बाँके निकुञ्जमा आउने होइन बाघ हेर्न ?



कविन्द्र परियार
उत्तरतिर चुरे पहाडको सुन्दर दृश्य । तल कलकल बग्ने खोला । चारैतिर हरियाली जंगल । अनि मनमोहक चराचुरुंगीको आवाज र वन्यजन्तुको दृश्य देख्न पाइने ठाउँ हो, बाँके राष्ट्रिय निकुञ्ज । यो निकुञ्ज पाटेबाघको हबका रुपमा चित्रित छ । सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो ।


यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा रत्नराजमार्ग, उत्तरमा चुरे पर्वत र दक्षिण्मामा पूर्व–पश्चिम राजमार्ग रहेको छ भने बाँके, दाङ र सल्यानका केही भाग समेटिएको छ । नकुञ्ज वरिपरिको ३४३ वर्ग किलोमिटर क्षेत्र मध्यवर्ती क्षेत्र छ । विशेष गरी पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा सन २०१८ को बाघ गणनाअनुसार बाघको संख्या २१ वटा छ । पछिल्लो समयमा गणना भएको बाघको तथ्यांक सार्वजनिक हुन बाँकी छ । हालसम्म विश्वमा पाँच प्रकारका बाघ पाइन्छ । नेपालमा पाइने बाघलाई पाटेबाघ ‘रोयल बंगाल टाइगर’ भनिन्छ । सन् २०१८ मा गरिएको अनुगमनअनुसार नेपालमा कुल २३५ बाघ छन् । नेपालमा पाँच निकुञ्जमा बाघ रहेको छ ।
बाघ अवलोकनका लागि बाँके राष्ट्रिय निकुञ्ज एक उत्कृष्ट गन्तव्य हो । बाँके राष्ट्रिय निकुञ्जले बाघलगायतका वन्यजन्तु तथा चराचुरुंगी अवलोकनका लागि जंगल सफारी गर्न जंगल ड्राइभिङ तथा हात्ती सफारीको समेत राम्रो व्यवस्थापन गरेको छ । बाँके राष्ट्रिय निकुञ्जको बुचापुर र खडकवार हात्तीसारबाट सजिलै हात्तीसफारी गर्न सकिन्छ भने गाभरभ्याली होमस्टेबाट जिप सफारी गर्न सकिन्छ । निकुञ्जको विभिन्न स्थानहरुमा वनपथ निमार्ण गरिएको छ । निकुञ्जभित्रका जलसेनी, चौकाफाँटा, करौँती, गिद्देनी, खैरी मुगुवालगायतका क्षेत्रमा घाँसे मैदान निमार्ण गरिएका छन् । ती स्थानबाट निकुञ्जभित्रका वन्यजन्तुका दृश्य हेर्न सकिन्छ । निकुञ्जभित्र सातवटा पक्की तथा पाँचवटा काठका मचान निमार्ण गरिएका छन् । ती मचान वन्यजन्तु सहजै अवलोकन गर्न सकिन्छ । चुरेक्षेत्रको फेदमा रहेका खोलामा फिसिङको समेत आनन्द लिन सकिन्छ ।
बाँके राष्ट्रिय निकुञ्जमा हाल जंगल सफारी गराइरहेका गाभर भ्याली होमस्टेका सञ्चालक तथा होमस्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा टाइगर टूरिजमका लागि पूर्वाधारहरु निमार्ण भइसकेको बाघको संख्या अहाराजन्य कुराहरुमा वृद्धि भइरहेका कारण पछिल्लो समयमा पर्यटकको आगमन बढिरहको बताए । त्यस्तै उनले बाँके राष्ट्रिय निकुञ्जमा नेचर सफारीका लागि उत्कृष्ट स्थान भएको बताउँदै चुरेमा हाइकिङ तथा पैदल यात्रा गराउँदै आएको बताए । पर्यटक भिœयाउन निजीस्तरको पनि हात रहने हुँदा स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन प्रचारप्रसार गर्नुपर्ने र संरक्षण पर्यटन भिœयाउन स्थानीयको जागरुकता आवश्यक पर्ने बताए ।
बाँके राष्ट्रिय निकुञ्ज एक घण्टाको अवलोकनका लागि नेपालका लागि एक सय सार्क राष्ट्रका नागरिकका लागि सात सय ५० तथा अन्य विदेशी नागरिक एक हजार पाँच सय प्रवेश शुल्क तोकिएको निकुञ्जले जनाएको छ । त्यस्तै हात्ती सफारी गर्न चाहेमा १० वर्षभन्दा मुनिका बालबालिकाका लागि नेपालीका लागि दुई सय ५० सार्क राष्ट्रका लागि सात सय ५० र अन्य विदेशीका लागि १२ सय तोकिएको छ । त्यस्तै १० वषभन्दा माथिका लागि नेपालीका लागि पाँच सय सार्क राष्ट्रका लागि १५ सय र अन्य विदेशीहरुका लागि २५ सय तोकिएको छ । त्यस्तै जंगल ड्राइभिङका लागि जिप ड्राइभिङका लागि २५ सय कारको लागि १५ सय र भ्यानको लागि तीन हजार शुल्क तिर्नु पर्ने निकुञ्जले जनाएको छ । बाँके राष्ट्रि«य निकुञ्जभित्र पाटेबाघसँगै जरायो, चित्तल, बँदेल, चौका, घोरल, अजिंगरलगायतका वन्यजन्तु तथा पशुपन्छी अवलोकन गर्न सकिन्छ । प्लानिङ अफिसर शेरबहादुर थापाले बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघ हेर्न चाहने पर्यटकहरुका लागि एकदमै उत्कृष्ट गन्तव्य भएको बताए । हवाइ मार्गबाट र स्थलमार्गबाट सजिलै बाँके राष्ट्रिय निकुञ्जमा पुग्ने सकिन्छ ।÷()

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रबार