जमुनाहाबाट लागुऔषध ब्राउनसुगरसहित दुई पक्राउ



बाँके ।

नेपाल भारत सीमा नाका जमुनाहाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेका दुई जनालाई मंगलबार प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले ५ ग्राम ५ मिलिग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुर रहेका छन् ।

भे ८ प १७५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदले हातमा मुठ्ठी पारेको अवस्थामा लागुऔषध ब्राउनसुगर बरामद भएको डीएसपी घर्तीले जानकारी दिए ।

दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार