फेरी ठगीको धन्दाः कम पेट्रोल दिएको भन्दै कोहलपुरको कानोडिया पेट्रोल पम्प ‘सिल’



बाँके ।

कोहलपुर चप्परगौडीमा रहेको कानोडिया अटोमोबाइल्सले उपभोक्तालाई परिमाणभन्दा कम पेट्रोल बिक्री गर्ने खुलेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जको अनुगमनको क्रममा उपभोक्तालाई परिणामभन्दा कम पेट्रोल दिएर ठगी गर्ने गरेको खुलेको हो ।

कानोडिया अटोमोबाइल्समा रहेका दुईवटै पेट्रोल हाल्ने मेसिनबाट निर्धारितभन्दा कम तेल बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने गरेको खुलेपछि दुवै मेसिनमा सिल गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका प्रमुख कमल ओझाले कम परिणाममा पेट्रोल बिक्री गरेको देखिएपछि मेसिनमा सिल गरिएको जानकारी दिए । ‘उपभोक्ताहरु कम तेल दिएको भनेर प्रहरी कहाँ पुग्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीले हामीलाई खबर गरेपछि टोली गएर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा कम पेट्रोल बिक्री गर्ने गरेको पाइयो ।’

मेसिन बिगारेर उपभोक्तालाई निर्धारित परिणामभन्दा कम पेट्रोल दिएर ठगी गरेकाले तत्कालका लागि दुवै मेसिनमा सिल गरिएको कार्यालय प्रमुख ओझाले बताए । सोमबार राति लालबहादुर तामाङले आफ्नो ५.२ लिटर क्षमता भएको स्कुटरको पूरै ट्यांकी भर्न खोज्दा ६.२७ लिटर पेट्रोल गएपछि प्रहरीलाई खबर गरेका थिए ।

उनकै खबरको आधारमा मंगलबार दिउँसोमात्र कोहलपुर प्रहरीले गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जलाई खबर गरेको थियो । कार्यालयको टोली आएर चेकजाँच गर्दा दुवै पेट्रोल हाल्ने मेसिनबाट निर्धारितभन्दा कम पेट्रोल बेचिरहेको पुष्टि भएको हो ।

‘मेसिन नै बिगारेर कम परिणाममा पेट्रोल बेचिरहेको भेटियो,’ चेकजाँच गर्न पुगेका एक कर्मचारीले भने, ‘तेलै नआएर डेढ लिटरसम्म मिटर घुम्छ । ठगी त कति हो कति भनिसाध्य छैन ।’ राजनीतिक र प्रशासनिक आडमा कानोडिया अटोमोबाइल्सले पहिलादेखि नै उपभोक्तालाई कम मात्रामा पेट्रोलियम पदार्थ बेचेर ठगी गर्दै आएको छ ।

केही वर्षअघि समेत कानोडिया अटोमोबाइल्सले मेसिनको सेन्सर तारमा थप सेन्सर तार र चिप्स लगाएर उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको थियो । सो बेला नेपाल गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जले मुद्दासमेत अदालतमा दायर गरेको थियो ।

मेसिन बिगारेर उपभोक्तालाई कम बेचिरहेको सार्वजनिक भएपछि कानोडिया अटोमोबाइल्सका सञ्चालक सञ्जय कानोडिया फरार भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको नेपाल गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार ३० गते बिहीबार