दाङ ।
युवती प्रयोग गरी अपहरण गरेर फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार दैलेख चामुन्डा बिन्द्रसैनी नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय केशवकुमार विकलाई बन्धक बनाएर सात लाख रूपैयाँ फिरौती मागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–४ निवासी ३५ वर्षीय लिला विक, ३५ वर्षीय नेवबहादुर घर्ती ९मार्सल०, तुलसीपुर उममहानर–४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ का २० वर्षीय मनोज थारु र प्यूठान गौमुखी–७ घर भइ हाल तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर र तुलसीपुर–७ की २६ वर्षीया निर्मला विक रहेका छन्। कुवँर गाडी चालक हुन्।
पक्राउ परेकामध्ये ५ जना सल्यान रोडको युवम होटेलबाट पक्राउ परेका हुन् भने निर्मलालाई प्रहरीले उनकै घर नजिकबाट पक्राउ परेको हो। प्रहरीले अपहरणमा प्रयोग गरिएको बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीलाई समेत नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार लिला, मार्सल र सुकलालले निर्मलालाई प्रयोग गरी बुटवलमा साउन ९ गते भेटेर अपहरण गरी तुलसीपुर ल्याएर युवम होटेलमा बन्धक बनाइ सात लाख रूपैयाँ मागेका थिए। उनीहरूले सात लाख नदिए जे पनि हुने धम्की दिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार अपरहणमा परेका केशवले आफूलाई दाङको तुलसीपुरस्थित स्थित युवम होटेलमा अपहरणपश्चात् बन्धक बनाएकाले प्रहरीलाई खबर गरिदिन श्रीमतीलाई लुकेर म्यासेज गरेका थिए।
अपहरणमा परेको खबर पाउनेबित्तिकै डीएसपी अर्यालको कमाण्डमा गएको प्रहरीले केशवको उद्धार गरी अपहरणमा संलग्नलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको हो।
उनीहरूलाई अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाइने डीएसपी अर्यालले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्