जुम्लाको विपन्न परिवारका युवकको कथा बोल्ने चलचित्र प्रकाश भदौ १० गते रिलिज हुँदैछ । चलचित्रको यसअघि जुम्लाको पातारासीस्थित तिर्खु गाउँमा वल्र्ड प्रिमियर भइसकेको छ । प्रकाश भारत, अमेरिका, जापान, अष्ट्रेलियालगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदै छ । प्रकाशको शिक्षक बन्ने सपना बोकेका जुम्लाका एक युवकको कथा हो । चलचित्रले आफ्नो सपना पूरा गर्नुपर्ने विविध संघर्षको कथालाई चलचित्रले देखाउन खोजेको छ । जुम्लाको एक युवाले शिक्षक बन्न गरेको संघर्ष, हुँदा खाने र हुने खानेबीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयले चलचित्रले जोड दिएको लेखक विकास सुवेदीले बताउँछन् । उनका अनुसार २० बर्से पत्रकारिताको क्रममा लेख्न नसकिएकोे र चलचित्रमार्फत समाजको कथा भन्नुपर्छ भन्ने ध्येयले लेखिएको हो । रिलिज पूर्व नै चलचित्र चौतर्फिरुपमा चर्चामा छ । अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्रका लेखक तथा पत्रकार विकास सुवेदीसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको सिने संवादको सम्पादित अंश :
चलचित्र प्रकाशको वल्र्ड रिलिजको तयारी कस्तो भइरहेको छ ?
चलचित्र प्रकाश भदौ १० गते रिलिज हुँदैछ । यो चलचित्र हामी विश्वभर एकैसाथ रिलिज गर्छौँ । प्रकाश नेपालसहित भारत, अष्टे«लिया, क्यानडा, अमेरिकालगायतका मध्यपूर्वका देशहरुमा रिलिज हुन लागेको हो ।
कूल ११ वटा देशमा रिलिज हुन लागेको हो । सबैले कुरा मिलाउनुपर्ने एकदमै व्यस्त सेड्युल छ । पूर्वतयारीका कामहरु गरिरहेका छौँ । हामीले रिलिजको बेग्रप्रतीक्षामा छौँ । डर पनि लगाइरहेको छ । कस्तो प्रतिक्रिया आउँछ । हेरौँ । अन्तिम तयारीमा छौँ ।
खासमा चलचित्र प्रकाशको मूल विषय के हो, यसको लेखनको पृष्ठभूमि बताइदिनून् ?
म लामो समय राजनीतिक विषयमाथिको पत्रकारिता क्रियाशील रहेँ । २० वर्षको पत्रकारिता यात्रामा मैले देखेको समाज, बदलिएको नेपाल, भएका परिवर्तन, वर्गीय विभेदलगायतका कुरा भोगेँ । देशका जनताका नाममा युद्ध र क्रान्तिसमेत भए । यसबाट नेपाली जनतालाई धेरै ठूलो आसा थियो । व्यवस्था बदलियो अवस्था बदलिएन । जनताका आकांक्षा पूरा भएनन् ।
के गाउँ के सहर, के जनता र के नेता सबैको अवस्था बदलिएको भए हुन्थ्यो । तर, त्यसो हुन सकेन । गाउँमा पुग्दा नेताहरु बदलिए तर गाउँका मान्छेहरुको अवस्थामा बदलाब आएको भए हुन्थ्यो भन्ने लाग्थ्यो । उहाँहरु किन यदि धेरै पीडाबाट गुर्जिरहनु भएको छ । कसैका नेपाल स्वीजरल्याण्ड जस्तो लाग्छ । कसैले सिटामोलसमेत नपाउने किन यस्तो भइरहेको छ जस्तो लाग्थ्यो ।
यस्ता विकराल अवस्था मैले यात्रा गर्ने क्रममा देखेँ । सधै मनमा पोल्थ्यो, हामीले व्यवस्था बदल्यौँ । तर, किन अवस्था बदलिएन । यो पुस्ताले नै यसरी बिताउने होला त । त्यो सबै कुरामा मनमा खेलिरहन्थे । मैले धेरै कथा तयार गरेको थिएँ । त्यसमध्ये प्रकाश पनि थियो ।
मलाई राज्यको मूल प्रवाहमा आउन नसकेको विषय पस्कन मन थियो । कुनै न कुनै हिसाबलाई गाउँमा दबिएको कथा बोल्नुपर्छ भन्ने कुराको निष्कर्ष हो, प्रकाश । यस्तो कथा सिनेमामार्फत नै भन्नुपर्छ भनेर मैले प्रकाश लेखेको हो । सिनेमाको माध्यमबाट कथाभन्दा धेरै ठाउँसम्म पुग्ने भन्ने उद्देश्यले प्रकाश चलचित्रको रुपमा आएको हो । अब जनताको अदालतमा जाने संघारमा जाँदैछ । कस्तो प्रतिक्रिया आउँछ ।
प्रकाश पात्र र विषयवस्तु जुम्लाको तिर्खु गाउँकै हो की कल्पना मात्रै हो ?
प्रकाश म, हामी सबै हो । सबै व्यक्तिको प्रतिनिधि पात्र हो । यसमा तपाईँ, म, हामी सबै पर्छौँ । यसमा जुम्लाको एउटा तिर्खु गाउँको पात्र जो, शिक्षक बन्ने सपना बुनेको हुन्छ । ऊ जागिर खान चाहन्छ । यो उनको व्यक्तिगत मात्रै चाहना होइन ।
यो परिवार र समाजको चाहना हो । रोजगारको खोजीमा हिँडेको पात्र हो, प्रकाश । समग्रमा सम्पूर्ण नेपाली बेरोजगार युवाहरुको साझा कथा हो । नेपालमा अहिले रोजगारीको जुन विकराल अवस्था छ । रोजगारी, परिवारको खुसी लागि प्रकाशले सघंर्ष गर्छन् । यसलाई पूर्व र पश्चिमको पात्रले रिलेट गर्नुहुन्छ । भलै प्रकाश पात्र जुम्लाको तिर्खु गाउँको व्यक्ति हो । तर, पनि यो कथा सबै नेपालीको कथा हो ।
प्रकाश जुम्लाका पात्रको कथा भएकोले हरेक कुरामा जुम्ला केन्द्रित हुनुभएको हो ?
कर्णाली र सुदूरपश्चिम अहिले पनि राज्यको मूलप्रवाहमा आउन सकेको छैन । आजको समयमा पनि यी क्षेत्रले अनेक प्रकाशका समस्या, अभाव भोगिरहेका छन् । यी सबै कुरामा राज्यका एउटै ठाउँमा दबिएर रहेका हुन की । त्यहाँका मुद्दा र जनजीवीकाको विषय नउठाइएको हो । यस्ता तथानाम विषय मूलप्रवाहमा आउन नसकेका हुन् की ।
यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा यो क्षेत्रलाई पछि पारिएको छ । राज्यबाट प्राप्त हुने न्यूनतम् अधिकारसमेत प्राप्त हुन नसकेको अवस्था छ । राज्यले कर्णाली र सुदूरपश्चिमलाई अन्याय गरेको हो की । यस्ता सबै कुरालाई गहिरो हिसाबमा देखाउन खोजेको हो । प्रकाश एउटा यस्तो पात्र हो, जसले उज्यालो खोजिरहेको छ ।
जसले समाज बदलिएको हेर्न चाहेको छ । एउटा यस्तो पात्र हो, उसको अघिल्लो पुस्ताले व्यवस्थाका लागि रगत बगाएको छ । पसिना बगाएको छ । ज्यानको आहुती दिएको छ । अब पनि त्यो अन्धकारमा फर्कन चाहँदैन । उ अगाडि बढ्न चाहन्छ । उज्यालो चाहन्छ । झट्ट हेर्दा एउटा व्यक्तिको कथा हो, पात्र हो जस्तो लाग्छ । यो एउटा बिम्ब मात्रै हो । बिम्बमार्फत उज्यालो खोजिरहेको छ । समानताको खोजी भइरहेको छ । अवसरको खोजी भइरहेको छ ।
प्रकाशको वल्र्ड प्रिमियर जुम्लाको तिर्खु गाउँमा भयो, त्यहाँका मानिसहरुले आफ्नै भाइछोराको कथालाई कसरी लिएको पाउनु भयो नी ?
कस्तो सान्र्दभिक प्रश्न गर्नुभयो, हजुरले । यसको प्रसंग गज्जब छ । मलाई चलचित्र प्रिमियरको नेपाली टे«नको विषयमा ग्लानी थियो । रेड कार्पेटमा ठूल्ठूला कार्यक्रम हुन्छन् । सेलिबे्रटीहरु आउँछन् । नेताहरु आउँछन् । तर, प्रकाशको प्रिमियरको लागि राजधानी रोजेनौँ । हामीले जुम्लाको तिर्खुमै गर्नुपर्छ भन्ने लाग्यो । यस्तो पनि लाग्यो, हामीले जुम्लाको तिर्खु गाउँको पात्रको कथा देखाउन खोजिरहेका छौँ भने राजधानीमै किन गर्ने त ? त्यहाँका मानिसहरुले हाम्रो कथा कहाँ देखाइन्छ भन्नेसमेत थाहा छैन ।
मैले हाम्रो टिमसँग सल्लाह गरे । सबै सकारात्मक हुनुभयो । यसमा सबैभन्दा धेरै उत्सुक प्रदीप खड्का देखिए । उनले यो जोखिम मोल्नैपर्छ भने । सबै टिम सहमत भएपछि हामीले जुम्लामा प्रिमियर गरेका हाँै । जुम्लामै प्रिमियर भएन भने, उहाँहरुमाथि अन्याय हुन्छ भन्ने निष्कर्षका साथ हामी तिर्खु गएको हो । पहिलो सो नै तिर्खुमा गर्न पाउँदा उहाँहरु पनि खुसी हुनुभयो । हामी पनि खुसी भयौँ । त्यहाँका नागरिकलाई नै प्रमुख अतिथि बनाउनुपर्छ भनेर यसको गरिएको हो । हामीलाई त्यहाँ पुग्दा फिल्म, फिल्म जस्तो लागेन ।
यो नै हाम्रो सफलता हो । फिल्मलाई जीवन र विचार हो । लेखकका रुपमा मैले उहाँहरुको कथा भन्न सकेछु भन्ने लागेको छ । त्यहाँ आमाहरु रुनुभयो । त्यहाँ प्रदीपलाई कसैले पनि प्रदीपका रुपमा हेरेनन् । यो स्टार हो भनेर व्यवहार गरेनन् । प्रकाश रुपमा स्वीकार गरे । प्रदीप भन्ने नै मतलब भएन । तत्लो घरको फलानोको छोरा हो । कतिजनाले नचिनेकोले यो कस्तो छोरा हो भने हामीले कहिल्यै देखेका थिएनौँ भन्नुभयो । घरमै लिएर स्याउ खुवाउनुभयो, भात खुवाउनुभयो ।
प्रकाश जुम्लाको पूर्वी ग्रामीण गाउँको कथा हो भन्नुभयो, सहरका मान्छेहरुले हलमा गएर हेर्लान त ?
यस्तो छ, हामी अमेरिका पुगेका छैनौँ । तर, त्यहाँको संस्कृति, जनजीवन र फिल्म हेरेका छौँ । नेपाली नेता स्वीजरल्याण्ड बनाउँछु भन्छन् । हामी जनता विश्वास गरिरहेका छौँ । तर खासमा हामीलाई स्वीजरल्याण्ड कस्तो छ थाहा छैन नी । मलाई के लाग्छ भने, जहाँ हामी पुगैकै छैनौँ । न त्यहाँका साहित्य राम्रोसँग आएका छन् । न त्यहाँ सहज पहुँच छ । उहाँको जीवन नै हाम्रो मूलधारबाट छुटेको छ ।
त्यो नेपाल कस्तो रैछ त, हाम्रो गाउँ कस्तो रैछ, हाम्रो जीवन, संस्कृति, बेदना, समस्या, समाजमा रहेको विभेद, यसका प्रकृतिहरु र कसरी हाम्रो समाज प्रताडित छ त भन्ने चिज हेर्नलाई पनि फिल्म हलसम्म पुग्नैपर्छ । प्रकाशमा भित्र त्यहाँ कुरा छन्, जहाँ बसेर हामी अनुभूत गर्न सक्दैनौँ, नगरेका हुन सक्दछौँ । त्यो कुरा अनुभव गर्नको लागि आउन म आग्रह गर्न चाहन्छुँ । हाम्रो काम हेरिदिनूहोस् । यो आफ्ना मानिस, देश र परिस्थिति तथा नियती बुझाउने कथा हो ।









प्रतिक्रिया दिनुहोस्