शुभाकर विश्वकर्मा । कोहलपुर ।
कैलाली जानकी गाउँपालिका–१ की भागीरथी चौधरी मृगौला रोग पीडित हुन् । उनका दुवै मृगौला फेल भएका छन् । उनी विगत चार वर्षदेखि कोहलपुरमै बसेर डाइलसिस गरिरहेकी छिन् । चौधरीको जीवन डाइलसिसमै निर्भर छ । रोग लागेर मृगौलाले काम गर्न छोड्दा एक जीवन रक्षक विधिको रुपमा रहेको डाइलसिस सेवा नपाउँदा उनी अस्पतालको भुँइतलामा मृत्यु पर्खिरहेकी छिन् । उनी भन्छिन्, एकसातादेखि डाइलसिस नै भएको छैन ।
अस्पतालमा आउँदा बन्द भएको बताउँछ । हारगुहार गर्दासमेत गर्दैन । सर, मृत्यु कुरिरहेकी छु म ।’ चौधरी विगत चारवर्ष यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी छन् ।उनले कोहलपुरमा भाडामा बसेर हप्ताको दुईदिन डाइलसिस सेवा लिइरहेकी थिइन् । गत शुक्रबारबाट सेवा बन्द गरिएपछि उनी मर्कामा परेकी छन् ।
‘उपचार गराउँदा घरखेत सबै बेचिसके । छोराहरु परदेशमा छन् । यहाँ सेवा नै बन्द भयो ।’ उनले सुनाइन् । उनको जस्तो समस्या भोगिरहेका छन्, कोहलपुर– २ का २४ वर्षीय रवी थारुले । उनी पनि तीन वर्षयता कोहलपुरमा डाइलसिस गराइरहेका थिए । कोहलपुरमा अनिश्चितकालीन रुपमा सेवा बन्द भएपछि कहाँ जाने, के गर्ने उनी दोधारमा छन् ।
आइतबार श्रीमतीसहित अस्पतालमा भेटिएका उनले विलौना सुनाए, ‘यहाँ डाइलसिस गर्न महाभारत छ । न त सेवा राम्रो थियो, नत अस्पतालको राम्रो केयर । अब त्यो पनि बन्द गरिदिए । बाँच्छु जस्तो लागेको छैन ।’ उनले हप्ताको दुईदिन डाइलसिस गर्दै आएका थिए । अहिलेसम्म उपचारकै लागि १० लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।
५६ वर्षीया बालकुमारी श्रेष्ठको पीडापनि कम्ता पीडादायिक छैन । बर्दियाको बढैयातालकी उनी उपचारकै लागि चप्परगौडीमा बसोबास गर्दै आएकी छन् । बुढेसकालमा दुई दिन बिराएर अस्पताल धाउनुपर्दा उनी दिक्क भएकी छन् । डाइलसिसको भरमा सानो बाँच्ने आशा पनि सेवा बन्द भएपछि मरिसकेको उनले सुनाइन् ।
‘राज्यले दुःख गरेर बाँच्छौ भन्दा पनि दिदैन । यो कस्तो समस्या, पैसा तिर्दापनि बाँच्न नपाउने ?’ उनले भनिन् । उनले कोहलपुरमा डाइलसिस गर्न लागेको मात्रै पाँच वर्ष बितिसकेको छ । अहिले सेवा नै बन्द भएपछि आफूहरुलाई ठूलो समस्या परेको उनले बताइन् । यस्तै गुलरियाकी मृगौला पीडित पवित्रादेखि सुवेदीको उपचारको लागि उनका छोरा मुकुन्द सुवेदी हरेकपटक उतैबाट गाडीमा आउँछन् । उनका अनुसार कहिल्यै पालो नै पाउँदैन थियो, पालो पाइएपनि गुणस्तरीय सेवा कहिल्यै पाइएन ।
यस्तै बढैयातालका मोहनसिंह शाही, बारबर्दियाका जग्गु थारु, दिलबहादुर रावत र जिरिजमान चौधरी, जनक शाही, चन्द्रबहादुर रानासहित कूल ४० जना विरामी शुक्रबारदेखि उपचार अभावमा छट्पटिरहेका छन् । अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म डाइलसिस सेवा सञ्चालन हुँदै आएको थियो ।
डाइलसिसको दिउँसो गरेमा ४ हजार र रातीको समयमा गरेको ८ हजार रुपैयाँ अस्पतालले लिदै आएको थियो । उनीहरुका अनुसार दैनिक १५ देखि २० जना मृगौलाको समस्या भएका बिरामी आइरहेका थिए । मेडिकल कलेजमा हरेक दिन ६० जना भन्दा बढी बिरामी आउने
गर्छन् । ती मध्ये ४० जनाले मात्रै पालो पाउँथे ।
‘बाध्य भएर कदम चालेका हौँ’
शिशिर शाह
म्यानेजर
बिरंग हेल्थ केयर प्रा.लि.
हामी र अस्पतालबीच भएको सम्झौतामा सेवा दिइरहेका थियौँ । हामीले त्यहाँ सेवा दिन थालेको चार वर्ष भयो । यस्तो समस्या कहिल्यै भएको थिएन । सेवा सञ्चालन गरेबापत अस्पतालले हामीलाई पैसा दिनुपर्छ । विगत एक वर्षको हामीले अस्पतालबाट एक रुपैयाँसमेत पाएका छैनाँै । अस्पताललाई भन्दा मन्त्रालयले दिएको छैन भन्छ ।
यो बीचमा हामीले कर्मचारीहरुको तलबसमेत रोकेर बिरामीको उपचार गरेको हो । अस्पताललाई भन्दा मानेन । सेवा बन्द गर्नु हाम्रो रहर होइन । बिरामीका समस्या म बुझ्छु । हामीले अस्पतालबाट पाउनुपर्ने २ करोड रुपैयाँ पाएका छैनाँै ।
कुनै पनि विकल्प नभएपछि हामीले बाध्य भएर यस्तो कदम चालेका हौँ । अस्पतालले पैसा दियो भने भोली नै सेवा सुरु हुन्छ । सेवा बन्द भएपछि अस्पतालले केही पैसा दिन्छु भनेको छ । हामीले पनि बाहिरबाट सामान ल्याएका छौँ । अब सेवा सुरु हुन्छ ।
‘हामीले सहयोग गरिसक्यौँ’
डा. रेशमबहादुर राना
निर्देशक
नेपालगन्ज मेडिकल कलेज कोहलपुर
यसको जिम्मा एउटा प्रा.ली.ले लिएको छ । के सामान नभएर बन्द भएको मैले सूचना पाएको छु । पुनः सञ्चालनको तयारी भइरहेको छ । उनीहरुलाई पैसा सरकारले दिनुपर्ने हो । हामीले दिने होइन । जे कारणले समस्या निम्तिएको थियो, उनीहरुलाई हामीले सहयोग गरिसक्यौँ । पैसा छैन,भनेपछि हामीले पैसापनि दियौँ ।
अरु पैसा सरकारले दियो भने दिइहाल्छौ नी । उनीहरुलाई हामीले पटकपटक सहयोग गर्दै आइरहेका छौँ । रोकिएको सबै थाहा छ । सुरु गर्ने प्रयासमा छौँ । आजै सेवा सुरु गर्छौ भनेपछि केही पैसा दिएको छु ।









प्रतिक्रिया दिनुहोस्