शिक्षण अस्पताल कोहलपुरद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगन



कोहलपुर ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको छ । अस्पताले बुधबार एक सूचना जारी गरेर बुधबारदेखि नै लागू हुनेगरी स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरिएको जानकारी दिएको हो ।

अस्पतालले जारी गरेको सूचना भनिएको छ, ‘नेपाल सरकारले श्रावण १ गतेदेखि लागू हुनेगरी सरकार तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बीमाको सेवा उपलब्ध गराउने निर्णय गरेकोले अब अस्पतालले उक्त सेवा उपलब्ध गराउन सक्ने छैन ।’

निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम लागू नगर्ने योजना आ.व.२०७९/०८० को बजेटमार्फत श्रावण महिनाबाट लागू हुने उल्लेख गरिएको थियो । ‘हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आएका थियौं ।

सरकारको निर्णयको कार्यान्वयन गर्दै बीमा कार्यक्रम स्थगन गरेका छौँ । सम्पूर्ण विमित विरामी र आफन्तहरुलाई जानकारी गराउँछौँ’ सूचनामा भनिएको छ । सेवा उपलब्ध गराउन नसकेकोप्रति मेडिकल कलेजले क्षमा समेत मागेको छ ।

सूचनामा नेपाल सरकारबाट आगामी दिनमा नीजि स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने भनि निर्देशन आएमा अस्पतालले पुनः स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने उल्लेख गरिएको छ ।

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रममार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका विपन्न नागरिकहरुले उपचार गराउँदै आएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ५ गते बिहीबार