बाँके ।
ईलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट भागेका एक बलात्कार आरोपी दुई सातापछि पक्राउ परेका छन् । बाँकेको खजुरा गाउँपालिका– ८ का २६ वर्षीय अब्दुल खाँ गत साउन ९ गते हिरासतबाट भागेका थिए ।
बाँसगढी घर भएकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । हिरासतबाट भागेका खाँलाई भारतीय प्रहरीको सहयोगमा सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक
(डीएसपी) सूर्यप्रकाश सुवेदीले हिरासतबाट भागेका थुनुवालाई पक्राउ गरिएको बताए ।
‘बाँसगढी प्रहरीको हिरासतबाट भागेका थुनुवालाई हामीले पक्राउ गरेका छौं’ उनले भने, ‘हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’ खाँ साउन ९ गते बिहान खाना खाने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर हिरासतबाट भागेका थिए ।
ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बीरेन्द्र बहादुर शाहीले बताए ।
‘ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर कारबाही समेत अगाडि बढाएका छौं’ उनले भने, ‘केही प्रहरीलाई जिल्लामा तानेर समेत अनुसन्धान भइरहेको छ ।’ बलात्कार आरोपी खाँ हिरासतबाट भागेकाले थप सजाय हुनसक्ने कानुनी प्रावधान रहेको उनले बताए ।
हिरासतबाट बिहानै बलात्कार आरोपित थुनुवा भागेपछि ईलाका प्रहरी कार्यालय बाँसगढी तथा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट उनको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
सोही टोलीले नै भारतमा लुकेर बसेका फरार थुनुवा खाँ लाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्