नेपाल र कोरियाबीच सम्बन्धका एक वर्ष



नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरूमा केही समानता पनि देखिन्छ।

डा शिवमाया तुम्बाहाङ्फे

नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरूमा केही समानता पनि देखिन्छ । नेपालको प्रतिनिधित्व गर्दै डा शिवमाया तुम्बाहाम्फेले राजदूतको औपचारिक जिम्मेवारी लिएर काम सम्हालेको एक वर्ष (७ जनवरी २०२५ देखि ७ जनवरी २०२६)मा पूरा भएको छ । यस अवधिमा भएका केही उल्लेखनीय कार्यहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

विभिन्न मुलुकका राजदूतसँगको औपचारिक भेटघाट

कोरियामा रहेका कूटनीतिक नियोगहरूको प्रमुख मोरेक्कोका कोरियाको लागि नेपाली राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । सो भेटको क्रममा व्यक्तिगत अनुभव, भविष्यमा हुनसक्ने सहकार्य र राम्रो अभ्यासहरूको बारेमा छलफल भएको थियो । कोरियाको लागि भारत, चीन, बङ्गलादेश, जापान, किग्रिज, म्यानमारका राजदूतहरूसँग शिष्टाचार भेट गरी दुई देशको अन्तरसम्बन्धको बारेमा छलफल भएको थियो । त्यस्तै कोरियाको लागि चिनियाँ राजदूतसँग शिष्टाचार भेट गरिएको थियो । ती देशहरूसँग नेपालको लामो समयदेखि राजनीति, सामाजिक, सांस्कृतिक साथै अन्य विभिन्न विषयमा रहँदै आएको अन्तरसम्बन्धको बारेमा छलफल भएको थियो । यसबीचमा गणतन्त्र कोरियाका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग पनि भेटघाट गरिएको र समसामयिक विषयमा छलफल भएको थियो । कोरियाको नेशनल एसेम्ब्लीको कोरिया–नेपालमैत्री समूहका सभापति तथा सदस्यहरूसँग पनि भेटवार्ता गरी दुई देशको मैत्री समूहको बीचमा समन्वय गर्ने काम भएको छ । नेपाल र कोरियाको संसदीयमैत्री समूहबीचमा अनुभव आदानप्रदान कार्यक्रम गर्ने सन्दर्भमा कोरिया–नेपालमैत्री समूहको नेपालमा भ्रमण हुने कार्ययोजना रहेको छ। यो बैठकमा नेपालमा कोरियाको प्रविधि र विकासको मोडललाई नेपालमा सम्भव भएसम्म कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाली प्राध्यापक तथा विद्यार्थीसँगको छलफल

लामो समयदेखि कोरियामा अध्यापन गर्दै आएका नेपाली प्राध्यापकहरूसँग कोरियाको शिक्षण पद्दति, नेपाल र कोरियाको शिक्षा क्षेत्रमा रहेका भिन्नता, नेपाली विद्यार्थीहरूको समस्या र अवस्था, प्रभावकारी शिक्षाका लागि कोरियाले अपनाएका विधिहरू, नेपालले अनुशरण गर्नसक्ने र नेपालका लागि आवश्यक सवालमा छलफल गरिएको थियो । उक्त बैठकमा १५ प्राध्यापकहरूको सहभागिता रहेको थियो । छलफलमा प्राध्यापकहरूले नेपालको शिक्षा प्रणालीको स्तरोन्नतिमा सरकारले पहल गर्नुपर्ने, कोरियाको विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति र अध्ययनपश्चात् रोगजारीको अवसरका लागि ध्यान दिन विश्वविद्यालयहरूसँग समन्वय गर्ने, अध्ययनपछि नेपाल फकिर्ने विद्यार्थीका लागि सरकारले रोजगारी तथा अन्य आवश्यक व्यवस्था गर्ने, गुणस्तरीय कोरियन विश्वविद्यालयको सूचीकरण गरिएको बारेमा नेपाली विद्यार्थीहरू तथा अभिभावकहरूमाझ जानकारी प्रवाह गर्नेलगायतका विषयमा जोड दिइएको थियो । कोरियाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दूतावासमा निमन्त्रणा गरी विद्यार्थीहरूको अवस्थामा छलफल गरिएको थियो । छलफलमा विद्यार्थीहरूले विभिन्न समस्याहरूका बारेमा जानकारी गराएका थिए ।

विद्यार्थीहरूले भिसा प्राप्त गर्न सहज बनाउनको लागि राजदूतावासले समन्वय गरी कोरियाको परराष्ट्र मन्त्रालय र राजदूतावासबीच दुईपक्षीय बैठक सम्पन्न गरिएको थियो । तत्पश्चात् नेपालमा भिसा सहजीकरण केन्द्रको स्थापना भएको छ । नेपालबाट कोरियामा अध्ययनको लागि आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भइरहेको छ । ३० नोभेम्बर २०२५ सम्म कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या १५ हजार ५९९ रहेको छ । विद्यार्थीको हित प्रवद्र्धनको लागि विभिन्न समयमा नेपाली विद्यार्थीहरू अध्ययनरत विश्वविद्यालयमा भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको छ । त्यस क्रममा विश्वविद्यालयका अध्यक्ष, डिन, विभागीय प्रमुखहरू, प्राध्यापक, विद्यार्थीका प्रतिनिधिहरूसँग विद्यार्थीका समस्याहरू, विश्वविद्यालयद्वारा विद्यार्थीलाई दिइएका सेवा सुविधा, होस्टलको सुविधा, ट्यूसन फि, विद्यार्थी ल्याउने प्रक्रिया र माध्यमका बारेमा छलफल भएको थियो । नेपाली राजदूवासबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विद्यार्थीको समस्याको विषयमा गरिएको पत्राचारको आधारमा मन्त्रालयले एक समिति गठन गरी प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ ।

विपे्रषण तथा बैंकका प्रतिनिधिसँगको बैठक

विपे्रषण तथा बैंकका प्रतिनिधिहरूसँग नेपाली राजदूतावासमा विभिन्न १४ वटा रेमिटेन्स कम्पनीहरूसँग बैठक सम्पन्न गरिएको थियो ।
नेपालमा वैधानिक रूपमा विपे्रषण पठाउनको लागि संस्थाहरूले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अझ प्रभावकारी रुपले काम गर्नको लागि प्रोत्साहित गरिएको थियो । राजदूतावासद्वारा सञ्चालित विभिन्न स्थानमा गरिएको धुम्तिसेवामा समेत रेमिटेन्स कम्पनीहरूको उपस्थिति हुने गरेको छ ।

एनआरएनएसँग छलफल

कोरियामा रहेका गैरआवासीय नेपालीहरूको संस्था (एनआरएनए)सँग नेपाली राजदूतावासमा भएको बैठकमा एनआरएनएको भूमिका नेपालको विकासको लागि अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । एनआरएनएबाट कोरियामा रहेका नेपाली कामदार र विद्यार्थीहरू समस्या परेको अवस्थामा सहयोग गर्दै आएकामा अझ बढी काम गर्ने तथा लगानी प्रवद्र्धनका क्षेत्रमा काम गर्नुपर्ने विषयमा दूतावासको तर्फबाट जोड दिइएको थियो ।

कोरियाली तथा बहुराष्ट्रिय कम्पनीहरू, सरकारी संस्थाहरूसँग बैठक

नेपालमा लगानी गर्ने इच्छुक कोरियाली कम्पनीहरू, कोरियाका सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू तथा अन्य बहुराष्ट्रिय कम्पनीहरूसँग नेपालमा लगानी प्रवद्र्धन गर्नको लागि विभिन्न समयमा बैठकहरू सम्पन्न गरिएका थिए । नेपालको जलविद्युत् क्षेत्र, स्मार्ट यातायात, कृषि, रेल पूर्वाधारको विकास, फोहर व्यवस्थापन, स्मार्टसिटीहरूमा लगानी गर्ने सम्बन्धमा छलफल भएको थियो । नेपालमा लगानी गर्न राम्रो वातावरण रहेकाले लगानीका लागि अनुरोध गरिएको थियो भने लगानीका नीतिहरूको बारेमा जानकारी गराइएको थियो । नेपालको रेल यातायत विकासका लागि कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया रेलरोड कर्पाेरेशनका प्रतिनिधिसँग विभिन्न चरणमा बैठक गरिएको थियो । यसैगरी बुसान टेक्नोपार्कका अध्यक्षसँगको बैठकपछि सूचना तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी सो कम्पनीसँग काम गर्नको लागि प्रकृया अगाडि बढेको छ । हिमाल संरक्षण, वातावरण, शान्तीको अभियानमा जोडिएर नेपालमा सहयोग र योगदान गर्ने व्यक्तित्वहरूसंगको शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

दूतावासबाट प्रदान गरिएका सेवाहरू

विगत एक वर्षमा दूतावासबाट विभिन्न किसिमका सेवाहरू प्रदान गरिएका छन् । यस बीचमा ३१ जना नेपाली कामदारको दुःख्द निधन भएको भनी अस्पतालबाट मृत्यु प्रमाणपत्र प्राप्त भएको एवं घट्नाको बारेमा नेपालमा घरपरिवारलाई यथाशीघ्र खबर गरी शव नेपाल पठाई परिवारलाई हस्तान्तरण गरिएको छ । विगतमा कोरियामा मृत्यु भएका १६ जना नेपाली कामदारको परिवारलाई क्षतिपूर्ति रकम नेपाल पठाइसकेको तथा अरु मृतक कामदारको बाँकी बक्यौता रकम र क्षतिपूर्ति सङ्कलन गर्ने कार्य भइरहेको छ । व्यक्तिगत प्रयत्नमा कुक (सेफ) काम गर्न कोरियामा आउने गत वर्षको पुस महिनादेखि हालसम्म जम्मा ६४ जना कामदारको श्रम सम्झौतापत्र प्रमाणीकरण गरिएको छ । श्रम स्वीकृति, सामाजिक कोषमा आबद्धता, कोरियाको कानुनी व्यवस्था, राहदानी र कन्सुलर सेवा, मादकपदार्थ सेवनबाट उत्पन्न समस्या, पारिवारिक सम्बन्धमा तिक्तता, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, कामदारहरूको उद्धार, राहत, क्षतिपूर्ति, सेल्टर र दोभासेको उपलब्धतालगायत अन्य विविध विषयहरूको सामाजिक सञ्जाल र फोनमा हुने दैनिक करिव ५० देखि १०० वटासम्मको गुनासा÷जिज्ञासाहरूको समाधानका लागि पहल गरिएको छ । नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय, वैदेशिक रोजगार विभाग, इपीस कोरिया शाखा, तथा कोरियामा परराष्ट्र मन्त्रालय, न्याय मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालय, मानव संशाधन विकास, तथा विभिन्न निकायहरूसँग आवश्यकता अनुसारका विभिन्न विषयमा पत्राचार र प्रतिवेदन तयार गरी पठाएको छ ।

मानवीय सहयोग

कोरियामा कार्यरत मानसिक समस्या आएका केही कामदारलाई मानसिक अस्पतालमा उपचार गर्न र मनोसामाजिक परामर्श सेवा प्रवाह गर्न सहयोग गरिएको छ । मानसिक स्वास्थ्यमा समस्या आएका १७ जना कामदारलाई परिवार तथा कोरियास्थित नेपाली समाजको सहयोगमा नेपाल पठाइएको छ । दूतावासमा जानकारी प्राप्त भएबमोजिम छजना नेपाली कामदारहरू औद्योगिक दुर्घटनामा परी उपचाररत रहेकोमा उनीहरूको स्वास्थ्य उपचारका लागि समन्वय र काउन्सेलिङ तथा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको छ । मानसिक स्वास्थ्य समस्या भएका ४० जनालाई भर्चुअल माध्यमबाट मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको र आवश्यकतानुसार चिकित्सा सेवाको लागि पठाइएको छ । नेपाली राजदूतावास दक्षिण कोरिया, वैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना र दुतावासको सहकार्यमा फेसबुक पेजबाट कामदारहरूको शारीरिक तथा मानसिक स्वस्थ्य समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भैरहेको तथा १० वटा भिडिओ ‘अपलोड’ भइसकेको छ । नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा स्वस्तिक हिमालयन ग्रुप प्रालिको व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिएको कार्यक्रम– सुनाँै सिकौँ कार्यक्रम निकै प्रभावकारी भएको छ । सन् २०२५ मे १३ तारिखसम्ममा कोरियाको बन्दीगृहमा सजाय भोगिरहेका नेपालीको सङ्ख्या पुरुष पाँच र महिला एक गरी छजना रहेका छन् । विभिन्न कामदारहरूलाई नेपाल पठाउन दूतावासबाट आर्थिक सहयोग गरिएको छ । बिरामी तथा अस्पताल भर्ना भएका विभिन्न व्यक्तिहरूलाई उपचार खर्चस्वरुप प्रतिव्यक्ति रु एक लाखका दरले दूतावासबाट सहयोग प्रदान गरिएको छ । जनरल फिजिसियन एवं साइकोलोजिष्ट डा.राजन लुइँटेलबाट कोरियामा रहेका श्रमिकहरूलाई आवश्यकता अनुसारको मनोसामाजिक परामर्श उपलब्ध गराउने गरी यही पुस ७ गते राजदूतस्तरीय निर्णय भई प्रक्रिया अघि बढिसकेको छ । कोरियाका विभिन्न १६ स्थानमा श्रमिक सचेतना तथा कन्सुलर सेवासम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन तथा सेवा प्रदान गरिएको छ ।

पर्यटन प्रवद्र्धन

दूतावासबाट विदेशी पर्यटकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने ध्येयले पर्यटनको प्रवद्र्धन तथा प्रचारप्रसार गर्न दुई वटा भिडिओको निर्माण गरी विभिन्न कार्यक्रममा प्रदर्शन गरिनेछ । नेपाल आयोजक रहेको २०२५ सेप्टेम्बर २६ देखि २८ सम्म दक्षिण कोरियाको उल्सान सहरमा सम्पन्न भएको उल्सान उल्जु माउन्टेन फिल्म फेस्टिभल फिल्म फेस्टिभलको उद्घाटन गर्दै राजदूतले नेपालको पर्यटन प्रवद्र्धन र हिमालको सुन्दरतालाई विश्वमाझ प्रचारप्रसार गर्न यस्ता चलचित्र महोत्सवहरूको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिइएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य स्थल बनाउन आह्वान गर्दै सबैलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिइयो । दक्षिण कोरियाको छाङ्वान सहरमा २०२५ को अक्टोबर २७ देखि २८ मा सम्पन्न आप्रवासी लक्षित बहुसांस्कृतिक महोत्सवमा विभिन्न देशका आप्रवासीहरूका बीचमा भएको गायन प्रतियोगितामा राजदूतले विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमलाई सम्बोधन भएको थियो । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको सांस्कृतिक झाँकीमा नेपालको जीवन्त संस्कृति झल्काउने विभिन्न झाँकीहरू प्रदर्शन गरिएको थियो । महोत्सवमा नेपालको जीवित देवी कुमारीको झल्को दिने झाँकीको विशेष उपस्थिति सबैको आकर्षणको केन्द्र बनेको थियो ।

कोइका र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको ‘नेपाल फर्केका नवप्रवर्तकहरू कार्यक्रम २६ जुलाई २०२५ मा सफलतापूर्वक सम्पन्न भएको थियो । दक्षिण कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको उद्यमशील क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको दिगो पुनःस्थापना सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रमले प्रवासी नेपालीहरूको क्षमता र सीपलाई देश विकासमा समावेश गर्न सकिने सम्भावनाको जीवन्त उदाहरण प्रस्तुत गरेको छ । कोरियाली श्रम मन्त्रालय तथा एचआरडी कोरियाको आयोजनामा राजधानी सोलमा ६ अगस्ट २०२५ मा इपिएस सम्मेलन सम्पन्न भएको थियो । कोरियाका श्रम तथा रोजगार मन्त्री किम यंग–हूनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा नेपालका राजदूतसहित श्रमिक आपूर्ति गर्ने १७ वटै देशका राजदूतहरू र प्रतिनिधिहरू, एचआरडी कोरियाका अध्यक्ष, विभिन्न देशका श्रम काउन्सेलर, नीति निर्माता र सरकारी अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा नेपाली राजदूतले हाल इपिएस भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका नेपालीहरूको सङ्ख्या ३० हजार नाघिसकेको छ तर वार्षिक कोटा न्यून रहँदा समय, पैसा र मेहनतले उत्तीर्ण कामदारहरू लामो समयसम्म अन्योलमा पर्नु पर्दा योग्य उम्मेदवारहरूको मनोबलमा प्रतिकूल असर पार्ने हुँदा यसलाई मध्यनजर गर्दै कोटा विस्तार गर्ने वा परीक्षा नतिजाको मान्यता अवधि लम्ब्याउने वा अरु कुनै अवसर सिर्जना गर्नुपर्ने धारणा राखिएको थियो । इपिएस प्रणालीबाट सन् २०२५ मा दक्षिण कोरियाले नेपाली कामदारलाई छनोट गरी जम्मा ११ हजार १७८ जना ल्याएको तथ्यांक रहेको छ । इपिएस स्थापनादेखि हालसम्म दक्षिण कोरियाले नेपाली कामदार छनोट गरी एक लाख २१ हजार ७३१ जना ल्याएको छ ।

नेपाल डे कार्यक्रम २०२५

नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाको सह–आयोजनामा ‘नेपाल डे २०२५’ कार्यक्रम सम्पन्न भएको थियो । विशेषगरी ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक सन्देश र ‘सगरमाथा संसारकै सर्वोच्च शिखर हो भन्ने राष्ट्रिय गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा प्रस्तुत गरिएता पनि हाम्रो संस्कृति, कला, परम्परा, लोकसङ्गीत, नृत्य र पर्यटन यी सबै विविधता र परिचयलाई विश्व सामु चिनाउने उद्देश्य यस कार्यक्रमको रहेको थियो । कार्यक्रममा कोरियामा विभिन्न ओहदामा रहेका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । विगत एक वर्षमा दूताबासबाट विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिएको छ । राहदानी नवीकरण, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, शैक्षिक कागजात प्रमाणीकरण, बिमाको लागि नाता प्रमाणित, सम्बन्धविच्छेदपत्र प्रमाणीकरण, जन्मदर्ता, विवाहदर्ता तथा विवाह प्रमाणीकरण, नाता प्रमाणीकरण, प्रहरी रिपोर्ट प्रमाणीकरण, नागरिकता परित्याग, यात्रा अनुमतिपत्र, विदेशी नागरिकलाई भिसा प्रदानलगायतका सेवाहरूबाट १९ हजार २७४ जना लाभान्वित भएका छन् ।

(प्रस्तुत विचार दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेसँग राससले गरेको कुराकानीमा आधारित)

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार