27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बैशाखयता बाँकेमा सर्पको टोकाइबाट ६ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९  

कविन्द्र परियार । कोहलपुर ।

नयाँ वर्षअर्थात् वैशाख १ गतेदेखि यता बाँकेमा सर्पदंशबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुईजनाको आइसियु, दुईजनाको इमरजेन्सी र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

भेरी अस्पताल नेपालगन्जका अप्रेसन विभाग प्रमुख डा. पारस पाण्डेका अनुसार २०७९ वैशाखदेखि भदौ १ गतेसम्म सर्पदंशका कारण ६ जनाको ज्यान गएको छ । भेरी अस्पतालमा हाल दुईजनाको आइसियु, चारजनाको इमरजेन्सी र चारजनाको वार्डमा उपचार भइरहेको उनले जनाए ।

यता सर्पदंश उपचार केन्द्र राप्तीसोनारी–८, मा सर्पदंशका बिरामीको संख्या धेरै रहेको सर्पदंश उपचार केन्द्रका अहेब केशव चन्दले बताए । वर्षा सुरु भएपछि सर्पदंशका बिरामी अलि बढी आउने गरेको उनको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिका र बाँके राष्ट्रिय निकुञ्जमा अवस्थित नेपाली सेनाको चिकित्सकको टोलीले सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ । यस अघि नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले मात्र उपचार गरिहेकोमा अहिले गाउँपालिकाले दुईजना अहेबसमेत खटाएको छ ।

अधिक गर्मी र वर्षाका कारण सर्प बाहिर निस्किने गरेका कारण सर्पदंशका बिरामी बढ्न थालेका हुन् । अहिले सामान्य पानी परेपनि गर्मीले जमिन बाफिँदा सर्प बाहिर निस्किने गरेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालले बताए । अन्य समयभन्दा वर्षाको समयमा सर्पदशंका बिरामी अलि बढी नै आउने गरेको उनको भनाइ छ ।

‘कहिलेकाहिँ एकै रातमा चार/पाँचजना सर्पदंशका बिरामी आइदिन्छन्,’ उनले भने, ‘कहिले कत्ति पनि आउँदैनन् । निश्चित त हुँदैन तर पनि सर्पदंशका बिरामी यो समयमा अलि बढी नै देखिन्छ ।’ जनस्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अधिकृत विकल्प चौधरीले सर्पदंशका बिरामीको वास्तविक तथ्यांक नरहेको बताए ।

सर्पदंशका बिरामी स्थानीय निकायका सर्पदंश उपचार केन्द्रमा उपचार गराउने र ति केन्द्रहरुले जनस्वास्थ्यमा अपडेट नगराउँदा एकीन तथ्यांक नभएको उनी बताउँछन् । कतिपय सर्पदंशका बिरामीलाई गाउँघरमै झारफुक गर्ने गरेको पनि उनले बताए । उनका अनुसार त्यस्तो गर्दा झन जोखिम हुन्छ ।

 

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७९     7:19:48 PM  |