वर्षाका कारण अति प्रभावित हुने सम्भावना रहेका बाँके, बर्दियासहित तीन दर्जन जिल्लामा ‘रेड अलर्ट’ समेत जारी गरिएको छ ।
बाँके ।
आज र भोलि नेपालमा पानी पार्ने मनसुन प्रणाली थप सक्रिय हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सचेत गराएको छ ।
महाशाखाका अनुसार यो अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशमा बादल) रही अधिकांश स्थानमा भारीदेखि अतिसम्म वर्षाको सम्भावना रहेको छ । दुई दिन नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सोमबार मनसुन विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराएको थियो ।
वर्षाका कारण अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा सोमबार रेड अलर्ट समेत जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् ।
यसैगरी गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।
मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । साउन २२ गतेदेखि २३ गतेसम्म सम्म भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ ।
मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ बुलेटिनमा लेखिएको छ ।
कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
पूर्वसतर्कता अपनाउन प्रशासनको आग्रह
भारी वर्षाको सम्भावना भएको हुँदा बाँके र बर्दियामा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।
दुबै जिल्लाका स्थानीय प्रशासनले सोमबार एक सूचना जारी गरेर नदी, नाला तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरेर जिल्लास्थित नदी र खोला तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरेको हो ।
प्रशासनले पुनः सक्रिय हुने र बाँके जिल्ला लगायतका क्षेत्रहरूलाई रेडजोनमा राखिएको हुँदा जिल्लास्थित सबै स्थानीय तह, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला तथा सम्बद्ध सबै सरकारी एवं गैरसरकारी कार्यालय र संघसंस्थाहरूलाई सतर्क रही तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ ।
यस्तै राप्ती, डुडुवा लगायत नदी तटीय क्षेत्रका साथै बाढी तथा डुबानका दृष्टिकोणले सम्वेदनशील अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन बाँके प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्