राप्तीसोनारी गाउँपालिकाले रोक्यो विपन्नको उपचार खर्च



कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकाले आइतबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘विपन्न नागरिकहरुलाई औषधि उपचारसम्बन्धी आर्थिक सहयोग प्रदान गरिँदै आएकोमा यस आर्थिक वर्षमा यस पालिकाको आर्थिक कारोबारसम्बन्धी खाता नखुलेको तथा उक्त शीर्षकमा उपलब्ध गराउँदै आएको रकमको स्रोत एकीन नभएको हुँदा हाललाई अर्काे व्यवस्था नभएसम्मको लागि तहाँ वडा कार्यालयबाट उक्त प्रयोजनका लागि सिफारिसका स्थगन गरिदिन अनुरोध गरिन्छ ।’

उक्त सूचनाअनुसार पालिकाअन्तर्गतका वडाहरुलाई सिफारिस गर्नसमेत रोक लगाएको छ । नेपालको संविधानमा मौलिक हकको व्यवस्थामा स्वास्थ्यसम्बन्धी हक व्यवस्था गरेको छ ।

उक्त स्वास्थ्यसम्बन्धीको हकमा भनिएको छ, ‘संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत नागरिकले राज्यका तर्फबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, त्यस्तो सेवा प्राप्त गर्न वञ्चित नगरिने, त्यस्तो सेवा तथा उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने तथा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुनेसम्मका हकहरू प्रदान गरिएको छ ।’

तर राप्तीसोनारी गाउँपालिकाले नागरिकको मौलिक अधिकार कुण्ठित गरेको छ । कारोबारसम्बन्धी खाता नखुलेको तथा उक्त शीर्षकमा उपलब्ध गराउँदै आएको रकमको स्रोत एकीन नभएको बहानामा नागरिकको उपचार पाउने अधिकार कुण्ठित गर्नु पालिकाको गैरजिम्मेवारी भएको विपन्न समुदायको भनाइ छ । यहाँका अधिकांश मानिस कृषि पेसामा संलग्न छन् ।

कृषिबाट केहीले आफ्नो स्तर वृद्धि गरेका छन् भने केही अझै पनि विपन्न वर्गबाट माथि उठ्न सकेका छैनन् । रहरले उपचार खर्च कसैले नमाग्ने स्थानीय विजय थारुले बताए । ‘हुनेले उपचार खर्चका लागि पालिकालाई अनुरोध गर्दैनन्,’ उनले भने, ‘नहुने हो सरकारसँग केही अपेक्षा राख्ने ।’ विपन्नको बाँच्न पाउने अधिकारलाई कुल्चेर पालिकाले नागरिकको मौलिक हक हनन गरेको उनको भनाइ छ ।

राप्तीसोनारीको कुल आय वार्षिक सरदर १० प्रतिशत वृद्धि भएको देखिन्छ । राप्तीसोनारीमा अहिले पनि तीन हजार एक सय २७ घरधुरी खर वा फुसको छानोमुनि रहेको प्रथम आवधिक विकास योजना (२०७९/८०–०८३/८४) मा उल्लेख गरिएको छ ।

प्रथम आवधिक विकास योजनाअनुसार यहाँको आर्थिक वृद्धि दर ५.८ प्रतिशत छ । प्रतिव्यक्ति कुल आय एक हजार तीन सय ६२ अमेरिकी डलर छ । गरिबीको रेखामुनिको जनसंख्या १७ प्रतिशत छ भने बेरोजगारी दर १२.२ प्रतिशत छ ।

पालिकाले विपन्नलाई सहायता रोक्यो भने उनीहरुलाई उपचारै पाउन मुस्किल हुने देखिन्छ । यता गाउँपालिकाले भने यो निर्णयको बचाउ गरेको छ । निर्णयमा सहायक स्थगन गरिएको उल्लेख भए पनि पालिकाले केही समयका लागि रोकिएको बताएको छ ।

रोकेको होइन, स्थगत गरेको हो
तप्तबहादुर पौडेल

अध्यक्ष, राप्तीसोनारी गाउँपालिका

यो निर्णय राप्तीसोनारी गाउँकार्यपालिकाको बैठकले गरेको होइन । कार्यालय गरेको हो । तपाईंले आर्थिक सहयोग रोकेको कुरा गर्नुभयो । हामीले रोकेको होइन, स्थगन गरेका हौँ । अर्को कुरा यो लामो समयको लागि होइन ।

एक साताका लागि मात्रै स्थगत गरिएको हो । अहिले कारोबारको खाता खुलेको छैन । सहयोगसम्बन्धी स्रोतसमेत एकिन छैन । यो एक साताका लागि रोकेर हामीले कार्यविधि बनाउन खोजिरहेका छौँ । वास्तविक पीडितले मात्रै सहयोग पाउन भन्ने उद्देश्यले गाउँपालिकाले कार्यविधि बनाउँछ ।

त्यसपछि आवश्यकतामा आधारित भएर सहयोग गरिन्छ । वडामा सहयोगका लागि धेरै जना आउने र वडाले सिफारिस गर्ने र पालिकामा कार्यविधि नहुँदा समस्या हुने भएकोले समाधानका लागि यस्तो विकल्प रोजिएको हो ।

हामीले निषेध गर्न खोजेका होइनौँ । म निर्वाचित भएर आइसकेपछि मात्रै एक सयजना बढीलाई आर्थिक सहयोग गरिसकेका छौँ । यो ठूलो विषय होइन, सामान्य कुरा हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २ गते सोमबार