वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जको त्रिवेणीमोडस्थित चाइना बजारको जमिनका विषयमा नेपालगन्ज उपमहानगरपालिकाले अध्ययन थालेको छ ।
उक्त स्थानमा रहेको जमिनमा आफ्नो बहाल बिटोरीको जमिन रहेको भन्दै दाबी गर्दै आएका एक व्यक्तिलाई फिल्डमा नापजाँच नगराइकनै नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकाले हकभोग गर्न दिने निर्णय गरिएको विषयमा मिसन टुडे दैनिकले समाचार प्रकाशन गरेपछि उपमहानगरपालिकाको नापी शाखाले चासो दिएर अध्ययन थालेको हो ।
नापी शाखाले उक्त जमिनका कागजातहरु संकलन गरेर अध्ययन थालेको उपमहानगरपालिकाअन्तर्गतको नापी शाखाका नापी अधिकृत मनराज थापाले जानकारी दिए । यसैगरी उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पनि उक्त जग्गाका विषयमा यथार्थ बुझ्न सुरु गरेको बताएका छन् । उनले जग्गाको वास्तविकता नबुझेर तत्कालीन अवस्थामा कार्यपालिकाबाट निर्णय गरिएको पाइएको बताए ।
अब सम्पूर्ण अध्ययन गराएर तथ्यअनुसार अघि बढ्ने उनले बताए । मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘करोडौंको जग्गा छ त्यहाँ । त्यही लोभमा जसले पायो त्यसैले दाबी गरेर हुँदैन । हिजो नगर विकास समितिले के आधारमा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ? त्यसको खोजबिन गर्न लगाएको छुँ । यदि व्यक्तिको रहेछ भने पनि त्यसको तथ्य खुलेपछि मात्रै आवश्यक कारबाही अघि बढ्छ ।’
हचुवाका भरमा कार्यपालिकाले ग¥यो निर्णय
चाइना बजार रहेकै जमिनको एक हिस्सा आफ्नो बहाल बिटौरीको जमिन भएको दाबी गर्दै आएका स्थानीय घनश्याम बनियाँलाई हकभोग दिने निर्णय गराउन नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डा. धवलशमशेर राणाको विशेष जोडबल रहेको स्रोतले बताएको छ ।
जबकी उनकै कार्यकालको चार वर्षसम्म त्यही जमिन रहेका पसलेहरुबाट उपमहानगरपालिकाले भाडा उठाएको छ । नापी शाखाका कर्मचारीले त्यसरी कसैलाई हचुवाका भरमा हकभोग गर्न दिने निर्णय गर्न नहुने सुझाव दिँदा दिँदै कार्यपालिकाबाट उक्त निर्णय गराइएको पाइएको छ । नापी शाखासँग कार्यपालिकाले लिखित राय पनि नमागेको पाइएको छ ।
डा. राणाको कार्यकालको अन्तिम वर्षमा आएर २०७८ साल मंसिर १३ गते हचुवाका भरमा फिल्डमा नापजाँच नगराइकनै ती व्यक्तिलाई जमिन हकभोग गर्न दिने निर्णय गर्दा अहिले ती व्यक्ति स्थानीय घनश्याम बनियाँले आफ्नो जमिन चाइना बजार रहेको क्षेत्रमै पर्ने भन्दै त्यहाँ रहेका पसलेहरुलाई भाडा आफूलाई दिनुपर्ने दबाब दिँदै आएका छन् । जबकी उक्त बजार रहेको जमिन २५ नम्बर कित्ताको पौने दुई कठ्टा क्षेत्रफल छ ।
बनियाँसँग भएको बहाल बिटौरीको कागजमा उल्लेखित जमिनको क्षेत्रफल मात्र १.२५ धुर छ । उपमहानगरपालिकाका नापी शाखाका कर्मचारीहरुका अनुसार बनियाँको कित्ता नम्बरको जग्गा फिल्डमा चारकिल्ला प्रमाणित भएको छैन । नापी कार्यालय बाँकेमा पनि उक्त बजार रहेको जग्गा कसैको नाममा दर्ता भएको रेकर्ड छैन ।
केही व्यक्तिहरुले आफ्नो बहाल बिटौरीको जमिन भएको भन्दै निवेदन दिएका छन् । तर, पर्याप्त प्रमाण नपुगेपछि नापीले कुनै निर्णय गर्न नसकेको पाइएको छ । उक्त स्थानमा हकदाबी गर्नेहरुले भोगचलन गरिरहेको अवस्था पनि छैन ।
२०६२ सालदेखि उक्त स्थानमा घुम्ती पसलहरु राखेर व्यापारीहरुले व्यापार गरिरहेका छन् । अहिले करिब २८ पसलहरु त्यहाँ सञ्चालनमा रहेका छन् ।
तथ्य जाँच गर्दैछौं
प्रशान्त विष्ट,
मेयर, नेपालगन्ज उपमहानगरपालिका
मैले समाचार पढेँ । यस विषयमा त्यहाँका व्यापारी र हकदाबी गर्दै आएका व्यक्तिहरु सम्पर्कमा पनि आउनुभएको छ । मैले यसको सम्पूर्ण तथ्य जाँच गर्दैछुँ । करोडौंको जग्गा छ त्यहाँ ।
त्यही लोभमा जसले पायो त्यसैले दाबी गरेर हुँदैन । हिजो नगर विकास समितिले के आधारमा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ? त्यसको खोजबिन गर्न लगाएको छुँ । यदि व्यक्तिको रहेछ भने पनि त्यसको तथ्य खुलेपछि मात्रै आवश्यक कारबाही अघि बढ्छ । अनि त्यो जमिन त्यही पर्छ कि अन्तै ? यसको पनि त टुंगो लगाउनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्