भेरीमा अग्रिम हाजिरी गर्ने चिकित्सक कर्मचारीलाई कारबाही गर्न ढिलासुस्ती



वीरेन्द्र जैसी । नेपालगन्ज ।

भेरी अस्पतालका अग्रिम हाजिरी गर्ने र हाजिरी नै नगर्ने कर्मचारीहरुलाई आवश्यक कारबाही गर्न बाँके जिल्ला प्रशासन कार्यालयले दिएको आदेशको कार्यान्वयनमा ढिलासुस्ती भएको छ ।

प्रशासनले असार २४ गते भेरी अस्पताललाई पत्र लेख्दै छड्के जाँच गर्दा गयल परेका, अग्रिम हाजिर गरेका, हाजिरमाथि टेप टाँसेका र केरमेट गर्ने हरेक कर्मचारीसँग तीन दिनभित्र स्पष्टिकरण लिई आवश्यक कारबाही गरी तीन दिनभित्र जानकारी गराउन आदेश दिएको थियो । तर, अहिलेसम्म उक्त पत्रको जवाफस्वरुप अस्पतालले स्पष्टिकरण सोधिएको व्यहोराको पत्रमात्रै प्रशासनलाई पठाएको छ ।

तर, पत्र लेखिएको २० दिन भइसक्दा पनि स्पष्टिकरण के दिइयो भन्नेबारे कुनै जानकारी प्रशासनमा पुगेको छैन । असार २३ गते प्रशासनको टोलीले अस्पतालका कर्मचारीको हाजिरी रजिष्टर चेकजाँच गर्दा अस्पतालका जनरल फिजिसियन डा. निर्मल शाक्य, डा. सुरेशकुमार नागसहित सातजनाले अग्रिम हाजिर गरेको फेला परेको थियो ।

डा. शाक्यको हाजिरीमा टेप टाँसेर अनेक अर्थ लाग्ने कैफियत लेखिएको फेला परेको थियो । छड्केका क्रममा तीन सय ७८ कर्मचारीमध्ये दुई सय ९० जना गयल फेला परेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार डा. शाक्यले अहिलेसम्म स्पष्टिकरणको जवाफ नै दिएका छैनन् । डा. चापागाईंका अनुसार डा. शाक्यको पारिवारिक कारणले बिदामा छन् ।

डा. शाक्यका साथै अरु केही कर्मचारीहरुले पनि स्पष्टिकरणको जवाफ दिन बाँकी छ । उक्त जवाफ आइसकेपछि पुनः प्रशासनलाई जानकारी गराइने डा. चापागाईंले बताए ।

ढिलाइ हुनुको कारणबारे डा. चापागाईंले भने, ‘यति धेरै कर्मचारीहरुसँग स्पष्टिकरण लिन समय लाग्छ नै । फेरि अर्काे के समस्या छ भने कतिको ड्युटी राति छ । सबैको समय पनि पायक नपर्ने छ । यस कारण पनि ढिलो भएको हो ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले हाजिरीमा कैफियत देखिएका करिक एक सय ८० जना कर्मचारीहरुसँग स्पष्टिकरण लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

अग्रिम हाजिरी गरेको फेला पर्ने अस्पतालका कर्मचारीहरुमा डा. शाक्य र नागसँगै नर्सहरु मारिया अन्सारी, निलम श्रेष्ठ, तब्बु कौर सोढी र दिव्यश्वरी न्यौपाने रहेका छन् । यसैगरी कार्यालय सहयोगी मीना बाल्मिकीले पनि अग्रिम हाजिरी गरेको फेला परेको थियो ।

डा. नागलाई भने मन्त्रालयले झिकाएर के भएको हो भन्नेबारे बुझिरहेको डा. चापागाईंले बताएका छन् । अस्पताल विकास समितिले डा. नागलाई असार २१ गते नै कारबाही सिफारिस गर्दै मन्त्रालयमा पत्र पठाएको थियो । डा. नागले जिम्मेवारीअनुसार काम नगरेको र अग्रिम हाजिरी गरेर काम नगरेको भन्दै समितिले कारबाही सिफारिस गरेको थियो ।

यता डा. शाक्यको हाजिरीमा पनि असार २३ गते नै असार २९ गतेसम्मको हाजिरी गरेको फेला प¥यो । अझ डा. शाक्यको अग्रिम हाजिरीलाई ढाक छोप गर्न माथिबाट टेप टाँसिएको थियो । हाजिरी गरिएको ठाउँमा पहिले कसैले कैफियत लेखेको थियो । तर त्यसलाई टिपेक्स लगाएर ढाकिएको थियो । टेपले ढाक्न नसकेको २८ र २९ गतेको हाजिरीमाथि फेरि कसैले घर बिदा भनेर लेखेको थियो ।

यति मात्रैले चित्त नबुझेर फेरि कैफियत महलमा भुलबस हाजिर हुन गएको भनेर उल्लेख गरिएको थियो । यसरी डा. शाक्यले गरेको अग्रिम हाजिरी ढाकछोप गर्न अस्पताल प्रशासन र अस्पताल विकास समिति नै संलग्न भएको आशंका गरिएको छ ।

यसैगरी नर्स सोढीले साउन महिनाको १८, १९ र २० गतेको र न्यौपानेले साउन १ देखि ५ गतेसम्मको हाजिरी गरेका थिए । अन्सारीले २३ गते नै २४ गतेका हाजिरी गरेको र श्रेष्ठले २४ गतेदेखि २८ गतेसम्मको अग्रिम हाजिरी गरेको फेला परेको थियो । कार्यालय सहयोगी मिना वाल्मिकीले पनि २९ गतेसम्मको हाजिरी गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १७ गते मंगलबार