानक हो । जीवन भोगाइको अर्को प्रमाण हो ।’ झलक र दुर्गा दुवै महिला हुन् । उनीहरुका जीवन भोगाइ भने भिन्न छन् । झलकले बालापनदेखि अशक्त जीवन बाँचिरहेकी छिन् । दुर्गाले कलकलाउँदो उमेर एकल महिलाको रुप सामाजिक संस्कारले उपहार दियो । २०१९ सालमा पोखरामा जन्मिएकी दुर्गा सापकोटाको २० वर्षको उमेरमै मागी विवाह भयो । विवाह भएको चार वर्षमै उनको सिउँदो पुछियो । पति कृष्णप्रसाद सापकोटाको क्यान्सरका कारण मृत्यु भयो । पति मर्दा दुर्गाको कोखमा उनको नासो हुर्किरहेको थियो । नियतीले उनलाई केवल २३ वर्षको उमेरमा एकल महिला बनाइदियो । सेतो पहिरन मै छोरीलाई जन्म दिइन् । समय बित्दै गयो । युवा अवस्थामै सिउँदो पुछिँदाको भयानक क्षण उनलाइै मात्रै थाहा छ । भोगाइ र अनुभवबीच धेरै अन्तर हुन्छ । त्यो भोगाइ दुर्गाले भोगेकी छन् ।


बाचुञ्जेल शिरमा सिन्दुर, निधारमा रातो टीका र हातमा चुरा, गलामा पोते र रातै सारी लगाउने सपना टुट्यो । श्रीमान्को मृत्यु हुँदा आफू मरेतुल्य भएको निर्मम सत्य सुनाउँछिन्, उनी । भन्छिन्, ‘जीवन काँडा र फूल दुवै हो । त्योभन्दा पनि महिलाका लागि निकै अप्ठ्यारो सत्य हो, जीवन । जहाँ जीवन जिउन आफू हार्नुपर्छ । पलपल मर्नुपर्छ ।’ श्रीमान्को मृत्यु हुँदा सिउँदोको सिन्दुर पखाल्दा जीवनको रंगीन रङ पुछिएको आभास गरिन् । चुरा फुटाउँदा जीवनको अर्थ । सेतो सारी लगाउँदा ‘अभागी’ नारी । सृष्टिको नियमभन्दा पनि यी कुरा पृत्तिसतात्मक सोच र समाजको कुरूप सत्य रहेको उनको ठम्याइ छ । उनी सोच्थिन्, पुरुष मर्दा मात्रै महिलाले आजीवन किन सेता लुगा लगाउनुपर्छ ? किन रातो चुरा लगाउनु हुँदैन ? एकल महिलाले फेरि चुरा पोते लगाउनु पाप हो ?
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ की दुर्गाले त्यही भएर सुरु गरेकी हुन्, ‘रातो अभियान ।’ यो अभियान २०५७ सालतिर सुरु भएको हो । सचेत महिलाको परिचय बनाएकी उनी सामाजिक क्षेत्रमा क्रियाशील थिइन् । एकल महिलाले पनि फेरि रातो पहिरन लगाउनुपर्छ भन्ने अभियानको सुरुवात उनले आफैँबाट सुरु गरिन् । जुन कुरा एक बुहारी र एकल महिलाका रुपमा फलामको चिउरा चपाउनुभन्दा कम्ता कठिन थिएन । दुर्गाले आँट र साहस गरिन् ।

                        बुहारी दुर्गालाई रातो टीका लगाएर ‘रातो अभियान’ सुरु गर्दै ऋखेश्वरी सापकोटा 

संसार बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ भने झैँ रातो चुरापोते लगाउने अभियान आफैँबाट सुरु गरिन् । उनले सबैभन्दा पहिला घरमा सासुलाई भनिन् । उनी सासुसमेत एकल महिला थिइन् । उनले बुहारीको आग्रहलाई नकार्न सकिनन् । ‘मैले घरमा कुरा राखेँ । सबैजना सहमत हुनुभयो । सासुले म लगाउदिन तिमी लगाउ भन्नुभयो,’ उनी भन्छिन् । उनलाई संसार जिते जस्तो भयो ।
एकल महिला भएको १६ वर्षपछि उनले रातो चुरापोते लगाइन् । त्यतिबेला उनले आफ्नो विवाह भएको दिन सम्झिइन् । स्वर्गीय श्रीमान् सम्झिइन् । ठूलै युद्ध जितेजस्तो अनुभव भएको उनले सुनाइन् । त्यसपछि सुरुभयो, ‘उनको चुरापाते अभियान ।’ त्यो अभियानलाई उनले टोल गाउँ हुँदै जिल्लासम्म पु¥याइन् । अन्य एकल महिला आफँै उनको अभियानमा काँधमा काँध मिलाउन थाले । त्यतिमात्रै होइन सरकारी निकायले समेत त्यो अभियानमा चासो राखे । बर्दियामा पहिलोपटक सरकारी निकायकै आयोजना एकल महिलाहरुलाई सम्मान कार्यक्रम गरियो । पछि दुर्गाले सुरु गरेको अभियान चितवन, काठमाडौँ हुँदै विभिन्न जिल्लामा फैलियो । नेपालका अधिकांश जिल्लामा अभियानकै रूपमा सुरु भएको उनले सुनाइन् । ‘मैले सुरु गरेको सानो काम अभियानका रुपमा सञ्चालन भयो । जिल्लाजिल्लामा फैलियो । महिलाहरु आफैँ जागरुक हुन थाले । त्यसलाई मलाई सबैभन्दा धेरै खुसी दियो,’ उनी संघर्षका दिन सम्झिँदै भन्छिन् ।


दुर्गाले पछि संस्थागतरुपमा अभियान सञ्चालन गरिन् । अहिले पनि उनी एकल महिलाहरुको अधिकारका विषयमा वकालत गरिरहेकी छन् । हाल कोहलपुर–२ मा बसिरहेकी उनी व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्छिन् । समाजमा एकल महिलालाई हेर्ने नजर अझै पनि बदलिएको छैन । पहिलाभन्दा अहिले केही दृष्टिकोण फेरिए पनि राज्यले उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन नसकेको देखिन्छ । उनी भन्छिन्, ‘राज्यले भत्ता मात्र दिने होइन । एकल महिलालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’

छोरी, आमा र एकल महिलाका रूपमा जीवनमा धेरै आरोहअवरोह व्यवहोरेकी दुर्गाको अब एउटै माग छ, ‘राज्यका निर्णायक तहमा महिला सहभागिता अनिवार्य हुनुुपर्छ । महिला र पुरुषमाथि हुने विभेदको अन्त्य हुनुपर्छ । महिलाले समाजमा एकल भएकै कारण बारबार आफ्नो सपना दबाएर बस्ने वातावरण नहोस् भन्ने उनको चाहना छ । स्थानीय सरकारले समेत एकल महिलाका बारेमा गम्भीर रूपमा सोच्नुपर्छ ।’ अरुकी आमालाई सधै रातो पहिरनमा देखेकी सन्ध्याले पनि सधै आमालाई रातो लगाउन उत्प्रेरणा दिन्थिन् । उनले भन्थिन्, ‘आमा, मेरा लागि भए पनि कोठाभित्रै रातो पहिरण लगाइदिनूस् । रातो पहिरन लगाउँदा तपाईंको रुप कस्तो हुन्छ म हेर्छुँ ।’ यति मात्र होइन, उनको घरपरिवारले रातो अभियानमा साथ, सहयोग र हौसला प्रदान गरेको छ । यही अभियानमा दुर्गा विभिन्न तालिम, गोष्ठीमा सहभागी भइन् । जसले रातो अभियानमा ठूलो मद्दत पुग्यो । यो अभियानमा विभिन्न अवरोधहरु सिर्जना भए । तर, उनले अवरोधलाई सामना गरिन् र अहिले सफलता प्राप्त गरिन् ।

 

प्रकाशित मितिः बुधबार, कार्तिक ३०, २०७९     9:50:57 AM  |